तिमी बिना तिमी हुनू,
नछोएरै हरदम छुनू
रूझाइरहनु नबर्सेर
ए बुकीफूल
तिमी जस्तै न्यानो,
तिमी जस्तै शीतल
ऊनको स्विटर
धेरैले यसमा एउटा गीत मात्रै होइन, भावनाको अनौठो सागर फेला पारे। जसमा अपार प्रेमले डुबुल्की मारिरहेको छ। हुन पनि प्रत्येक शब्दमा भेटिन्छन्, निश्चल मायाका छालहरू। जसले तरंगित गरिदिन्छ हृदय। अनि गीतसँगै बगिदिन्छ फिल्मको मूल कथा। जसले संगीतको मिठो धुनसँगै पस्किन्छ फिल्म ‘ऊनको स्विटर’।
त्यसैले त दर्शकहरूले गीतजस्तै मिठो कथा भन्दै फिल्मको प्रशंसा गरिरहेका छन्। हलमा प्रदर्शनरत फिल्म ‘ऊनको स्विटर’ले बक्सअफिसमा पनि राम्रो गरिरहेको छ।
‘ऊनको स्विटर’ मा चार गीत समावेश छन्। फूल, मखमली, चाइनेजो जिन्दगानी र फकाउँछ काफ्ले। दर्शकश्रोताले अत्याधिक रुचाएका यी चारै गीतले युट्युaमा करोडभन्दा बढी भ्युज पाइसकेका छन्। काफ्लेबाहेकका तीनवटा हिट लेख्ने गीतकार हुन्: हर्क साउद।
आफूले लेखेका तीनवटै सिर्जना हिट हुँदा कस्तो लाग्दोरहेछ?
जवाफमा साउद भन्छन्, ‘खुसी नै लागिरहेको छ। जति पनि दर्शकहरूले फिल्म हेर्नुभयो, उहाँहरूले फिल्म र गीतको टिप्पणी र समीक्षा राम्रै गर्नुभएको छ। तर, हामीले चानचुने मेहनत गरेका छैनौँ। सजिलै कुराहरू निस्केका होइनन्, निकै लामो संघर्षपछि गीत बनेका छन्। फिल्म पनि त्यही अनुसार बनेको छ।’
गीतकार हर्कलाई खुसीसँगै थप जिम्मेवारी पनि महसुस भएको छ।
भन्छन्,‘खुसीसँगै थप जिम्मेवारी पनि महसुस हुन्छ। ऊनको स्विटरसम्मको यात्रा एउटा रहन्छ। त्यसपछिको यात्रा अर्को रहन्छ। त्यसपछि के गर्ने भन्ने जिम्मेवारी थपिएको जस्तो लाग्छ।’
हर्कले आर्टमान्डुसँगको सहकार्यमा आफ्ना सिर्जनाहरू पस्किँदै आएका छन्। उनका शब्दमा प्रायजसो सुजन चापागाईंको स्वर र संगीत मिसिन्छन्। अनि नवीन चौहानको कन्सेप्ट र निर्देशकमा म्युजिकल फिल्म बन्छन्। आर्टमान्डुबाट बनेका म्युजिकल फिल्म तीनपाते, के माया लाग्छ र?, बाफ, लजाएर, सुनाखरी, फुलथुङ्गे रानी, एक्लै भएनि चर्चित छन्।
‘ऊनको स्विटर’ पनि तिनै नवीनकै लेखन, निर्देशनमा बनेको हो। नवीनकै कथा र कन्सेप्टमा फूल गीत सिर्जना गर्न थाले। फूल गीतको केही अंशसँगै ‘ऊनको स्विटर’ को टाइटल घोषणा गरिएको थियो। जसमा थियो: तिमीबिना तिमी हुनु भन्ने हरफ। यस सानो हरफले दर्शकहरूको मन हल्लाइदियो।

खासमा हर्कले तिमीबिना तिमी हुनुलाई गीतको स्थायी अन्तरा सोचेर बनाएका थिए। तर, फिल्मको कथाअनुसारको गीत बनाउँदा ठ्याक्कै उल्टो प्रक्रिया लागू भयो। अगाडि स्थायी अन्तरा थपिए। जुन स्थायी अन्तरा सोचिएको थियो, त्यो अन्तिम अन्तरा बन्यो। अनि उनले सुरुमा थपे:
फूलहरू मुस्काउँछन्, तिमीले देख्छौ र?
पुतलीले गीत गाउँछन्, तिमीले सुन्छौ र?
लेकैमा कुहिरो पर्खिरहेछ सिमसिम पानी
सिमसिम हिउँपानी बर्सिरहेछ
‘सुरुमा एउटा स्थायी अन्तरा हुन्छ। मैले सुरुवात भनेर पछाडिको लाइनहरू तयार गरिरहेको थिएँ। तर, फिल्मको कथाको यसमा अगाडि जोड्नुपर्ने भयो। त्यसपछि स्थायी अन्तरा अन्तिम पार्टमा आउँछ। फिल्ममा पनि त्यो लाइन फूलले छोडेर गएपछि ऊनको स्विटर खोलेर हेर्दा कनेक्ट हुन्छ,’ हर्कले भने।
यस गीतमा दर्शकले कथासहित आफूलाई पनि भेटे। माया गरेको मान्छे भौतिक रूपमा टाढा हुँदा गरिने प्रेम महसुस गरे। अनि उसको अनुपस्थितिमा आउने भावनासँग जोडिए। दर्शकहरूले गीतलाई मन पराउनुमा आफूभन्दा पनि सिंगो टिमको मेहनतलाई जस दिन्छन् उनी।
‘मैले त लेख्ने मात्रै हो। गायक तथा संगीतकार सुजन चापागाईंले प्राण भर्ने काम गर्नुभएको छ। उहाँको ठूलो मेहनत छ। उहाँको स्वर र संगीतमा मेहनत नभएको भए सायद ती शब्दहरू मात्रै काफी हुँदैनथे। जहिले पनि हामीले काम गर्दा प्याकेज नै हुन्छ। स्वर र संगीत। म्युजिकल एरेन्जमेन्ट। सबै कुराको एउटा सम्मिश्रण उनको स्विटरको गीतहरूमा भेटिन्छ।’
केही वर्षअघि तीनेपातेको सुटिङको लागि हर्क इलाम पुगेका थिए। बाटोमा हिँड्दा उनको दिमागमा चाइनेजो जिन्दगानीमा लाइन फुरेको थियो। डाँडामा बस्दा उक्त लाइन सुजन र विद्यालाई सुनाए। गीतारमा बजाउँदै रमाइलो पनि गरे। त्यसपछि नवीनलाई सुनाए। नवीनले सुनेपछि चाइनेजो जिन्दगानीमा शीर्षकमै फिल्म बनाउने सल्लाह पनि भयो।
‘चाहिनेजो जिन्दगानीबाट बुनिँदै बुनिँदै आयो। त्यहाँ प्रेम मात्रै छैन। धेरै कुराहरू छन्। सामाजिक अस्तित्व र बसाइँसराइका कुराहरू आउँछन्। त्यसपछि भूगोलका कथाहरू समेटियो। यस कथाको विकास चाहिँ फरक ढङ्गले हुँदै आयो। त्यसपछि शीर्षक परिवर्तन गरियो,’ उनी सुनाउँछन्।
मखमली गीतको सन्दर्भ पनि रोचक छ। बागबजारमा काम सकेर उनी डेरा फर्किँदै थिए। ल्होसारको बेला थियो। त्यहाँ बाटोमा मखमली चोली र घलेकी लगाएका महिलाहरू देखे। उनीहरूलाई देखेर एक लाइन फुरेको थियो। फिल्मको कथाअनुसार चाहिने भएपछि उनले कौडा र त्यही संस्कृतिलाई समेट्दै गीत तयार पारे।

कालीप्रसादका बाँस्कोटाबाट आएको त्यो अवसर
डोटीमा जन्मे र हुर्केका हर्कलाई सानैबाट कलामा रुचि थियो। जसकारण उनी स्कुल पढ्दा नै नाटक खेल्नेदेखि नृत्य समेत गर्थे। उनले खेलेको पात्रको भूमिकालाई गाउँलेहरूले निकै मन पराउँथे। जसले उनलाई निकै खुसी मिल्थ्यो। वडास्तरीय नृत्य प्रतियोगितमा पनि स्कुलको प्रतिनिधित्व हुँदा प्रथम हुन्थे। लेखन चाहिँ थालेका थिएनन्।
