गायक रामकृष्ण ढकालले फिल्म ‘मालती मङ्गले’ मार्फत फिल्म निर्माणमा हात हालेका छन्। यसअघिको छायांकनमा फिल्मका दुई गीत बाँकी रहेकोमा पहिलो गीत ‘ढुङ्गामाथि लेउ’ को अहिले छायाङ्कन भइरहेको छ।
हर्क साउँदको शब्द र एसडी योगीको सङ्गीत रहेको गीतलाई रामकृष्ण ढकाल र रीतिका श्रेष्ठले स्वर दिएका छन्। गीतको एरेन्जिङ रिकेश गुरुङले गरेका छन्।
गीतको भिडिओमा विजय बराल र वर्षा राउत रोमान्टिक देखिएका छन्, जहाँ उनीहरू क्लासिक बलिउड लुकमा छन्। यसको कोरियोग्राफी रोशन बिकेले गरेका छन्।
छायांकन निर्देशक अर्जुन तिवारीको फ्रेममा सोमबार काठमाडौंको जर्सिङ पौवामा छायाङ्कन भइरहेको छ भने मंगलबार इन्द्रावती नदीमा निरन्तरता दिइनेछ। निर्माण टिमका अनुसार यो गीतपछि अर्को गीतको छायांकन बाँकी छ, त्यसपछि फिल्मको सम्पूर्ण छायांकन पूर्ण हुनेछ।
रानी म्युजिक इन्टरनेशनल प्रालिको ब्यानरमा युनी इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भइरहेको फिल्मका निर्माता रामकृष्ण ढकाल हुन्। निर्देशक प्रकु पाण्डेयले फिल्म निर्देशन गरिरहेका छन्, कथा पनि उनकै हो। पटकथा तथा संवाद संयोग गुरागाईंले तयार गरेका हुन्।
फिल्ममा विजय र वर्षासहित मेक्सम गौडेल, सुवर्ण थापा, प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला, सुनिल तामाङ, उमेश सुनाम, शकु शाह, सुचित्रा उप्रेती, दिनेश शाही, रिजन परियार, तारा शर्मा, गीता श्री, राज पङ्गेनी, सुस्मिता गुरुङ र सागर भट्टराईलगायत कलाकारको अभिनय छ। यसै वर्षको अन्त्यतिर फिल्म रिलिज हुनेछ।
Shares

प्रतिक्रिया