कला


पाँच अन्तर्राष्ट्रिय एयरलाइन्सको उडानमा ‘राजागंज: पूजा, सर’

पाँच अन्तर्राष्ट्रिय एयरलाइन्सको उडानमा ‘राजागंज: पूजा, सर’

नेपालखबर
मंसिर ९, २०८२ मंगलबार १४:१९, काठमाडौँ

दीपक रौनियार निर्देशित फिल्म ‘राजागंज : पूजा, सर’ पाँच अन्तर्राष्ट्रिय एयरलाइन्सको उडानमा हेर्न सकिने भएको छ।

कतार, अमेरिकन, युनाइटेड, लुफ्थान्सा र स्वीस एयरलाइन्सबाट यात्रा गर्ने यात्रुले विमानभित्रै बसेर यो फिल्म हेर्न सक्नेछन्। यो फिल्म गत वर्ष विश्वकै पुरानो फिल्म महोत्सव भेनिसमा प्रिमियर भएको थियो। साथै बुसान, टानिक ब्ल्याक नाइट्स, गोथेबर्ग, सोलोनिकी, सिड्नी, मुम्बईलगायत दर्जन बढी महोत्सव सहभागी भइसकेको छ।

ग्लोबल इनफ्लाइट इन्टरटेन्मेन्ट कम्पनी पेनी ब्ल्याक मिडियाले यसको अन्तर्राष्ट्रिय एयरलाइन्समा वितरण गरिरहेको हो। निर्माण टिमका अनुसार, यो कम्पनीले फिल्मको अन्तर्राष्ट्रिय इन-फ्लाइट वितरण अधिकार भेनिसमै किनेको थियो।

फिल्मको थिएट्रिकल विन्डो अक्टोबरमा सकिएपछि एयरलाइन्स वितरण सुरु भएको हो। यी पाँच वटा एयरलाइन्सको प्रोग्रामिङ प्रारम्भिक मात्र हो। पेनी ब्ल्याकको कन्टेन्ट डिस्ट्रिब्युसनकी भिपी हुलिएटा बोयरले थप एयरलाइन्ससँग पनि सम्झौताको प्रक्रिया चलिरहेको बताइन्।

‘कतारजस्तो विश्वकै नम्बर एक मानिएको एयरलाइन्स नेपालमा उड्छ, तर उनीहरूले त्यसमा नेपाली फिल्म राखेका छैनन्। हामीलाई आफ्नो सांस्कृतिक उपस्थितिको लागि भए पनि यो स्पेस हाम्रो फिल्ममा चाहिन्छ भन्ने लागेको हो। हाम्रै फिल्मबाट यो यात्रा सुरु हुँदा गौरवान्वित छौं। यो हाम्रो कथाहरूको उडान मात्रै होइन। ३० हजार फिट उड्ने विश्व दर्शकबीच पुग्ने नेपाली फिल्मको यात्राकै सुरुवात हो,’ फिल्मका निर्माता निरज श्रेष्ठले भने।

जनकपुरमा खिचिएको यो फिल्म सत्य घटनाबाट प्रभावित छ। क्राइम थ्रिलर जनराको फिल्मले दुई बच्चाको अपहरणको मुद्दा अनुसन्धान र बच्चाको सुरक्षित उद्धार अपरेसनका लागि काठमाडौँबाट पठाइएकी डिटेक्टिभ इन्स्पेक्टर पूजा थापालाई पछ्याउँछ। पूजा थापाको भूमिकामा आशा मगराती छन्, जसले भर्खरै अमेरिकाको स्यान डिएगोमा उत्कृष्ट अभिनेत्रीको अवार्ड जितिन्।

मगरातीसहित फिल्ममा निकिता चंडक, दयाहाङ राई, विजय बराल, रिचा शर्मा, आरती मंडल, गौमाया गुरूङ, पशुपती राई, घनश्याम मिश्रा र निरज श्रेष्ठको अभिनय छ।

यो फिल्म हालै फ्रान्सका ६२ स्क्रिनमा एकसाथ देखाइएको थियो। निर्देशक रौनियारका अनुसार फ्रान्समा १७ हजारभन्दा बढी दर्शकले यो फिल्म हेरेका थिए। फिल्म बेलायतको मुख्य टेलिभिजन च्यानल फोरमा समेत प्रसारणमा आएको थियो।

चाडै यो फिल्म नर्वेको ह्वाइट र्‍याबिट र अमेरिकाको किनेमामा दुई फ्युचरिस्टिक प्लाटफर्मबाट प्रदर्शन हुँदै छ। नेपाली दर्शकले यही डिजिटल प्लाटफर्ममार्फत फिल्म हेर्न पाउने निर्माता पूर्णसिंह बराइलीले बताए।

यस फिल्ममा दीपकसहित अभिनेत्री मगराती र डेभिड बार्करको लेखन रहेको छ। निर्देशक रौनियार, रामबाबु गुरूङ, आशा मगराती, एलन आर मिलिगन र निरज श्रेष्ठ निर्माता रहेको यो फिल्मका कार्यकारी निर्मातामा दयाहाङ राई, ‘ग्याङ्स अफ वासेपुर’का निर्देशक अनुराग कश्यप, अस्कर नोमिनेटेड निर्माता जस्लिन बार्न्स र पूर्णसिंह बराईली लगायत छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad