साइकोलोजिकल थ्रिलर जनरामा निर्माण भएको चलचित्र ‘द ब्ल्यू लाइट’को टिजर सार्वजनिक भएको छ। बिहीबार क्रिसमसको अवसर पारेर मौरी पिक्चर्सको युट्युब च्यानलबाट टिजर सार्वजनिक गरिएको हो।
टिजर महेश त्रिपाठी र बेनिशा हमालको संवादसँगै सुरु हुन्छ। टिजरले प्रेम, रोमान्स, आक्रमण, प्रतिशोध, हत्या, त्रास र कानूनी फन्दा देखाउने प्रयास गरेको छ।
अविश्वास, नियत र आक्रमणको वरिपरि मुख्य पात्रहरू घुमिरहँदा उनीहरूले कसरी एकले अर्कोलाई सिध्याउने खेल खेलिरहेका छन् भन्ने टिजरमा देख्न सकिन्छ। प्रहरीले बयान लिइरहेको दृश्यसँगै अपराधका श्रृंखलाबद्ध घटना टिजरमा समावेश छन्।
ब्याकग्राउन्ड स्कोर र कलरले सिनेमाको टोन देखाएको छ। टिजरले साइकोलोजिकल थ्रिल फिल गराउने प्रयास गरेको छ।
निर्माण टिमले टिजरसँगै सिनेमा रिलिजको नयाँ मिति पनि सार्वजनिक गरेको छ। माघ १६ गते यो सिनेमा रिलिज हुनेछ। यसअघि यो फिल्म पुस १० गते सार्वजनिक हुने घोषणा गरिएको थियो।
बलिराम चौहानको निर्देशन रहेको ‘द ब्ल्यू लाइट’को प्रमुख भूमिकामा बेनिशा हमाल, अर्पण थापा, आयुसमान देशराज जोशी, सृष्टि श्रेष्ठ, महेश त्रिपाठी र सुरक्षा इटानी छन्। फिल्ममा बाल कलाकारमा ग्रिस्मा कटुवाल र सहारा शर्मा छन्।
स्काइफल पिक्चर्सले प्रस्तुत गरेको ‘द ब्ल्यू लाइट’ फिल्मको को–प्रोडुसरको रुपमा भोलानाथ कटुवाल र रमन ग्रे रहेका छन्। कार्यकारी निर्मातामा भने छायाकार नरेन्द्र मैनाली र अभिनेत्री बेनिशा हमाल छन्।
Shares

प्रतिक्रिया