कला


दुर्गेश थापाले भिड नचाइरहँदा एकान्तमा सुस्तरी गुञ्जिरहेका एउटा गायक (भिडिओ)

‘इन्जिनियरिङ पढ्दैछु भनेर बाआमालाई ढाँटेर पाँच वर्ष रेस्टुरेन्टमा गीत गाएँ’

अनिल यादव
असार २७ , काठमाडौँ

संगीतको कोलाहलमय बजारमा दुर्गेश थापाहरू छन्, जसका गीतले भिडलाई नचाउँदैछ, उफार्दैछ, झुमाइरहेको छ। ती गीतका कारण मान्छेहरूलाई चिच्याईचिच्याई दुस्मनलाई दुत्कार्न सजिलो पनि भएको छ। यो समय नै त्यस्तो हो, जहाँ संगीतको सफलताको मापन चर्को आवाज र भाइरल ट्रेन्डले गर्छ।

तर, त्यो भिडभन्दा पर एउटा कुनोमा सुस्तरी गुन्जिरहेको छ, सुशान्त घिमिरेको ‘एक्लो मन’। एकान्त मौनतामा रमाइरहेका छन् उनी। भिडबाट अलग्गै आफ्नो पहिचान खोजिरहेका छन्। 

झ्याङ–झ्याङ झुङ–झुङको पेसामा भए पनि उनलाई लाग्छ– जीवनमा बेलाबेला आफूलाई खोज्न–खोतल्न एक्लोपन त चाहिन्छ। उनी सुसेल्छन् :

विरह नै जीवन भए कोरिदिन्थेँ कथा
सुनाउनु छ र कसलाई यहाँ, बुझिदिने को छ?

सुनसरी चतराका सुशान्त सानैमा घर छाडेर विराटनगरस्थित मामाघर पुगे। ३ कक्षा पढ्दादेखि नै मामाघर पुगेका उनी त्यतिबेला खुब ‘होमसिक’ हुन्थे। जबजब उनी घर जान पाउँथे, त्यो दिन खुसीले बेस्सरी भक्कानिन्थे। 

गत वर्ष पुसमा कुञ्ज नाटकघरमा विजय मल्लको एउटा नाटक मञ्चन भएको थियो– ‘कोही किन बर्बाद होस्’। नाटक हेर्नेहरूले पक्कै याद गरेको हुनुपर्छ, त्यहाँ बजेको ‘एक्लो मन’ नै अहिले सुशान्तले बजारमा ल्याएको गीत हो। 

‘रंगमञ्चमा यसो गीत हेर्दै जाँदा अनि आफैलाई खोज्दै जाँदा मलाई महसुस भयो– आफ्नै भावनाहरू नै गीतमा लुकेका रहेछन्। त्यसैले यो गीत बजारमा ल्याएँ,’ नेपालखबर सो लेट्स टकमा आइपुगेका सुशान्त भन्छन्। 

को हुन् सुशान्त घिमिरे?

सायद धेरैले यो नाम सुनेका छैनन्। तर, धेरैले सुनेका छन् उनका गीतहरू। नामभन्दा बढी हिट छ उनको स्वर। चाहे ती ‘अब जीन्दगी सरर मोटर गाडीमा’ होस् या ‘कुहु कुहु गर्दै मलाई सुनाउने चरी’, ‘बुझाऊ मलाई यो कस्तो गहिरो माया’ या ‘जुन नहेरी तिमीलाई हेरौँला’। सबैसबै गीत चर्चित छन्, करोड–करोडपटक युट्युबमा हेरिएका छन्। 

युट्युबमा सुशान्तका गीत सुन्दै त्यसमै डुबिजाने उनका प्रशंसकहरू त्यहीँमुनि कमेन्ट गर्छन्– ‘मोस्ट अन्डररेटेड सिंगर अफ नेपाल।’ तर, सुशान्तलाई यी सब कुराको मतलब छैन। आफ्नो समय आउनेमा ढुक्क हुँदै उनी भन्छन्, ‘यो सबै समयको खेल होला। सपना त ठूलै छ नि जीन्दगीमा। यो त भर्खर सुरुवात हो। म त खुसी नै छु।’

सुशान्तलाई जीन्दगीमा गीत लेख्छु, संगीत गर्छु अनि गायक बन्छु भन्ने कहिल्यै लागेको थिएन। उनी त इन्जिनियरिङ पढ्न हिँडेका थिए काठमाडौँ। तर बच्चैदेखिको मोहले संगीतमै तान्यो। गाउँमा आमाबालाई भ्रम थियो– राजधानीमा छोरो इन्जिनियरिङ पढिरहेको छ, चाँडै इन्जिनियर बन्दै छ। तर, यथार्थमा उनी इन्जिनियरिङको पढाइ बीचमै छाडेर रातिराति रेस्टुरेन्टमा ‘गिग’ गरिरहेका हुन्थे।  

राति रेस्टुरेन्टमा गीत गाएको घरमा भनौँ भने गाउँ–समाज–परिवारले कुरा काट्ला भन्ने डर! नभनाँै, हरेक सुशान्तलाई झुट बोल्नुको पीडाले पिरोलिरहन्थ्यो। रेस्टुरेन्टको हो–हल्लामा गीत गाइरहेका बेला कहिलेकाहीँ घरबाट आमाबाको फोन आउँथ्यो। सुशान्तमा  फोन उठाउन ट्वाइलेटमा पुग्थे। अनि भन्थे– ‘घरमै छु। अब सुत्न लागेको!’

