नेपाली सिनेमा हलमा शुक्रबार एक स्वदेशी र दुइ विदेशी फिल्म प्रदर्शन भएका छन्। नेपाली फिल्म ‘झरीपछिको इन्द्रेणी’ सहित बहुप्रतिक्षित हलिउड फिल्म ‘अवतार-३’ र भारतीय फिल्म ‘मिलियन भ्युज’ हलमा लागेका हुन्।
अर्जुन घिमिरे (पाँडे) को डेब्यु निर्देशित फिल्म ‘झरीपछिको इन्द्रेणी’ मा सामाजिक कथा र भ्रष्टाचारको विषयमा केन्द्रित छ। यसै फिल्मबाट अभिनेता गणेश उप्रेती लामो समयपछि कमव्याक गर्दै छन्।
गणेश र अर्जुनसहित रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, प्रियना आचार्य (मुन्नी) लगायतको अभिनय छ।
यस फिल्मबाट कलाकार विमोचन दवाडी र जेसिका पोखरेलले डेब्यू गर्दै छन्। निर्देशक घिमिरेकै कथा लेखन रहेको फिल्मको पटकथा र संवाद गणेश कार्की र विशाल घिमिरेले लेखेका हुन्।
हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार: फायर एन्ड एस’ पनि रिलिज भएको छ। यो फिल्म सन २००९ मा रिलिज भएको ‘अवतार’ को तेस्रो श्रृंखला हो। बहुप्रतिक्षीत भएकाले पनि फिल्मले अरु फिल्मभन्दा नेपाली मल्टिप्लेक्स हलहरूबाट उत्साहजनक शो पाएको छ।
‘अवतार’ले हलिउडमा अहिलेसम्म पनि बक्स अफिसमा सबैभन्दा धेरै कमाउने फिल्मको रेकर्ड कायम राखेको छ। त्यस्तै, सन् २०२२ मा रिलिज भएको ‘अवतारस् द वे अफ वाटर’ धेरै कमाउने हलिउड फिल्मको तेस्रो स्थानमा छ। जेम्स क्यामरुन निर्देशित फिल्मको रनटाइम १९७ मिनेट रहेको छ।
भारतीय फिल्म ‘मिलियन भ्युज’ डार्क साइकोलिकल थ्रिलर फिल्म हो। यो फिल्म अंशुद सिंन्हा निर्देशन र निर्माणमा बनेको हो। सिन्हाकै लेखन रहेको फिल्ममा सिद्धि जयसवाल र सोहनको मुख्य भूमिका छ। फिल्मले डिजिटल युग, सोसल मिडिया र अनलाइन पपुलारिटीको अँध्यारो पक्ष प्रस्तुत गर्छ।
Shares

प्रतिक्रिया