अभिनेता सनी देओल आफ्ना आगामी फिल्महरूका कारण चर्चामा छन्। यस वर्ष ‘जाट’ फिल्मबाट बक्स अफिसमा धमाका मच्चाएका सनीसँग आगामी फिल्महरूको लामो सूची छ।
यस सूचीमा तीन वर्षअघि घोषणा गरिएको र अझै रिलिज हुन बाँकी रहेको एउटा फिल्म पनि समावेश छ। जुन फिल्म रिलिज नहुने खबर आएको थियो। तर, फिल्मका निर्माताले अब सनीको फिल्म ‘बोर्डर २’ को रिलिज पछि यो फिल्म ठूलो पर्दामा रिलिज गर्ने खुलाएका छन्।
फिल्म निर्माता र कोरियोग्राफर अहमद खान अहिले यही काममा जुटेका छन्। एकातिर उनको निर्देशनमा बनेको फिल्म ‘वेलकम टु द जंगल’ छ। अर्कोतिर, उनको आफ्नै निर्माण चलचित्र ‘बाप’ छ, जसको छायांकन सकिएको छ। यो लामो समयदेखि पोस्ट-प्रोडक्सनमा छ।
अहमदले भने, ‘वेलकम टु द जंगलले हालै मुम्बई र दुबईमा १२ दिनको छायांकन तालिका समाप्त गरेको छ।’ यो अर्को वर्षको मध्यमा रिलिज हुने अपेक्षा गरिएको छ। फिल्ममा स्टार कलाकारहरूको भरपुर उपस्थिति छ।
यसैबीच, सनी देओलको फिल्म ‘बाप’ अर्को फिल्म ‘बोर्डर २’ पछि रिलिज हुनेछ। यो फिल्मको पोस्ट-प्रोडक्सनको कारणले रिलिजमा ढिलाइ भएको हो। जुन गत नौ महिनादेखि चलिरहेको छ, किनकि यसमा थुप्रै एक्सन दृश्यहरू छन्। यसको रिलिज मिति चाँडै घोषणा गरिने जनाइएको छ।
सनी देओलको बहुप्रतिक्षीत ‘बोर्डर २’ पनि अर्को वर्ष रिलिज हुने भएको छ। यो फिल्म २३ जनवरी, २०२६ मा विश्वभरका सिनेमाघरमा रिलिज हुनेछ। सनीसहित वरुण धवन, अहान शेट्टी र दिलजीत दोसांझ पनि मुख्य भूमिकामा छन्।

प्रतिक्रिया