नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टिम पोखरा एभेन्जर्सको आयोजनामा शुक्रबार पोखरामा भएको ‘क्रिकेटका लागि नेपथ्य’ कन्सर्ट भव्य रूपमा सम्पन्न भएको छ।
पोखरा रंगशालाको फुटबल मैदानमा आयोजना गरिएको कन्सर्टमा १० हजारभन्दा बढी दर्शकको उत्साहपूर्ण सहभागिता रहेको आयोजकले जनाएको छ।
संगीत र खेलकुदबीचको सम्बन्ध सुदृढ गर्न उद्देश्यसहित आयोजना गरिएको यस कन्सर्टमा लोकप्रिय ब्यान्ड नेपथ्यले आफ्ना चर्चित तथा देशप्रेमका गीतहरू प्रस्तुत गरेको थियो।
साँझ ६ बजे सुरु भएको कन्सर्ट करिब ढाई घण्टासम्म चल्यो, जसमा ‘ओ राम राम’ गीतबाट प्रारम्भ गर्दै ‘रेसम’, ‘भेडाको उनजस्तो’, ‘जोगले हुन्छ भेट’, ‘तालको पानी’, ‘यो जिन्दगीमा’, ‘सिरानमा फोटो छ’ र ‘मै नाचे छमछमती’ लगायत दर्जनौँ गीतले दर्शकलाई मन्त्रमुग्ध बनाए।
नेपथ्यका मुख्य गायक अमृत गुरुङले पोखरासँगको आफ्नो पुरानो सम्बन्ध स्मरण गर्दै भने, ‘२०४० सालमा दोस्रो राष्ट्रिय खेलकुद हेरेको सम्झना अझै ताजा छ। पोखराको माटोसँग मेरो गहिरो नाता छ।’ उनले पोखरा एभेन्जर्सलाई धन्यवाद दिँदै एनपीएलको दोस्रो संस्करणमा उत्कृष्ट प्रदर्शन गर्न शुभकामना पनि व्यक्त गरे।
पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीले कन्सर्टको सफल आयोजनामा सन्तोष व्यक्त गर्दै भने, ‘सुरुमा चुनौतीहरू थिए, तर सबैको साथ र सहयोगले कन्सर्ट ऐतिहासिक रूपमा सम्पन्न भयो। यसले खेलकुद र संगीतबीचको सम्बन्ध अझ मजबुत बनाएको छ।’ उनले दर्शकहरूको उत्साह र नेपथ्यप्रतिको माया देखेर आफूहरू निकै उत्साहित भएको बताए।
कन्सर्टमा सहभागी हुन दर्शकहरूका लागि जर्सीमार्फत प्रवेशको विशेष व्यवस्था गरिएको थियो। पोखरा एभेन्जर्सले ७ हजार जर्सी बिक्री गरेको थियो, जसबाट उठेको रकम गण्डकी प्रदेशका सामुदायिक विद्यालयहरूमा क्रिकेट किट वितरण गर्न प्रयोग गरिने जनाइएको छ।




Shares

प्रतिक्रिया