कला


दसैंमा ४ फिल्मबीच भिडन्त, थपियो ‘अभिमन्यु: च्याप्टर १’ पनि

दसैंमा ४  फिल्मबीच भिडन्त, थपियो ‘अभिमन्यु: च्याप्टर १’ पनि

नेपालखबर
भदौ ३०, २०८२ सोमबार १३:३१, काठमाडौँ

जेनजी आन्दोलनका कारण बन्द भएका देशभरिका सिनेमाहल आजबाट खुलिसकेका छन्। योसँगै आन्दोलनअघिनै रिलिज भएका फिल्महरू सोमबारबाट पुन: प्रदर्शनमा आएका छन्। रिमै, मोहर, कोशेढुंगा, गुन्योचोलो, माग्ने राजा, जनै हराएको मान्छेसहित विदेशी फिल्म हलमा लागेका छन्।

आन्दोलनका कारण भदौ २७ गतेबाट रिलिज हुने भनिएको ‘अभिमन्यु: च्याप्टर १’ रोकिएको थियो। तर, हल खुलेसँगै सेभेन सिजले एक विज्ञप्ति निकाल्दै यस फिल्मको नयाँ मिति सार्वजनिक गरेका छन्। अब यो फिल्म दसैंको अवसरमा फूलपातीको दिन असोज १३ मा रिलिज हुनेछ।

‘भदौ २७ गते प्रदर्शनमा ल्याउने पूर्वनिर्धारित मिति तय गरिएको भए पनि देशको विषम परिस्थितिलाई मध्यनजर गर्दै हामीले प्रदर्शन स्थगित गरेका थियौँ। तर अहिले देशमा भएको आमूल परिवर्तनलाई सकारात्मक दृष्टिले लिएर हाम्रो चलचित्र उद्योगलाई निरन्तर चलायमान र गतिशील बनाउने उद्देश्यका साथ हामीले नयाँ प्रदर्शन मिति घोषणा गरेका छौँ। नेपाली भाषामा असोज १३ गते (फूलपातीको दिन) देखि देशभर तथा विश्वव्यापी रूपमा एकैसाथ प्रदर्शन हुनेछ,’विज्ञप्तिमा उल्लेख छ।

हिन्दी भाषामा भने असोज १७ गतेदेखि भारतमा तथा विश्वव्यापी रूपमा एकैसाथ प्रदर्शन हुनेछ।

योसँगै फूलपातीमा बक्सअफिसमा एकसाथ ४ नेपाली फिल्म भिड्ने भएका छन्। ‘अभिमन्यु: च्याप्टर १’ सहित माइतीघर, बलिदान र हरिबहादुरको जुत्ता रिलिज हुने पक्का भएको हो। बलिदान, हरिबहादुरको जुत्ता र माइतीघरले केही महिनाअघिनै फूलपातीको लागि डेट लक गरेका थिए। तर, जेनजी आन्दोलनका कारण स्थगीत भएको ‘अभिमन्यु’ अन्त्यमा फूलपातीको दिनमा आइपुगेको हो।  

भदौ २७ गते नै रिलिज हुने भनेर प्रचार गरेकाले धेरै बजेट पब्लिसिटीमा लगानी भइसकेकाले लामो समय दर्शकलाई होल्ड गर्न नसकिने निर्माता विनोद पौडेलले जानकारी दिए। विदेशमा पनि शो लिइसकेकाले धेरै पर जान नसकेको उनको भनाइ छ।

सुशान्त गौतम निर्देशित यस फिल्ममा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल, शिशिर वाङ्देलको अभिनय छ।

महिनौंअघि प्रदर्शन मिति तोकिएका माइतीघर, बलिदान र हरिबहादुरको जुत्ता यसवर्षकै बहुप्रतिक्षित फिल्म हुन्। यी फिल्महरूमा ठूलो लगानीसहित स्थापित कलाकारहरूको अभिनय छ।

मिलन तामाङ निर्देशित फिल्म ‘माइतीघर’ मा उपासना सिंह ठकुरी, धिरज मगर, श्यामाश्री शेर्पा, केदार घिमिरे, प्रकाश सपुत मुख्य भूमिकामा छन्। त्यसैगरि, सन्तोष सेनको निर्देशन र लगानी रहेको फिल्म ‘बलिदान’ मा समीर भट्ट मुख्य भूमिकामा छन्। दीपेन्द्र के खनाल निर्देशित ‘हरिबहादुरको जुत्ता’ मा हरिवंश आचार्य, स्वस्तिका खड्का, प्रकाश सपुतको लिड रोल छ। यी तिनै फिल्मका निर्माणटिमले हल खुलेसँगै सामाजिक सञ्चालमार्फत प्रचारप्रसारलाई समेत निरन्तरता दिएका छन्।

यद्यपि, कतिपयले भने यस्तो अवस्थामा धेरै फिल्महरू जुधाउने नहुने भन्दै प्रतिक्रिया जनाइरहेका छन्। तर, यो पटकको दसैंमा कुन फिल्मले बक्सअफिसमा कमाल गर्ला? त्यो भने केही समयपछि थाहा होला।

 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad