बहुप्रतिक्षित बलिउड फिल्म ‘वार २’ को ट्रेलर सार्वजनिक भएको छ। २ मिनेट ३५ सेकेन्ड लामो ट्रेलर एक्सनले भरिपूर्ण छ।
फिल्ममा ऋतिक रोशन फेरि एक पटक कबिरको भूमिकामा देखिएका छन्। फिल्ममा उनीसँगै जुनियर एनटीआर, कियारा आडवाणी र आशुतोष राणा पनि महत्वपूर्ण भूमिकामा छन्।
फिल्ममा ठूला एक्सन दृश्यहरू छन्, जसमा ऋतिक र जुनियर एनटीआर बीचको भिडन्त देख्न सकिन्छ। ट्रेलरमा ऋतिक र जुनियर एनटीआरले भागवत गीताको श्लोक वाचन गरेका छन्।
एउटा दृश्यमा कबीर आफ्ना पुराना सहकर्मी क्याप्टेन खालिद रहमानलाई श्रद्धाञ्जली अर्पण गर्दै गरेको देखिन्छ। खालिदको भूमिका टाइगर श्राफले वार मा निभाएका थिए।
यस फिल्ममा पहिलो पटक ऋतिक र कियारा आडवाणी एकसाथ देखिनेछन्। ट्रेलरमा यी दुईको केमेस्ट्री गजब देखिएको छ। ट्रेलरमा कियारा छोटो समय अटाएपनि एक्सन गर्दै देखा परिन्।
अयान मुखर्जीको निर्देशन रहेको यो फिल्म आदित्य चोपडाको यशराज फिल्म्सको स्पाई युनिभर्सको एक भाग हो। जुनियर एनटीआरले यसै फिल्मबाट हिन्दी फिल्म उद्योगमा डेब्यू गर्दैछन्।
यो फिल्म सन् २०१९ को एक्शन थ्रिलर वार’ को सिक्वेल हो, जसलाई सिद्धार्थ आनन्दले निर्देशन गरेका थिए।
यशराज फिल्म्सले निर्माण गरेको यो फिल्म १४ अगस्ट २०२५ मा सिनेमाघरहरूमा रिलिज हुनेछ। हिन्दीसहित तमिल र तेलुगु भाषामा रिलिज हुने जनाइएको छ।
Shares

प्रतिक्रिया