काठमाडौँ महानगरपालिका शिक्षा विभाग र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा शिक्षामा सिप कार्यक्रमअन्तर्गतको ‘स्केचिङ एन्ड स्कप्चर’ मोड्युलको तालिम कार्यक्रममा विद्यार्थीहरूबाट सिर्जित कलाकृतिको प्रदर्शनी सकिएको छ। महानगरअन्तर्गतका ४६ विद्यालयका ४६ समूहमा असार १३ गतेबाट सुरु भएको प्रदर्शनी आज सम्पन्न भएको हो।
प्रदर्शनीको समापन समारोहमा प्रमुख अतिथिको रुपमा काठमाडौँ महानगरपालिका उपप्रमुख सुनिता डङ्गोल रहेकी थिइन्। ‘पेन्टिङ, स्केच, स्कल्पचर, क्राफ्टका ट्रेनिङहरू भइरहेका सन्दर्भमा तपाईँहरूले त्यो राम्ररी सिक्नुभएको छ भन्ने लागेको छ। अघिल्लो वर्षभन्दा यस वर्ष धेरै इम्प्रुभमेन्ट भएको मैले पाएँ। सिक्नेक्रम तीव्र रूपमा अघि बढिरहोस्,’उनले भनिन्।
प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले शिक्षालाई सिपसँग जोडेर सिर्जनात्मक अभिव्यक्तशील कलाको तहगत अनुभूति गराउन सहयोग गर्ने बताए। प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले शिक्षामा सिप कार्यक्रमअन्तर्गतको ‘स्केचिङ एन्ड स्कप्चर’ मोड्युलको तालिम/कार्यक्रमले देशको आगामी कला संस्कृतिको जग निर्माण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने सुनाए। उनले सिर्जनशील व्यक्तित्व निर्माण गर्न कलाको ठूलो योगदान रहने जिकिर गरे।
कार्यक्रम संयोजक तथा प्रतिष्ठानका बहुआयामिक तथा अन्य सिर्जनात्मक कला विभाग प्रमुख सौरगंगा दर्शनधारीले कार्यक्रममा महानगरका ४६ विद्यालयका १३०० भन्दा बढी विद्यार्थी सहभागी भएको र यो निकै उत्साहजनक रहेको धारणा राखे। उनले कला समाजको प्रतिविम्ब भएको र यसले सिकाइका क्रममा थेरापीको पनि काम गर्ने बताए।
समारोहमा प्रशिक्षक तथा सहायक प्रशिक्षक, प्रत्येक विद्यालयका उत्कृष्ट विद्यार्थीलगायतलाई सम्मान पनि गरिएको थियो। प्रदर्शनीमा विद्यार्थीहरु सिर्जना गरेका कलाकृतिहरू राखिएको थियो।
Shares

प्रतिक्रिया