कला


‘अपाच्य गीत’ विरूद्ध साइबर ब्युरो पुग्यो लोक तथा दोहोरीगीत प्रतिष्ठान

‘अपाच्य गीत’ विरूद्ध साइबर ब्युरो पुग्यो लोक तथा दोहोरीगीत प्रतिष्ठान

नेपालखबर
असार २९, २०८२ आइतबार १६:३७, काठमाडौँ

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको टिम ‘अपाच्य गीत’ का विरूद्ध नेपाल प्रहरीको साइबर ब्युरो पुगेको छ। आइतबार दिउँसो साइबर ब्युरो पुगेर प्रतिष्ठानले पछिल्लो समय सार्वजनिक पाँच वटा गीतविरूद्ध कारबाहीको मागसहित निवेदन दिएको हो। 

पर्व विशेष गीत वा अन्य लोकगीतका नाममा सामाजिक मर्यादा, सहिष्णुता एवं मूल्य मान्यतालाई समेत खलल पुर्‍याउने प्रकृतिका गीतविरूद्ध निवेदन दिइएको दोहोरीगीत प्रतिष्ठानकी अध्यक्ष रिता थापा मगरले जानकारी दिइन्। 

उनीसहित रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारी, प्रतिष्ठानका महासचिव शिव हमाल, सचिव पुष्कल शर्मासहितका कलाकार साइबर ब्युरो पुगेका थिए। 

कारबाहीको मागसहित निवेदन दिएका गीतहरू पनि सबै पछिल्लो समय तीज गीतका नाममा सार्वजनिक भएका गीत रहेको प्रतिष्ठानले जनाएको छ।

गत बिहीबार प्रतिष्ठानको टिमले गीत संगीतमा देखिएको विकृतिबारे गृह मन्त्रालय पुगेर गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराउँदै त्यस्ता गीतलाई प्रतिबन्ध लगाउनआग्रह गरेको थियो। 

त्यस क्रममा गृहमन्त्री लेखकले अपाच्य गीतमा सरकारले कडाइ गर्ने जनाएका थिए। गीतसंगीत र कला क्षेत्रमा हुने साइबर अपराध र विकृति हेर्न प्रहरीको साइबर ब्युरोमा छुट्टै फोकल पर्सन तोक्न समेत निर्देशन दिएका थिए। 

उनले गीतमा अश्लिलता, अपमानजनक व्यवहार, घृषा फैलाउने अभिव्यक्तिहरू भए त्यसमा साइबर ब्युरोले एक्सन लिने प्रतिबद्धता जनाएका थिए। त्यस्ता गीतबारे साइबर ब्युरोमा जानकारी गराउन उनले आग्रह गरेपछि दोहोरीगीत प्रतिष्ठान त्यस्ता गीतको नाम र ल्याउने कलाकारहरूको विवरणसहित कारबाहीका लागि निवेदन बोकेर साइबर ब्युरो पुगेको हो। 

सोहीबेला राष्ट्रिय लोक संचारकर्मीको टिमले पनि गृहमन्त्रीको ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad