कला


आउँदो शुक्रबार र शनिबार पलेँटीमा गुञ्जिँदै संगीतकार न्ह्यू बज्राचार्य

आउँदो शुक्रबार र शनिबार पलेँटीमा गुञ्जिँदै संगीतकार न्ह्यू बज्राचार्य

नेपालखबर
साउन ५, २०८२ सोमबार १३:३२, काठमाडौँ

सांगीतिक कार्यक्रम पलेंटीमा यसपटक चर्चित संगीतकार न्ह्यू बज्राचार्य प्रस्तुत हुने भएका छन्।

अंग्रेजी महिनाको अन्तिम शुक्रबार नेपालयको आर शालामा आयोजना हुँदै आएको कार्यक्रममा न्ह्यू पहिलोपटक गुञ्जिन लागेका हुन्।

यसपालि शुक्रबार र शनिबार हुने कार्यक्रममा न्ह्यूलाई बानिका प्रधान गायनमा साथ दिनेछिन्। यसपालीको कार्यक्रमलाई कवि तथा गीतकार विप्लव प्रतीकले सञ्चालन गर्ने पलेँटी संयोजन गर्दै आएका संगीतकार आभासले जानकारी दिए।

पलेँटी आजभन्दा २० वर्षपहिले सुरु भएको सांगीतिक कार्यक्रम हो। यसका निम्ति संगीतकार न्ह्यू बज्राचार्य र बानिका प्रधान पलेँटी टिमसँग अभ्यासमा लागिरहेका छन्।

न्ह्यू बज्राचार्य नेपाली सांगीतिक जगतका श्रोता-दर्शकबीच स्थापित नाम हो। उनले धुन भरेका फूलको आँखामा, नआऊ सपनाभरि, अरबौं मान्छेहरुमा, लैजा चरी, सयथरि बाजा लगायतका गीत चर्चित छन्।

अग्रज स्वर-शिल्पी अरुणा लामाले गाएको ‘यो मन त तलाउ हो’ लाई पनि बज्राचार्यले धुन भरेका हुन्। 

पहिलोपल्ट पलेँटीमा सहभागी हुन लागेका संगीतकार बज्राचार्यले खुसी व्यक्त गर्दै भने, ‘नेपाली आधुनिक संगीतलाई अहिलेका श्रोताहरूसँग जोड्ने सेतुको रूपमा पाउँछु म पलेँटीलाई। यस मञ्चमा मेरो प्रस्तुतिलाई स्मरणीय बनाउन पूरा कोसिस रहनेछ।’

यसपालीको पलेँटी सञ्चालनका निम्ति छेउमा बसेर रिहर्सलमा व्यस्त कवि तथा गीतकार विप्लव प्रतीक भन्छन्, ‘कुनै सहर कतिको जीवन्त छ भन्ने कुरा त्यहाँ गुञ्जिने समकालीन संगीतमा पनि निर्भर हुन्छ। त्यस पुण्य कामलाई २० वर्षदेखि निरन्तरता दिइरहेको छ पलेँटीले। मलाई विश्वास छ, यसपाली पलेँटीमा हुने न्ह्यू बज्राचार्यको प्रस्तुति स्मरणीय रहनेछ।’

पलेँटी टिमसँग पहिलोपल्ट गीत अभ्यास गरिरहेकी बानिका प्रधानले अग्रजसँग मञ्चमा देखिन उत्साहित रहेको बताइन्।

‘असंख्य अग्रजहरूले पलेँटी कस्नुभएको यो मञ्चको गरिमा अतुलनीय छ। धेरै पहिलेदेखि यस मञ्चमा गाउने सपना थियो। मसँग पलेँटीको दर्शक भएको अनुभव छ। तर यसपाली भने आफैँलाई गाउने मौका जुर्‍यो। साह्रै आनन्दित छु,’उनले भनिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad