कला


संगीतमा यश कुमारको २५ वर्ष: आमासँगको अन्तिम रात सम्झिँदा आज पनि निद्रा लाग्दैन (भिडिओ)


अनिल यादव
असार ६ , काठमाडौँ

यश कुमार पीडा, उत्पीडन र आँशुका गायक हुन्। चाहे ‘मैले छोएको पानी चल्दैन’, ‘म आफ्नै इनार बनाउँछु’ होस् या ‘तिम्रो मन बदलिएछ’, ‘म कहिले हाँसेको थिएँ’ जस्ता गीत नै किन नहुन्, उनका शब्दहरुले लाखौँको मन छोएको छ, अनि संगीतले  समाजका गहिरा घाउहरूसँग संवाद गर्ने प्रयत्न गरेको छ। 

यश कुमार संगीत क्षेत्रमा अनवरत लागेको २५ वर्ष भएछ। सन् २००० मा संगीत क्षेत्रमा औपचारिक प्रवेश गरेका उनी यो वर्ष आफ्नो करिअरको ‘सिल्भर जुब्ली’ मनाइरहेका छन्। 

‘हेर्दाहेर्दै २५ वर्ष भइसकेछ,’ नेपालखबर सो ‘लेट्स टक’मा आइपुगेका उनी भन्छन्, ‘तर यो प्रत्येक वर्ष मेरो लागि एउटा पाठ बन्यो। सुरुवाती दिनहरू हिजोका कथाजस्तै लाग्छन्। कसैको सहारामा बाँच्नुपर्ने, आफूलाई कमजोर ठान्ने दिनहरू थिए। तर आज म भन्न सक्छु– म तयार छु, अघि हिँड्ने बाटो देखेको छु।’

जुन चिज पाउन हामी हतार गर्छौं, त्यही चिज पाउन आफूलाई २५ वर्ष लागेको बताउँछन् उनी। उनका लागि यी २५ वर्ष कुनै उपाधि या पुरस्कार होइन, बस् एउटा यात्रा हो– जहाँ भोगाइहरू थिएटर बने, उनी स्वयं मुख्य पात्र।

यसबीचमा चरम हिटदेखि फ्लपसम्म हुँदाको स्वाद चाखेका यशका लागि सफलता भनेको एउटा सामान्य अनुभूति मात्रै हो।  

‘सफलता कुनै गन्तव्य होइन, अनुभूति मात्रै हो,’ उनले भने, ‘एउटा मान्छे सगरमाथा चढेपछि पनि त्यहाँ सधैँ त बस्दैन नि। तल त फर्किनै पर्छ। यद्यपि, त्यो चढाइको अनुभव अमूल्य चाहिँ हुन्छ। संगीत पनि त्यस्तै चढाइ हो— जस्तोसुकै उचाइमा पुगे पनि फेरि आम जीवनमा फर्किनै पर्छ, फेरि नयाँ गीत, नयाँ कथा सिर्जना गर्नैैपर्छ।’

जतिबेला ‘मैले छोएको पानी चल्दैन’ गीत मिडियाबाट प्रतिबन्धित भयो, त्यतिबेला यश कुमारलाई लागेको थियो– अब लेख्नै छोड्दिम्, गाउनै छोड्दिम्, अब पुग्यो। 

‘तर फेरि मैले आफूलाई सम्हालेँ, संगीतभित्रै फर्किएँ, शब्दमार्फत फेरि बोल्न थालेँ,’ यश भन्छन्। 

यशका प्रायः गीतमा पीडाको सौन्दर्य देखिन्छ। त्यसैले हामीले उनलाई सोध्यौँ– ‘के तपाईंका व्यक्तिगत पीडाहरू नै सिर्जनाको प्रेरणा हुन्?’

जवाफमा उनले स्वीकार्दै भने, ‘हो। होइन भनेँ भने मैले झुटो बोलेको दर्शकले थाहा पाइहाल्छन्। मेरो गीतभित्रको पीडा मेरो व्यक्तिगत जीवनको साँचो प्रतिबिम्ब हो।’

उनलाई थाहा छ, उनका गीतमा धेरैजसो प्रेम अधुरै रहन्छन्, आँखाहरु रसाइरहन्छन्, शब्दहरु चिच्याइरहन्छन्– तर आफ्नै शैलीमा। यशलाई लाग्छ, यो यश कुमारकै शैली हो। 

‘अहिले बगिरहेको नदीको पानी पनि त्यत्तिकै जमिनबाट आएको होइन, त्यसको शिरमा हिमाल छ। त्यस्तै मेरो संगीत र सिर्जनाको पनि एउटा स्रोत त हुनु प¥यो नै। ती मेरो व्यक्तिगत भोगाइ र अनुभूतिहरु नै हुन्,’ उनले भने।

हामीले यशलाई सोध्यौँ– ‘तपाईंको जीवनको त्यो एउटा रात, जुन सम्झिँदा तपाईंलाई आज पनि निन्द्रा लाग्दैन?’

जवाफमा उनले आमासँगको अन्तिम रातले आज पनि झस्काइरहने बताए। 

‘त्यतिबेला म अस्पतालमा थिएँ, डाक्टरले मलाई भनेका थिए– आमासँग, अहिले कुरा गर्नुहोस्, उहाँ अब बोल्न सक्नुहुन्न,’ यशले आमाको टोलाएको आँखाबाट मृत्यु नजिकिँदै गरेको पहिलोपल्ट महसुस गरे। उनले थपे, ‘पहिलोपल्ट थाहा पाएँ, बित्दै गरेको मान्छेको आँखा झिमझिम हुँदैन रहेछ। आमाको टोलाइरहेको आँखा अब सदाका लागि बन्द हुँदैछ भन्ने त्यतिबेलै नजिकबाट महसुस गरेँ।’

यश कुमारका लागि यो २५ वर्षे संगीतको यात्रा अन्त्य होइन, करिअरको अर्को मोड मात्रै हो। उनलाई लाग्छ, शून्यबाट सुरु भएर शून्यसम्म जानु नै जीवन हो। 

‘मलाई कहीँ पुग्नु छैन, बस् मेरा गीतहरु मान्छेले सुनिरहून् र त्यसले कहीँ न कहीँ छोइरहून्, यति भए पुग्छ,’ उनले भने। 

हेर्नुहोस्, यश कुमारसँगको ‘लेट्स टक’ जहाँ उनले आफ्नो जीवन र सांगीतिक करिअरका अनेक पाटो उप्काएका छन् :

असार ६, २०८२ शुक्रबार १९:२७

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad