पहिलोपटक ‘काठमाडौँ हरर फिल्म फेस्टिभल’ आयोजना गरिएको छ।
उक्त चलचित्र महोत्सव कमलपोखरीस्थित रसियन हाउसमा शुक्रबार साँझ उद्घाटन गरिएको हो।

नेपाल फिल्म एन्ड कल्चर एकेडेमीको आयोजना र रसियन हाउस तथा रुसको राजदूतावासको सहकार्यमा सञ्चालित महोत्सव तीन दिनसम्म चल्नेछ।
नेपाली चलचित्र क्षेत्रमा नयाँ विधा डर, रहस्य र कल्पनाको कलालाई अघि बढाउने उद्देश्यले महोत्सव आयोजना गरिएको नेपाल फिल्म एन्ड कल्चर एकेडेमीका उपाध्यक्ष शिव पुरीले बताएका छन्।
उद्घाटन समारोहमा महोत्सव निर्देशक रसिक पाठकले भने, ‘दशकौँदेखि नेपाली चलचित्रले प्रेम, समाज र अध्यात्मलाई अन्वेषण गर्दै आएको छ, तर आज हामी नयाँ क्षेत्रमा प्रवेश गरेका छौँः डर, रहस्य र कल्पना। हरर केवल भूत र छायाको कुरा होइन, यो आफैँभित्र र वरिपरि रहेका अज्ञातसँगको सामना हो।’
उद्घाटन कार्यक्रमका मुख्य अतिथि तथा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले हेलोविन र नेपालका गठेँमंगल र गाईजात्राजस्ता परम्परागत चाडबीच समानता रहेको बताए।
उनले भने, ‘संसार एउटै हो, डर र साहसजस्ता भावनाहरू सार्वभौमिक हुन्।'
यस्ता उत्सवले मानवीय सम्बन्ध जोगाउन र सिर्जनात्मक सम्बन्ध बलियो बनाउन भूमिका खेल्ने उनले बताए।
नेपाल फिल्म एन्ड कल्चर एकेडेमी सल्लाहकार तुलसी घिमिरेले महोत्सव 'उत्कृष्ट पहल र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सांस्कृतिक आदानप्रदानको उत्कृष्ट प्लाटफर्म’ भएको बताए।
‘रसियन हाउस र एनएफसीएका बीचको यस्ता सहकार्यहरूले सिर्जनात्मक विकास र सांस्कृतिक समझदारीमा अर्थपूर्ण योगदान पुर्याउँछन्’, उनले भने।
Shares

प्रतिक्रिया