२०५५ सालमा उनी डोटीबाट काठमाडौं आए। क्याम्पस पढ्ने र लोकसेवामा नाम निकाल्ने सपनासहित। पढ्दा केही रेस्टुरेन्टमा काम गरे। भाँडा माझ्ने, सहयोगी हुँदै कुकको काम सिके।
कुक तालिम लिएपछि उनी रेस्टुरेन्ट व्यवसायतिर भिज्न थाले। जसकारण साथीसँग मिलेर रेस्टुरेन्ट पनि खोले। लोकसेवामा नाम निकाल्ने उनको सपना बाँकी नै थियो। कहिले लोकसेवा त नेपाली सेना र नेपाल प्रहरीमा कोसिस गरे। तर, कतै पनि नाम निकाल्न सकेनन्।
अन्त्यमा उनले सरकारी जागिर खाने रहर त्यागे। एउटा रहर छुटे पनि त्यही रेस्टुरेन्टबाट सुरु भयो उनको संगीतको रहर। बागबजारमा संगीत स्टुडियो भएका कालीप्रसाद बाँस्कोटा हर्कको रेस्टुरेन्ट आउँथे। कालीसँगको उनको सामीप्य बढ्दै गयो। कालीले गीत लेख्न अफर गरेपछि लेखनमा आएको सम्झन्छन् साउद।
‘पेसागत रूपमा म रेस्टुरेन्ट व्यवसायी हुँ। त्यही क्रममा गीतसंगीतका हस्तीसँग सामीप्य बढ्दै गएपछि गीतसंगीततिरको झुकाव बढ्दै गयो। कालीप्रसादजी बागबजार हाम्रो क्याफेमा आइरहनुहुन्थ्यो। त्यही क्रममा उहाँसँग चिनजान भयो। उहाँका गीतहरू सुन्नेदेखि संगीतसम्बन्धी जानेका कुराहरू सेयर गर्थे। उहाँले केही कुरा देख्नुभयो होला। त्यसपछि उहाँले गीत लेख्न अफर गर्नुभयो,’ हर्क सुनाउँछन्।
कालीप्रसादको आग्रहमा लेखेको गीत थियो: सुन साइँली। कालीसँगको यस गीतको लागि एउटा ड्राफ्ट बनाएका थिए। जुन वैदेशिक रोजगारसँग सम्बन्धित थियो। वैदेशिक रोजगार भन्नेबित्तिकै हर्कले गाउँ सम्झे। विदेश जाँदा गाउँलाई सम्झिने कुराहरू लेखे। आधा घण्टामा गीत तयार भयो। हेमन्त रानाको स्वर रहेको यस गीतले निकै चर्चा पाए। त्यसपछि हर्कलाई कहिल्यै पछाडि फर्किएर हेर्नुपरेन। उनलाई अफर आउन थालेपछि लेखनको लत नै लाग्यो।
यसरी अचानक लेखनमा होमिएका हर्क कालीप्रसादलाई गडफादर नै मान्छन्।
‘जहिल्यै पनि जिन्दगीमा यात्राको क्रममा कहाँ के हुन्छ थाहा हुँदैन। त्यो पनि त्यही संजोग थियो। उहाँलाई यसमा मेरो गडफादरको रूपमा लिन्छु। उहाँले गर्दा नै यो सम्भव भएको हो। सायद उहाँले त्यो नगरेको भए यो क्षेत्रमा म आउँदिनँ थिएँ होला,’ उनी सुनाउँछन्।

सुदूरपश्चिमका हर्कका गीतमा पूर्वेली स्वाद
सुदूरपश्चिमका भएपनि हर्कका सिर्जना गरेका गीतहरूमा पूर्वको स्वाद पाइन्छ। सुदूरपश्चिमको भएर उनी पूर्वको माटोको स्वादका गीत कसरी लेख्छन् त?
‘भेगीयभन्दा पनि ती गीतहरू समग्र नेपालकै हुन्। हामीले गरेका अधिकांश गीतहरू पूर्वमै छायांकन भएका छन्। त्यहाँकै कथाअनुसार बुनिएका हुनाले पूर्वको लागेको हुनसक्छ। तर, हामीले विशुद्ध नेपाली गीतसंगीतको काम गरेका छौं। सुदूरपश्चिमको डेउडामा पनि काम गरिएको हो। धेरै गरिएको छैन,’ हर्क भन्छन्।
स्वयंसेवकको रूपमा काम गर्न इलाम पुगेका थिए हर्क। जहाँ उनले एकडेढ महिना बिताए। त्यहाँ बस्दा उनले खोला नाला, डाँडाकाँडा सबै पैदल घुमे। छुट्टी हुँदा माइखोलामा माछा मार्न जान्थे। त्यहाँको जनजीवनसँग नजिक हुनुका साथै मान्छेसँग घुलमिल हुन्थे। यसबाट त्यो क्षेत्रसँग परिचित हुन सजिलो भएको उनको भनाइ छ। त्यसकै प्रभावले तीनपाते सिर्जना भएको उनी स्वीकार्छन्।
हर्कले तीनपातेअघि नवीनसँग बटौली गीतमा सहकार्य गरेका थिए। जुन गीत सफल भएपछि आर्टमान्डुसँगको उनको सहकार्य निरन्तर जमिरहेको छ। धेरैले अडिओ तयार पारेर भिडिओ बनाउँछन्। तर, आर्टमान्डुको प्रक्रिया फरक छ। नवीनले सुरुमा कथालाई बुन्दै भिडिओ बनाउँछन्। र, भिडिओ बनिसकेपछि कथासँग मिल्दो अडियो बनाउन लगाउँछन्।
बनिसकेको भिडिओमा काम गर्न गाह्रोसँगै रमाइलो पनि लाग्छ उनलाई।
भन्छन्, ‘दृश्य हेरेर जुन इमोसन हामी पाउँछौँ, त्यो अडिओ मात्रै बनाउँदा कमै हुन्छ। हुन त आ-आफ्नो बानी हुन्छ। आर्टमान्डुमा पनि हामीले भिडिओ हेरेर नै काम बढी गरेका छौं। बनिसकेकोबाट निकाल्दा गाह्रो त हुन्छ। त्यो पात्रहरूको दृश्यमा रहेको इमोसन र भोगाइलाई आफूमा फिल गरेर लेख्छु। बनिसकेको भिजुअलमा काम गर्नु चुनौतीपूर्णसँगै रमाइलो नि हुन्छ।’
हर्कले सिर्जना गरेका अधिकांश गीतहरू हिट छन्। आखिर हिट बनाउने सूत्र के रहेछ?
‘त्यस्तो सूत्र त केही छैन। दर्शकश्रोता र सरस्वती माताको आशीर्वाद नै हो जस्तो लाग्छ। दर्शकको मनसम्म पुग्ने सिर्जना ल्याउनलाई पहिले आफू आफ्नै मनसम्म पुग्नुपर्छ। आफूले आफ्नै मनसँग प्रेम गर्न सक्नुपर्यो। त्यो मार्फत त्यो पात्र बन्नुसक्नुपर्यो,’ उनले नेपालखबरसँगको कुराकानीमा भने।
लेखनका आ-आफ्नै प्रक्रिया हुन्छन्। हर्कले पनि आफ्नो गीत लेख्दाको प्रक्रिया सुनाए, ‘सबभन्दा पहिले म कथा सुन्छु वा हेर्छु। भनेको कुराहरूलाई मनन गर्दै यो गीतको लागि यी शब्दहरू चाहिन्छन् भनेर शब्द कलेक्सन गर्छु। एकान्त चाहिँ हुनुपर्छ। कहिलेकाहीँ बाहिर गएर काम गरिन्छ। कहिलेकाहीँ भिडभाडमा मनमनै काम गरिरहेको हुन्छु। धेरै पीडामा हुँदा सिर्जनाका काम गाह्रै हुन्छ।’

