कला


बालगीत ‘आफूसित आफैँ दंग’ले १ अर्ब भ्युज पाएपछि केक काटेर सेलिब्रेसन

बालगीत ‘आफूसित आफैँ दंग’ले १ अर्ब भ्युज पाएपछि केक काटेर सेलिब्रेसन

नेपालखबर
मंसिर १३, २०८२ शनिबार १०:२, काठमाडौँ

नेपाली बालगीत ‘आफूसित आफैँ दंग’को सर्ट भिडिओले युट्युबमा १ अर्ब भ्युज प्राप्त गरेपछि सेलिब्रेसन गरिएको छ।

शुक्रबार डियरवाक सिफल स्कुलमा आयोजित कार्यक्रमबीच स्कुलकै बालबालिकासँग केक काट्दै सेलिब्रेसन गरिएको हो।

कार्यक्रममा बालगीतका सर्जक सुवेदीसहित प्रमुख अतिथिको रूपमा गीतकार करण थापा,संगीतकार वसन्त सापकोटा, लेखक महेश आचार्य, संगीतकार दीपक शर्मा, बालसाहित्यकार कार्तिकेय घिमिरे, लेखक महेश आचार्य, रंगकर्मी केदार घिमिरे, लेखक तथा फिल्ममेकर राज सरगम र पत्रकार लक्ष्मी बलायरको उपस्थिति थियो।

जहाँ गीतको टिमसँगै प्रमुख अतिथिहरूले संयुक्त रूपमा केक काट्दै सफलताको खुसी साटे।

कार्यक्रममा बोल्दै ‘बादल वर्षा बिजुली’ जस्ता चर्चित गीतका गीतकार करुण थापाले बालगीतले ऐतिहासिक सफलता पाएको भन्दै बधाई दिए। गीतकार सुवेदीको बालबालिकाप्रतिको माया र निरन्तर लगावकै कारण यो सम्भव भएको अन्य अतिथिहरूले बताए।

कार्यक्रममा बोल्दै चर्चित बाल साहित्यकार सुवेदीले यो सफलता सबैको सफलता भएको बताए। साथै उनले आफ्ना बालगीतलाई नयाँ प्रविधीसँगै ल्याउँदाको अनुभव सेयर गरे।

‘मेरा गीतमा एनिमेसन गर्ने काम करुण थापाजीले आरम्भ गर्नुभयो। त्योबेला मलाई प्रविधीको खासमा मलाई नयाँ थाहा नै थिएन। युट्युब के हो भनेर। पछि आचार्य गोपाल जोडिनुभयो’, उनले भने, ‘संगीतकारदेखि गायकगायिकाहरू जोडिनुभयो। र, विद्यालयहरू पनि। सबैको सहाकार्यमा यो सम्भव भयो। मेरो चाहना के भने हाम्रो नेपाल सबैभन्दा सुन्दर नेपाल, यहाँका विद्यार्थी नाच्ने बित्तिकै अमेरिकामा पनि नाचुनँ। जुन साकार भएको छ। यो बालगीत विदेशका कैयौं मान्छेले हेरेका छन्।’

बुढानीलकण्ठ स्कुलमा लामो समय शिक्षण गरेका सुवेदीले यो सफलता विधार्थीहरूको आशीर्वाद भएको प्रतिक्रिया दिए।

उनले भने, ‘मलाई लाग्छ मेरो विद्यार्थीहरू जहाँ पनि पुगेका छन्। उनीहरूको मायाको प्रतिफल हो। बुढानीलकण्ठमा पढाउँदा हिन्दी गीतमा केटाकेटीलाई नचाउने भन्दा हाम्रा गीतहरूमा किन ननचाउने, हाम्रा गीत गाउन किन नलगाउने भनिन्थ्यो। त्यसको यो संघर्ष हो। यो संघर्षमा एकसय भिडिओ पुगेका छन्। यो क्रम निरन्तर छ।’

डियरवाक सिफल स्कुलका अध्यक्ष हितेष कार्कीले रामबाबु सुवेदीका गीत बालबालिकाका निम्ति उत्प्रेरणादायक हुने बताउँदै निर्माणमा जोडिएको सुनाए। सफलतामा खुसी व्यक्त गर्दै उनले आगामी दिनमा पनि आफू यस काममा लगानी गर्न तयार भएको सुनाए।

गत कात्तिक २२ गते रामबाबु सुवेदीको बालगीत ‘आफैँसँग आफैँ दंग’को सर्ट भिडिओले युट्युबमा १ अर्ब (बिलियन) भ्युजको आँकडा पार गर्दै कीर्तिमान कायम रचेको थियो। रामबाबु युट्युब च्यानलबाट सार्वजनिक यो सर्ट भिडिओ नेपालकै पहिलो बिलियन पुगेको निर्माण टिमको दाबी छ।

डियरवाक सिफल स्कुलको निर्माण रहेको गीतमा दीपक शर्माको संगीत छ। गीतमा इधा विष्ट, अभिन्या घिमिरे, आइशा पिया, युग श्रेष्ठ, सुजीभ सापकोटा र रिवान शाक्यको स्वर छ। गीतमा नरेन्द्र वियोगीको संगीत संयोजन र मिक्सिङ छ।

गीतको भिडिओमा आर्यभ डंगोल, पारिका श्रेष्ठसहित डियरवाक स्कुलकै बालबालिकाहरूको अभिनय छ। आचार्य गोपालको निर्देशन र परिकल्पना रहेको गीतको भिडिओ सुनील भण्डारीले खिचेका हुन्। भिडिओ वीरबहादुर थारुले सम्पादन गरेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad