तीज पर्वलाई लक्ष्य गरी ल्याइएका दुई गीतप्रति राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले आपत्ति जनाउँदै यिनको प्रकाशन तथा प्रसारण नगर्न सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ।
राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले बिहीबार विज्ञप्ति जारी गरी धुर्ब पुन र चन्द्र कुमारी शाहीको स्वरमा रहेको ‘गाई कालो’ र राजकुमार वली, अस्मिता थापा र लक्ष्मी थापाको स्वरमा रहेको ‘सल्ला दमारमा’ गीतले विकृति र अश्लीलता फैलाएको आरोप लगाउँदै यसमा प्रतिबन्ध लगाउन माग गरेको हो।
‘तीज पर्वको नाममा उत्पादन हुने कुनै पनि विकृति, अश्लीलता, अपशब्द र सामाजिक मर्यादाविपरीत सामग्री समावेश गरेका गीतहरूलाई पत्रपत्रिका, रेडियो, टेलिभिजन, युट्युब तथा सामाजिक सञ्जाललगायत कुनै पनि माध्यमबाट प्रकाशन तथा प्रसारण नगर्न र नगराउन सबै सरोकारवाला निकायहरूलाई अनुरोध गर्दछ', विज्ञप्तिमा भनिएको छ, 'यस्ता आपत्तिजनक गीत तथा भिडियो निर्माण तथा प्रकाशन गर्नेहरूलाई आवश्यक कारबाही गर्न सूचना तथा सञ्चार मन्त्रालय, नेपाल प्रहरी साइबर ब्युरो, कलाकार संगठनलगायत सम्बन्धित निकायहरूमा औपचारिक अनुरोध गर्ने प्रतिबद्धता व्यक्त गर्दछ।’
यस क्रममा राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले सांस्कृतिक विरासत जोगाउन मौलिक, सन्देशमूलक, लोक परम्परा झल्काउने गीतहरूको संरक्षण, प्रचार प्रसार र प्रोत्साहन गर्न सबै सञ्चारकर्मी, सर्जक, गायक, संगीतकर्मी तथा आम नागरिकलाई आह्वान पनि गरेको छ।
तीज पर्वमा विकृति र अश्लीलता फैलाउने गीतहरूप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै पवित्र नेपाली पर्वमध्ये एक प्रमुख सांस्कृतिक पर्व तीज नजिकिँदै गर्दा केही वर्षदेखि यस पर्वका नाममा बजारमा आइरहेका गीत-संगीतमा परिलक्षित विकृति, भड्किलोपन, सांस्कृतिक अपमान तथा अश्लील सामग्रीले राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले गम्भीर चिन्ता प्रकट गरेको छ।
हेर्नुहोस् विज्ञप्ति:

Shares

प्रतिक्रिया