बहुप्रतीक्षित फिल्म ‘बलिदान’को टिजर सार्वजनिक भएको छ। सार्वजनिक टिजरमा फिल्मको कथावस्तु र पात्रबारे चित्रण गरेको छ। जुन टिजरलाई २४ घण्टा नपुग्दै युट्युबमा १० लाखभन्दा बढी भ्युज मिलिसकेको छ।
टिजरको सुरुवातमा देशको एक हिस्सा बैरीहरूको निसानामा परेको र उनीहरूलाई रोक्न असम्भव भएको उद्घोष सुनिन्छ। यसैबिच पृष्ठभूमिमा अभिनेता सौगात मल्ल मसाल बोकेर उभिएका देखिन्छन्। त्यसपछि अभिनेता हेमन्त बुढाथोकीको आवाज गुन्जिन्छ, जहाँ उनले कालीमाताको चरणमा रगत चढाउँदै बिताएको समय र त्यो बलिदानको अभिनय पूरा भएको भाव व्यक्त गर्छन्।
दृश्यमा बुढाथोकी राजसी पहिरनमा देखिन्छन् भने अर्पण थापा सशक्त राजनेताको भूमिकामा छन्।
अभिनेत्री ऋचा शर्माको संवाद टिजरमा सुनिन्छ , ‘जब ती निर्दोषका घाँटी रेटिन्छन्, र ती राक्षसहरू तिमीलाई हेरेर हाँस्छन्, तिमी किन मौन बस्छौ? के यो धर्तीमा अब त्यस्तो युग पुरुष जन्मिँदैन, जसले ती राक्षसहरूको घाँटी रेटोस्?’
कालीमाताको विशाल मूर्ति अगाडि बोलिएको यस संवादको पृष्ठभूमिमा जङ्गलमा बसोबास गर्ने आदिवासीहरूको दृश्य देखिन्छ, जहाँ निर्देशक सेन स्वयं आदिवासी पात्रको रूपमा उपस्थित छन्।
टिजरमा अभिनेता समीर भट्टउनलाई ‘एक्सन किङ’को परिचय दिइएको। उनको प्रवेशसँगै टिजर एक्सनमय बनेको छ। उनको संवाद, ‘यो आमा न लाचार छ, न त यो आमाको कोख नै खाली छ। यो आमाले छोरा मात्र होइन, योद्धा पनि जन्माएको छ’ सहितको शक्तिशाली दृश्यमा उनले प्रतिपक्षीलाई मुक्का प्रहार गरेको झलक टिजरको प्रमुख आकर्षण बनेको छ। टिजरको अन्त्यमा अन्य कलाकारहरूको छोटो झलकसहित समीरको ठुलो भालासँगको एक्सन दृश्य शीर्षकसँगै देखाइएको छ।
सन्तोष सेन निर्देशित यो फिल्म दसैंको अवसरमा फूलपातीमा रिलिज हुँदैछ।
यसअघि अभिनेता समीर भट्टको जन्मदिनको अवसरमा प्रि-टिजर सार्वजनिक गरिएको थियो। जसले देशभक्तिपूर्ण संवाद र दमदार एक्सनका कारण नेपालसहित दर्जन बढी मुलुकमा युट्युब ट्रेन्डिङमा स्थान पाएको थियो। प्रचार अभियानलाई नयाँ उचाइमा पुर्याउँदै निर्माताले ‘बलिदान ब्यानर’ अभियान सञ्चालन गरेका छन्, जसअन्तर्गत देशैभर विशाल ब्यानरहरू टाँगिएका छन्।
‘आसुसेन फिल्म्स प्रा. लि.’को ब्यानरमा बनेको चलचित्रमा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायत कलाकारको अभिनय रहेको छ। चलचित्रका निर्माता पवन ब्राडफोर्ड बिस्ट, कार्यकारी निर्माता प्रेम पुरी हुन्।
Shares

प्रतिक्रिया