गीत हिट भएसकेपछि गायकगायिकालाई स्टेज प्रोगाममा जान भ्याइनभ्याइ हुन्छ। जसले आर्थिक हिसाबले पनि केही सहज हुन्छ। लेखकलाई भने अझै राम्रो माहोल बनिनसकेको उनी सुनाउँछन्।
‘हामी सर्जकहरूलाई राम्रो गर्ने माहोल अझै बनिसकेको छैन। अहिले पनि विशेषगरी गीत लेखनको क्षेत्रमा राम्रो पारिश्रमिक दिने चलन कमै छ। त्यो बढ्दै जाँदा थप स्रोतहरू संकलन गर्ने, पढ्ने तथा खोजतलास गरिन्छ। हाम्रो नेपालमा कयौँ ठाउँ जान बाँकी छ। त्यहाँका लोकसंस्कृतिका बारेमा बुझ्नै बाँकी छ। सबै कुरा गर्नका लागि आर्थिक रूपमा समृद्ध हुनुपर्छ। त्यसको लागि अझै हामीलाई हेरिदिने परिपाटी हुँदा अझ राम्रो काम हुन सक्थ्यो,’ उनी भन्छन्।
पछिल्लो समय गीतसंगीतको क्षेत्रमा केही विकृति देखिन्छन्। यसतर्फ सर्जकले स्वयम ध्यान दिनुपर्ने उनको भनाइ छ।
‘बाह्रै महिना फरक मौसम हुन्छ। हरेक ठाउँमा त्यही कुरा लागू हुन्छ। लेख्ने सर्जक अथवा गायक, संगीतकार र निर्माणकर्ता। हाम्रो नेपाली गीतसंगीतको क्षेत्रमा योगदान कस्तो रहन्छ? पछिसम्मको पुस्ताका लागि कस्तो कर्म हस्तान्तरण गर्दै छौं? त्योकुरामा बढी ध्यान दिनुपर्छजस्तो लाग्छ। जसले जस्तो गरिरहनुभएको छ। उहाँहरूको ठाउँमा ठिक छ। हामीले पछिल्लो पुस्तालाई के दिँदैछौं भन्ने कुरा मनन गर्नुपर्छ जस्तो लाग्छ,’ उनी भन्छन्।
दर्शकश्रोताले पनि नकरात्मक कुरामा सेन्सर गर्नुपर्ने उनको तर्क छ।
‘नराम्रो भनेको गीतहरू नै हरेक मेला र पार्टीमा बजिरहेका हुन्छन्। तिनैमा नृत्य गरिरहेका हुन्छन्। तर, फेरि त्यही गीतको आलोचना गरिरहेका हुन्छन्। त्यो त राम्रो कुरा होइन नि त। कि आलोचना गर्न भएन। कि हेर्न भएन। सबै कुरा हेरिदिने, मन पराइदिने। सर्जकलाई त्यही कुरामा बढी प्रोत्साहन मिल्छ नि त। यति भ्युज आएको छ किन अर्को नगर्ने भन्ने हुन्छ,’ उनी भन्छन्।
फिल्म ‘ऊनको स्विटर’ मा कथा र परिवेश अनुसार गीत राखिएका छन्। जसकारण ती गीतहरू दर्शकहरूले मन पराएको उनलाई लाग्छ। तर, नेपाली सिनेक्षेत्रमा भने चल्ने गीतहरू राख्ने परिपाटी रहेको उनलाई लाग्छ।
भन्छन्, ‘ऊनको स्विटरमा जहाँ जे चाहिएको छ, त्यही गीत राखेका छौं। त्यही भएर दर्शकहरूले सबै गीत मन पराइदिनुभएको छ। खास हुनुपर्ने त्यो हो। तर, अहिले चाहिँ ठूलाठूला फिल्म बनाउने ब्यानरले अझै पनि गीतसंगीत पिक गर्ने चलन छ। आफ्नो कथामा के चाहिएको छ। त्यो हेर्दैनन्। के चल्छ भनेर हेरिन्छ। त्यो गलत परिपाटी हो। एउटा गीतले फिल्मलाई बोकेर हिँडिरहेको हुन्छ। फिल्म सुपरफ्लप हुनसक्छ। गीत चाहिँ हिट भएर फिल्मको लगानी नै उठाइदिन सक्छ।’

प्रतिक्रिया