कला


हरिदेवीका तीजगीत: रामसीताको गाथादेखि नारी जागरणसम्म (भिडिओ)

हरिदेवीका तीजगीत: रामसीताको गाथादेखि नारी जागरणसम्म (भिडिओ)

नेपालखबर
साउन १४, २०८२ बुधबार ९:३१, पाेखरा

रुढीवाढी यो समाजको अग्लो पर्खाल नाघेर    
महिला हामी एक भई उठौँ जागेर …    

गायिका हरिदेवी कोइरालाको लय, शब्द र स्वरमा सजिएको यो तीज गीतमार्फत महिलालाई हक र अधिकार प्राप्तिका लागि अघि बढ्न आह्वान गरिएको छ । तीज महिलाको पर्व भएकाले तीजका गीतमा महिलाका कथा नै हुनुपर्छ भन्छिन् उनी । उनका तीज गीतमा पनि महिलाका दुःख, पीडा, बेदना, सङ्घर्षका कथाका साथै हक र अधिकारका विषय उठान गरिएको पाइन्छ।

नारीहरुको महान् पर्व तीज नजिकिँदै गर्दा उनले जस्तै बजारमा तीजका गीत ल्याउने क्रम सुरु भइसकेको छ । केही गीतमा मौलिकता झल्किन्छ भने केही गीत आधुनिक शैलीका छन् । पछिल्लो समय तीजका गीतमा आधुनिकता हावी हुँदा यसको मौलिकता हराउने पो हो कि भन्नेमा गायिका कोइराला चिन्ता व्यक्त  गर्गछिन्र्नु । त्यसै सिलसिलामा उनले यसपटक पनि ‘उठौं जागेर’ बोलको तीज गीत ल्याएकी छिन्।

कोइरालाको आफ्नै स्वर, शब्द र लयमा सजिएको यस गीत तीजको मर्म र महिलामाथि भइरहेको प्रहारविरुद्धलाई उठान गरिएको छ । गीतमार्फत महिलालाई अधिकार र सम्मानका लागि एकजुट हुन आह्वान गरिएको छ।

तीज गीतमा बढ्दो विकृतिप्रति चिन्तित कोइरालाले हरेक वर्ष मौलिक भाकाका गीतहरू सिर्जना गर्दै आफ्नो कर्मलाई निरन्तरता दिँदै आएकी छिन् । यो वर्षको ‘उठौं जागेर’ उनको पहिलो प्रस्तुति हो । बाँकी तीन गीतको रेकर्डिङ सकिएको र छिट्टै बजारमा आउने तयारीमा रहेको उनको भनाइ छ। 

‘मैले यसपटक राम–सीताको गाथा जस्ता धार्मिक प्रसङ्ग, छोरीको इच्छाविपरीत विवाह गरिदिने सामाजिक पीडा, माइतीको सम्झनालाई गीतमा उतारेकी छु’, उनले भनिन्, ‘तीजका गीत महिलाका सुख, दुःख, बेदना र सामाजिक चेतना बोल्ने सशक्त माध्यम हुन्, तर आजभोलि बजारमा आउने अधिकांश गीत महिलाको अस्मितामाथि धावा बोल्दै वस्तुकरण गर्न खोजेको जस्तो देखिन्छ।’

उनले आफू तीज संस्कृति र सङ्गीतको संरक्षणमा आफू एक्लै भए पनि निरन्तर लागिरहने बताइन् । ‘लोक संस्कृति जोगाउनु केवल पुराना गीत संरक्षण मात्र होइन, यो हाम्रो सामूहिक पहिचान र अस्तित्वको आधार हो । यसले हामीलाई आफ्नो इतिहास र पुर्खाको ज्ञानसँग जोड्दै सामाजिक एकतालाई बलियो बनाउँछ । हाम्रो मौलिक कला, ज्ञान र जीवनशैलीलाई बलियो पार्दै भावी पुस्तालाई मौलिक चिनारी हस्तान्तरण गर्न लोक संस्कृतिको संरक्षण अपरिहार्य छ’, उनले भनिन्।

कोइरालाको मौलिकताको खोज केवल शब्द र सन्देशमा मात्र सीमित छैनन्, परम्परागत मौलिक घर, चौतारी, कुवा पँधेरो, गोठ, खेतबारीको मौलिकपन पनि भेटिन्छ । समय बदलिए पनि महिलाका लागि आज समाज सुरक्षित हुन नसकेको र महिलामाथि शोसन दमन र विभेद उस्तै रहेको अनुभव सुनाउँदै उनले मौलिकताभित्र सशक्तीकरण र विद्रोहका गीत गाएर सामाजिक जागरण ल्याउन सकिने बताइन्।

तीजको सन्दर्भ, परिवेश र विषयवस्तुभन्दा बाहिर गएर केवल चर्चाका लागि गीत बनाउने प्रवृत्ति हाबी भएकाले यसलाई निरुत्साहित गर्न सर्जक मात्र नभइ सञ्चारमाध्यम र सरोकारवाला निकायले विशेष भूमिका खेल्नु आवश्यक रहेको उनको भनाइ छ । ‘अहिले तीज गीतमा छाडापन बढ्नुको मुख्य कारण नै भाइरल हुने होड र व्यापारीकरण हो, टिकटक र युट्युबमा छिटो चर्चा पाउनकै लागि सर्जकहरूले तीजको मौलिक मर्म बिर्सेर अपाच्य शब्द र भड्किलो नाचलाई प्राथमिकता दिएका छन्, यो गलत हो’, उनले भनिन्।

पहिले चेलीको दुःख पोख्ने माध्यम बनेको तीज गीत, अहिले सतही मनोरञ्जन र पैसा कमाउने साधनमा सीमित बन्नु दुर्भाग्यपूर्ण भएको उनको बुुझाइ छ।

विसं २०१५ चैत १७ गते कास्कीमा जन्मनुभएकी कोइराला नेपाली लोक सङ्गीत र साहित्यकी एक अग्रणी साधक बनेर मौलिक सङ्गीतमा रमाएकी छन्।

विसं २०४५ देखि निरन्तर नेपाली गीत सङ्गीतमा सक्रिय उनले आठ सयभन्दा बढी गीतमा काम गरेकी छन् भने ८० भन्दा बढी एल्बम रेकर्ड गराएकी छन् । उनले हम्काइलो, ऐना हेरेर, पाइन खबर, फूलको बास्ना जस्ता कैयौं कालजयी गीत गाइसकेकी छन्।

उनको विशेषता भनेको गीतमा सामाजिक र राष्ट्रिय महत्वका विषयलाई उठाउनु हो । उनका सिर्जनामा दरबार हत्याकाण्ड, भूकम्प, कोरोना महामारी, हवाई दुर्घटना जस्ता राष्ट्रिय एवं प्राकृतिक विपत्तिदेखि लिएर बढ्दो राजनीतिक विकृति, दाइजो प्रथा, पारिवारिक कलह, जुवातासको असर र छोरीहरूले भोग्नुपरेका पीडा जस्ता सामाजिक मुद्दाहरू उठान हुने गर्दछन्।

उनका गीत केवल मनोरञ्जनका लागि होइनन्, समाजलाई झक्झकाउने र सकारात्मक परिवर्तनको सन्देश दिने ऐना रुपमा लिन सकिन्छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad