कला


गीतसंगीतको विकृति रोक्न 'फोकल पर्सन' तोक्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन

गीतसंगीतको विकृति रोक्न 'फोकल पर्सन' तोक्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन

नेपालखबर
असार २६, २०८२ बिहिबार १६:५९, काठमाडौँ

गृह मन्त्रालयले गीतसंगीत तथा कला क्षेत्रमा हुने साइबर अपराध र विकृति रोक्न प्रहरीको साइबर ब्युरोमा ‘फोकल पर्सन’ तोक्ने जनाएको छ।बिहीबार गीतसंगीत क्षेत्रको विकृति-विसंगतीबारे गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराउन पुगेको राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको टोलीसँगको कुराकानी पछि लेखकले प्रहरीलाई यसबारे अनुसन्धान गर्न फोकल पर्सन तोक्न भनेका हुन्।  

भेटघाटमा उपस्थित प्रहरी महानिरीक्षक दीपक थापा र साइबर ब्युरो प्रमुख डीआईजी नबीन्द अर्याललाई गृहमन्त्री लेखकले ब्युरोमा फोकल पर्सन तोकेर काम अघि बढाउन निर्देशन दिएका हुन्। 

गृहमन्त्री लेखकले सामाजिक संजाल र डिजिटल प्लाटफर्ममा हुने विकृति र त्यसको रोकथामको लागि निष्कर्षसहित अघि बढ्ने बताए।

यसबारेमा बोल्दै उनले भने, ‘हेट स्पिच अहिले संसारभरिको लागि ठूलो समस्या भएको छ। मान्छेहरूका बारेमा अत्यन्त कपोकल्पित र भाम्रक कुरा फैलाइदिन्छन्। उसको चरित्र हत्या भइसक्छ। दुइचारदिनपछि होइन भन्ने हुन्छ। तर, त्यो होइन भन्न कहाँ कहाँ जानु? किनकी नकरात्मक चिज चाडो फैलिन्छ।’

गीतसंगीतमा नराम्रो कुरा भेटिएमा ‘फोकल पर्सन’ जानकारी गराउन समेत उनले अनुरोध गरे।

‘संस्कृति, सम्पदा, समाज, भाषा सबैलाई उन्नत, सभ्य, मर्यादित र प्ररस्कृत बनाउनका लागि गीत बनाउनुहुन्छ। त्यसलाई प्रचारप्रसार गर्नुहुन्छ। त्यो कम जान्छन् होला। तर, उटपट्याङ् गीत ल्याउँदा भाइरल हुन्छ। जुन समस्या हो,’उनले भने, ‘गीतसंगीतको मार्फत समाजमा घृणा फैलाउने, व्यक्ति-व्यक्तिको बीचमा, भाषा-भाषीको बीचमा, एकअर्काप्रति अपहेलना गर्ने, अपमान गर्नेदेखि लान्छना लगाउने कार्य रोक्न निष्कर्ष निकालेर अघि बढ्छौँ। समाजमा घृणा फैलाउने भनेर त्यस्ता मान्छेलाई निरुत्साहित गर्नका लागि तपाईंहरूले जानकारी दिनुपर्छ। त्यसलाई साइबर क्राइमले हेर्छ।’

प्रहरी महानिरीक्षक थापाले यस्तो समस्या आए प्रहरीमा उजुरी दिन आग्रह गरे। प्रतिष्ठानकी अध्यक्ष रीता थापामगरसहित बद्री पंगेनी, शिव हमाल, पूर्णकला बीसी, पुष्कल शर्मा, सम्झना भण्डारी, कुलेन्द्र विश्वकर्मा, सुरेश अधिकारी, श्रीकृष्ण बम मल्ललगायत मन्त्रालय पुगेका थिए। लोकसंगीत क्षेत्रमा विकृति विसंगति देखिएको र यसको रोकथामको लागि राज्य गम्भीर हुनुपर्ने उनीहरूको भनाइ थियो।
 
आजै राष्ट्रिय लोकसंचारकर्मी नेपालले पनि गृहमन्त्री लेखकलाई ध्यानाकर्षण पत्र बुझाउँदै तीज पर्वमा अश्लिल र अमर्यादित गीत आएको र यसलाई रोक्न माग गरेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad