बलिउड अभिनेत्री तथा गायिका सुलक्षणा पण्डितको बिहीबार राति ८ बजे मुम्बईमा निधन भएको छ।
उनी ७१ वर्षकी थिइन्। उनको मृत्युको कारण अझै खुल्न सकेको छैन।
उनी केही समयदेखि बिरामी रहेको बताइएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार सुलक्षणा पण्डितले मुम्बईको नानावती अस्पतालमा अन्तिम सास फेरेकी हुन्।
सुलक्षणा सञ्जीव कुमारसँग विवाह गर्न चाहन्थिन्, तर सञ्जीवले उनको प्रस्ताव अस्वीकार गरे। यसपछि सुलक्षणा मानसिक रूपमा विचलित भएकी थिइन्।
सुलक्षणा पण्डितको जन्म १९५४ जुलाई १२ मा भएको थियो। उनी एक संगीतमय परिवारकी थिइन्।
उनका काका प्रसिद्ध शास्त्रीय गायक पण्डित जसराज थिए। उनका तीन दाजुभाइ र तीन दिदीबहिनी छन्। उनका दाजुभाइ जतिन र ललित प्रसिद्ध संगीत निर्देशक हुन् भने बहिनी विजयता पण्डित अभिनेत्री र पार्श्व गायिका हुन्।
सुलक्षणाले नौ वर्षकै उमेरमा गाउन सुरु गरेकी थिइन् र १९६७ मा फिल्महरूमा पार्श्व गायन थालिन्।
उनले १९६७ को फिल्म ‘तकदीर’मा लता मंगेशकरसँग प्रसिद्ध गीत ‘सात समुन्दर पार से’ गाएकी थिइन्। १९७५ मा उनले फिल्म ‘संकल्प’को ‘तू ही सागर है तू ही किनारा’ गीतका लागि फिल्मफेयर पुरस्कार प्राप्त गरिन्।
उनले किशोर कुमार, मोहम्मद रफी, येसुदास र उदित नारायण जस्ता गायकहरूसँग युगल गीत गाएकी छन्।
सुलक्षणा पण्डितको अभिनय करियर १९७० र १९८० को दशकको सुरुवातमा शिखरमा पुग्यो। त्यो अवधिमा उनी बलिउडकी सबैभन्दा प्रसिद्ध अभिनेत्रीमध्ये एक थिइन्। उनले त्यतिबेलाका लगभग सबै शीर्ष अभिनेतासँग काम गरिन्।
उनको फिल्म करिअर १९७५ मा फिल्म ‘उलझन’बाट सुरु भयो।
त्यसपछि उनले अनिल गांगुलीको फिल्म ‘संकोच’ (१९७६) मा ललिताको भूमिका निर्वाह गरेकी थिइन्, जुन उपन्यास ‘परिणीता’मा आधारित थियो।
Shares

प्रतिक्रिया