सन् २०१७ मा इन्जिनियरिङको पढाइ छाडेको कुरा उनले पाँच वर्षसम्म घरमा भनेनन्। घरबाट प्रश्न आउँथ्यो– अझै सकिएन पढाइ? जवाफमा उनी भन्थे– ‘अहँ, छैन। ब्याक एक्जाम दिइरहेको छु।’

‘घर गएका बेला धेरैचोटि भन्ने प्रयास गरेँ तर सकिनँ,’ सुशान्त भन्छन्, ‘बल्लबल्ल जब हिम्मत आयो, त्यसपछि घरपरिवारबाट छुट्टै सपोर्ट आयो। आफूभित्रको जुन असुरक्षा थियो, त्यो हटेर एकाएक आत्मविश्वास जाग्यो। यस्तो लाग्यो, अब मलाई केही कुराको मतलब छैन। म संगीत मात्रै गर्छु। जसले जेसुकै भनोस्, जसले जेसुकै गरोस्, जति नै औँला ठड्याओस्, अब जिन्दगी सरर...।’ 

त्यही हिम्मतपछि जन्मियो यो एउटा गीत जुन उनको करिअरकै टर्निङ प्वइन्ट बन्यो :

अब जिन्दगी सरररर मोटर गाडीमा, 
देख्नेले देखी जान्छ, 
बुझ्नेले बुझी जान्छ, 
भेट्नेले भेटी जान्छ
अब जीन्दगी सरररर मोटर गाडीमा...

सुशान्तलाई मन छ, यही गीतको बोलमा एउटा ट्याटु खोप्न। 

‘मलाई ‘जीन्दगी सरर’ लेखेर ट्याटु खोप्न मन छ। किनभने मलाई यही गीतले संगीतमा लागिरहन ऊर्जा दिएको हो,’ उनले भने। 

नाइट क्लबमा गिग गर्दैगर्दा एक दिन मन्त्र गितारका सञ्चालक अनुप शर्माको नजरमा परे सुशान्त। 

‘जब मन्त्र गितारको दाइहरू भेटेर गीत गाउन थालेँ, त्यसपछि मलाई गायक बन्छु आत्मविश्वास झन् बढेर आयो। त्यसपछि मैले अनेक सपना बुन्न थालेँ,’ उनले भने। 

गहिराइमा पुगेर सुशान्तका गीतहरू सुन्दा लाग्छ, उनका गीतमा जिन्दगी छ, पीडा छ, एकान्तपन छ, वेदना छ, प्रेम छ र सायद दर्शन पनि। यस्तो गीत छ, जेन–जी पुस्ताले पनि सुनिरहेको छ र त्योभन्दा अघिल्लोले पनि। हामीले सोध्यौँ– ‘तर खुसी, हर्ष चाहिँ कम छ है?’

‘मेरा गीतहरू मेरै भावनाहरू हो, मेरै चिजहरू कोट्याएको हो मैले,’ सुशान्तसँग प्रष्ट जवाफ छ, ‘अनि कतिपयहरू मसँग मिल्दो त्यस्तै त्यस्तै भावनाहरूसँग बाँचिराख्नुभएको हुनेरहेछ। घरबाटै पनि ‘सेन्टी गीत धेरै भयो, अलि ह्याप्पी सङ बनाऊ न’  भन्नुहुन्छ। तर, मलाई मेरा गीतमा खुसी–हर्ष कम छ जस्तो लाग्दैन। तर, मेरो गीत डेलिभर गर्ने जुन पारा छ, त्यसले पनि धेरैलाई त्यस्तो महसुस भएको हुनसक्छ।’

हामीले सुशान्तलाई सोध्यौँ– ‘तपाईं लेख्नुहुन्छ आफैँलाई निको पार्न कि अरूसँग जोडिन?’

जवाफमा उनले भने, ‘पहिला चाहिँ आफैँलाई निको पार्न। तर, आफू निको हुने प्रयासमा मलम एउटै हुने अरु आत्माहरू पनि जोडिने रहेछन्।’

सुशान्त जीवनमा धेरै अपेक्षा राख्दैनन्, न गुनासो नै। 

‘अरुसँग भन्दा आफैसँग बढी अपेक्षा राख्छु,’ उनी भन्छन्, ‘कहिलेकाहीँ अपेक्षाले चित्त पनि दुखाउँछ। कहिलेकाहीँ केही कुरामा कसैसँग चित्त दुख्यो भने अर्को पालिदेखि चित्त नदुखाउने है यो चिजमा भन्या जस्तो लाग्छ।’

शब्द–संगीतमा आफ्नो भावना खोज्ने सुशान्तलाई हामीले सोध्यौँ– ‘के तपाईंले कहिल्यै प्रेम गुमाएर गीत पाउनुभएको छ?’

जवाफमा उनले भने, ‘प्रेम गुमाएरै त भन्न मिल्दैन तर त्यसले सिकायो भनौँ। आफ्नै भावनालाई र आफैँलाई दुःख दिएर नै किन नहोस्, कम्तीमा यसले मलाई संगीत बनाउन मद्दत पुर्‍यायो।’  

त्यसैले होला, सुशान्तले मनको बह पनि यसरी पोखेका छन् :

वर्षौं धेरै दिन बिते, अनि धेरै रात
हराएँ नि बाटा, छँदैछौ तिमी मेरै साथ
झुलेँ सिरानीमा, मीठा मीठा सपनामाझ
भोलिको के भर, हराऊ उडी जाऊ न आज।

सुशान्त र उनका गीतहरूलाई बुझ्न हेर्नुहोस् ‘लेट्स टक’ :

फोटो/भिडिओः सरोज नेपाल

असार २७, २०८२ शुक्रबार २१:१३

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad