फिल्म ‘आ बाट आमा’ को प्रदर्शन मिति तोकिएको छ। लक्ष्मी पूजाको विशेष अवसर पारेर फिल्मको पहिलो पोस्टर सार्वजनिक गर्दै माघ १६ गतेको लागि तय गरिएको हो।
सार्वजनिक पोस्टरमा विपना थापा, प्रदीप रावत र पल शाह खुसी मुन्द्रामा देखिएका छन्। जहाँ सन्तानको खुशीमा बुबाआमा पनि खुसी भएको अनुमान गर्न सकिन्छ। ग्रामीण परिवेशमा आधारित फिल्मले आमाबाबु र सन्तानबीचको भावनात्मक सम्बन्धलाई केन्द्रमा राखेको संकेत पोस्टरले गरेको छ।
पोस्टरमा लेखिएको संवाद,‘बा आमाले परिश्रमले घर बनाउनु भयो, हामीले रहर र बाध्यताले पासपोर्ट बनायौं।’ले कथा आम नेपाली परिवारको यथार्थसँग गहिरो सम्बन्ध राख्ने देखिन्छ।
फिल्मले निर्माण पक्षका अनुसार, फिल्मले ‘घर र आमाको माया’ भन्ने भावनालाई दर्शकसमक्ष नजिकबाट प्रस्तुत गर्नेछ। आर्या पन्तको प्रस्तुतिमा निर्माण भएको फिल्ममा चन्द्र पन्तको लेखन, पटकथा र निर्देशन रहेको छ।
यस फिल्ममा विपना थापा,प्रदीप रावत,पल शाह,साईग्रेस पोखरेल,सिम्रन पन्त, उषा उप्रेती, विशाल पहाडी,रवीन्द्र झा,गजित बिष्ट,हेमराज अधिकारी (खनत्या खलास),दिलिप उखेडा लगायत रहेका छन्। फिल्म ‘आ बाट आमा’मा ओमकार पन्त, कृष्णप्रसाद सुवेदी, ध्रुव न्यौपाने, प्रकाश कुँवर र क्षितिज ढुङ्गाना निर्माता हुन् भने कार्यकारी निर्मातामा करण सिंह रसाइली रहेका छन्।
यो फिल्मको विदेश प्रदर्शन अधिकार उच्च मागको साथ बिक्री भइरहको छ। हिमारु इन्टरटेन्मेन्ट प्रा.लि.ले अस्ट्रेलिया र न्युजिल्यान्ड प्रदर्शन अधिकार लिइसकेको छ। नेपालमा फिल्मको प्रदर्शन अधिकार भने आरआर फिल्मस्ले गर्दैछ।
Shares

प्रतिक्रिया