झण्डै डेढ वर्षपछि अभिनेता अनमोल केसी नेपाली सिनेमाहलमा फर्किँदैछन्। उनको मुख्य भूमिका रहेको फिल्म ‘जेरी अन टप’ शुक्रबारबाट रिलिज हुँदैछ।
सन् २०१४ मा ‘जेरी’ले अनमोललाई स्थापित गरिदियो। त्यसकारण पनि उनको करिअरकै लागि यो फिल्म खास छ। त्यसै नामको ब्रान्डबाट बनेको फिल्ममार्फत उनी जेरी बनेर पर्दामा आउँदैछन्।
यतिखेर फिल्मको गीतदेखि टिजर र ट्रेलर चर्चामा छन्। तर, बिरामी भएका कारण अनमोल ट्रेलर रिलिज कार्यक्रममा उपस्थित हुन सकेनन्। करिअरकै महत्त्वपूर्ण फिल्म भए पनि यसपटक उनी खासै प्रचारप्रसारमा समेत हिँड्न पाएनन्।
तर, स्वास्थ्यमा केही सुधार आएपछि अनमोल बुधबार फिल्मको कार्यक्रममा उपस्थित भए। उनले सुरुवातमा आफू फिल्मको प्रमोसनमा पुग्न नसकेको कारण खुलाए।
‘अघिल्लो साता भएको ट्रेलर रिलिज कार्यक्रममा हेल्थको कारणले गर्दा उपस्थित हुन पाइनँ। त्यतिखेर पनि मलाई राख्नलाई तपाईंहरूसँग धेरै प्रश्न र जिज्ञासा थिए होलान्। त्यही भएर म तपाईंहरूमाझ उपस्थित भए। ताकि तपाईंहरूको जिज्ञासाको म उत्तर दिन सकूँ,’ उनले भने, ‘आज पनि मेरो एन्टिबायटिक चलिरहेको छ। अझ खुलेर उत्तर दिन नसके पनि प्रयास गर्नेछु। यसपालि तपाईंहरूको मिडिया हाउस पुगेर कार्यक्रम राम्रो बनाउने मौका पाइनँ होला। अब रिलिज हुन थोरै बाँकी छ। तर, पनि यो मेरो अन्तिम फिल्म होइन। अरू फिल्ममा पनि तपाईंहरूको कार्यक्रममा उपस्थित हुनेछु। अझ रमाइलो कुरा गर्नेछु।’
दसैँमा रिलिज भएका फिल्महरूले आशीर्वाद पाएको बताउँदै आफूले पनि दर्शकबाट माया पाउनेमा आशावादी देखिए अनमोल।
‘पहिले मेरो फ्यान र अडियन्सहरूले एकदमै माया दिनुभएको छ। यसपालि पनि त्यसरी नै दिनुहुन्छ भन्ने अपेक्षा राखेको छु। अझ धेरै त बुकिङले पनि देखाइरहेको छ। कतिपय हलहरू त बुधबार नै प्याक हुन थालिसके। दसैँमा जस्तै आशा छ, तिहारमा पनि हामीले आशीर्वाद पाउनेछौँ,’ उनले भने।
अनमोलले थुप्रै प्रश्नको सामना गरे। हेटरदेखि नेपोकिडसम्मका विषयमा सोधिएका प्रश्नमा अनमोलले बुद्धिमतापूर्वक जवाफ दिए।
अनमोललाई हेटरहरूले किन प्रेम गर्न थाले भनेर प्रश्न सोधिएको थियो। जसमा अनमोलले मिठो शैलीमा उत्तर दिए, ‘सायद उहाँहरूले बुझ्नुभयो होला। आखिर मैले गरिरहेको भनेको आफ्नो कर्म नै हो। बिगारेको के नै छ र?। इमान्दारीपूर्वक काम गरिरहेको छु। उद्योगलाई केही दिन खोजिरहेको छु। त्यो चिजहरू बिस्तारै सबैले बुझ्दै गइरहेका छन्। र, अहिले सबै हेट चाहिँ मायामा परिवर्तन भइरहेको छ। घृणा गर्नेहरूबाट माया पाउनु नै मेरो लागि ठूलो कुरा हो।’
बेलाबखत अनमोललाई अभिनय गर्न नजानेको भन्ने आरोप लाग्ने गर्छ। तर, सधैँ उत्कृष्ट दिने प्रयास गर्ने बताउँदै उनले आफ्नो काममा सन्तुष्ट रहेको प्रतिक्रिया दिए।
एक पत्रकारले प्रश्न तेर्स्याए, ‘तपाईं आफ्नै बलबुतामा यहाँसम्म पुग्नुभयो तर, तपाईंलाई भुवन केसीको नामसँग किन जोडिन्छ?’
यस प्रश्नमा अनमोलको जवाफ रोचक थियो। उनले सहजै भनिदिए: 'सायद छोरा नै भएर होला।' हलमा हाँसो गुञ्जियो।
अनमोल १६ महिनापछि हलमा आउँदैछन्। यसबीचमा उनले अरू काम समेत गरेका छैनन्। यो फिल्म रिलिज नभएसम्म आफू अर्को फिल्ममा हात नहाल्ने उनले सुनाए।
‘बीचमा धेरै फिल्महरू आए। एउटा प्रोजेक्टमा लागेसकेपछि जबसम्म रिलिज हुँदैन, म चाहिँ पूर्णतया त्यही फिल्ममै समर्पित हुन्छु। अहिले पनि आउने फिल्मको वर्कसप सुरू भइसक्यो। तर, मैले समय दिन सकिरहेको छैन। दिमाग जेरीमै छ। यसमा मेहनत र भावनात्मक लगाव छ। तर, मलाई कुनै पनि पछुतो छैन। एउटा आइसकेपछि नेपाली उद्योगलाई योगदान दिने फिल्म आओस् भन्ने लाग्छ। मैले गुमाएजस्तो केही लागेको छैन,’ उनले भने।
त्यसपछि उनीतिर प्रश्न सोझियो- 'अहिले तपाईं टपमा हो?'
जवाफमा उनले भने, ‘त्यो पनि म भन्दिनँ कि टपमा छु। अहिलेलाई नेपाली उद्योगमा छु। र, नेपाली उद्योग टपमा भएको हेर्न चाहन्छु।’
Shares

प्रतिक्रिया