भदौ २७ गतेबाट रिलिज हुने फिल्म ‘अभिमन्यु: च्याप्टर १’को मोसन टिजर सार्वजनिक भएको छ। मोसन टिजरले पैसाका लागि हुने संघर्षलाई संकेत गरेको छ।
मोसन टिजर जिल्ला कारागार मोरङ अगाडि एक व्यक्तिले चुरोट सल्काउँदै गरेको दृश्यबाट सुरु हुन्। त्यसपछि ती व्यक्ति एक सिक्कालाई टस गर्छन्। टस गरेको सिक्का चक्रको केन्द्रमा गएर रोकिन्छ, जहाँ पजल देखिन्छ।
पजलमा सुरुमा चक्कु देखिन्छ। त्यसपछि पहेँलो बस्त्र लगाएका चारजना मानिस देखिन्छन् । त्यसपछि क्रमशः आगो र ब्यागबाट उडिरहेका नोट देखिएसँगै मोसन टिजर सकिन्छ।
हिन्दी भर्सन असोज ६ अर्थात् (सेप्टेम्बर २२) मा रिलिज हुनेछ। हिन्दी भर्सन पनि विश्वव्यापी रिलिज हुने निर्माता विनोद पौडेलले जानकारी दिए।
चलचित्रले पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने व्यक्तिको संघर्षको कथा भन्ने बताइएको छ।
पोस्टप्रोडक्सनमा रहेको यस फिल्ममा कामेश्वर चौरासिया, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, सुष्मा निरौलाको अभिनय छ।
सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण भएको सिनेमा ‘अभिमन्यु स् च्याप्टर–१’लाई सुशान्त गौतमले निर्देशन गरेका छन्। यो उनको डेब्यु निर्देशन हो। मुकेश खनालको लेखन रहेको चलचित्रको क्रिएटिभ निर्देशक मदन थापा हुन्।
‘अभिमन्यु: च्याप्टर–१’ का निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन्। जीवन शाक्य लाइन प्रोड्युसर रहेको फिल्ममा शरद महतोको डिओपी रहेको छ।
Shares

प्रतिक्रिया