गत मंसिर १७ गते नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा कार्यक्रम थियो। त्यो दिन चर्चित कार्यक्रम होस्ट रिमा विश्वकर्मा मञ्चमा पुगिन्। किनकि उनेपाले रिमालाई केन्द्रीय सदस्य बनाएको थियो।
सधैँ मञ्चमा हँसिलो अनुहार, मिठो बोली अनि चिटिक्क परेर देखापर्ने रिमाको भावभंगी र बोलीचाली त्यो दिन अलग थियो। लाग्थ्यो: रिमा कति चाँडै नेता बनिन्।
मञ्चमा आउने बित्तिकै रिमाले सुरुमा राजनीतिमा आउनुको कारण खुलाइन्। भाषणमा ‘बोल्ड’ देखिएकी रिमाले जेनजी आन्दोलनले राजनीतिमा आउन प्रेरित गरेको बताउँदै देशले जवाफदेही नेतृत्त्व खोजिरहेको प्रस्ट पारिन्।
रिमाले कडा आवाजमा भनिन्, ‘आज देशले जवाफदेही नेतृत्व खोजिरहेको छ। देशको गरिमामय प्रधानमन्त्रीको पोस्टमा बसेर गोली चलाउने आदेश कसले दियो मलाई थाहा छैन भन्ने जस्तो गैरजिम्मेवारी नेता अब यो देशलाई चाहिँदैन।’
उनको भाषणले हलमा तालीको गडगडाहट पैदा गरेको थियो।
त्यसपछि रिमा आफूलाई केन्द्रीय सदस्य बनाउने पार्टीका संरक्षक त्यसबेला उर्जासहित तीन वटा मन्त्रालय सम्हालिरहेका कुलमान घिसिङबारे खुलिन्। कुलमानको कामबाट प्रभावित भएको बताउँदै रिमाले उनको नेतृत्त्वमा देशको भविष्यलाई उज्यालो बनाउने पार्टीमा आएको सुनाइन्।
‘साँच्चै भन्ने हो भने जब मलाई राजनीतिक चेत आयो, यो देशमा वा सरकारमा बसेर कसैको नेतृत्त्वले मेरो दैनिकी वा जीवनशैलीलाई असर गरेको थियो भने त्यो लोडसेडिङ अन्त्यको निर्णय थियो। मैले त्यसैदिन कुलमान घिसिङलाई अगुवा मानेको थिएँ,’ उनले भनेकी थिइन्, ‘१८ घण्टे लोडसेडिङलाई हटाएर कुलमान ज्योज्योले तपाईं र हाम्रो घरमा उज्यालो ल्याइसक्नुभयो। अब उहाँकै नेतृत्त्वमा उज्यालो नेपाल पार्टीमार्फत हामी देशको भविष्य उज्यालो बनाउने महाअभियानमा लागेका छौँ।’
वाक्कलामा पोख्त रिमालाई कुलमानले पनि सुरुवातदेखि नै अघि सारेका थिए। पार्टीका हरेक कार्यक्रममा सरिक गराउनेदेखि पार्टीबारे मत राख्नुपर्ने विषयमा पनि रिमालाई फ्रन्टमा राखेका थिए। जसले उज्यालो नेपाल पार्टीको कुलमानपछिको अगुवा नै रिमा हो जस्तो लाग्थ्यो। यसबीचमा उनेपा र राष्ट्रिय स्वतन्त्र पार्टीबीच एकता गर्ने सहमति भयो। कुलमानले सात बुँदे सहमति पत्रमा हस्ताक्षर गर्दै रवि लामिछानेसँग हात मिलाए। यसअघि नै काठमाडौँ महानगरका मेयर बालेन शाहको टिम रास्वपामा मिलिसकेको थियो। कुलमानसहित बालेन र रवि मिलेको त्यो घटनाले राजनीतिमा ठूलो तरंग पैदा गरेको थियो।
पुस १४ गते भएको सहमति अनुसार नै रास्वपाका सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन र उपसभापति कुलमान पक्षबीच समानुपातिक सूचीमा पनि बाँडफाँट भयो।
आफ्नो तर्फबाट कुलमानले रिमा लगायत केहीको नाम प्राथमिकताको सूचीमा राखेर बुझाए। जसमा रिमा विश्वकर्मा रास्वपाको समानुपातिक सूचीको दलित महिलातर्फ पहिलो नम्बरमा परन्। स्रोतहरूका अनुसार कुलमानले दलित महिलाको सूचीमा रिमालाई पहिलो नम्बरमा राख्न निकै जोड गरेका थिए।
‘रिमालाई राजनीतिको मूलधारमा हामीले ल्याएका हौँ। सोहीअनुसार उहाँलाई अवसर पनि दिनेगरी अगाडि बढाइएको थियो,’ उनेपाका एक नेताले भने।
त्यसपछि रास्वपाको समानुपातिक सूची निर्वाचन आयोगमा पठाइयो। तर रास्वपाले राजनीतिक प्रतिनिधित्व कम भएकाहरूलाई छुट्याइएको समानुपातिक सूचीमा सेलेब्रिटीहरूलाई समेटेपछि व्यापक आलोचना भयो। त्यसपछि कुलमान पक्षबाट सूचीमा परेका गायिका त्रिशला गुरुङदेखि अभियन्ता डा महेन्द्र लावतीसम्मले उम्मेदवारी फिर्ता लिए। तर, रिमाले भने फिर्ता लिइनन्। औपचारिक रुपमा राजनीतिमा लागेकाले रिमाले उम्मेदवारी फिर्ता नलिनु स्वाभाविक थियो।
पुस २६ मा कुलमान र रविबीचको एकताको सहमति भाँडियो। कुलमान रास्वपामा टिक्न नसकेर १२ दिनमै अलग्गिए। एकतापछि आफूलाई अपमानित गरिएको दाबी गर्दै उनी उज्यालो नेपाल पार्टीमै फर्किए।
तथापि, कुलमानतर्फबाट सिफारिस भएकी रिमा भने उज्यालो नेपाल पार्टीमा फर्किनन्। बरु आफूलाई राजनीतिमा ‘स्पेस’ र समानुपातिक सूचीको प्राथमिकतामा राखेर आगामी संसदमा प्रवेश गराउन ‘पहिलो स्पेस’ दिने कुलमानलाई छाडेर रास्वपा नै रोजिन्। रास्वपाले आइतबार निर्वाचन आयोगमा अपडेट गरेको समानुपातिक सूचीमा पनि पहिलो नम्बरमै परेपछि सायद उनले आफू सांसद बन्ने सुनिश्चितता खोजेर रास्वपा छोड्न चाहिनन्।
आखिर उनी राजनीतिमा जो आइसकिन्, र समानुपातिक सांसद फुत्किने डरले उनी रास्वपामै बसिन्। किनकि उनेपा समानुपातिक उम्मेदवारविहीन बन्ने अवस्था एकातिर देखिएको छ भने यो नयाँ पार्टीको हैसियत के हुन्छ भन्ने पनि स्पष्ट आकलन छैन।
एकता भंग भए पनि रिमा रास्वपाकै समानुपातिक उम्मेदवारको रहेको रास्वपाका एक नेताले बताएका छन्।
‘कुलमानले एकता तोडे पनि रिमा रास्वपामै हुनुहुन्छ। उहाँ रास्वपाबाटै समानुपातिक उम्मेदवार बनेर चुनाव लड्नुहुन्छ। यतै बस्ने उहाँको व्यक्तिगत निर्णय हो। जसको हामीले सम्मान गर्नुपर्छ,’ रास्वपाका ती नेताले भने।
यता कुलमानलाई पनि रिमाले आफूले रास्वपा छाड्न नसक्ने सन्देश पठाइसकेको स्रोतको भनाइ छ।
सन्देशमा रिमाले कुलमानलाई भनेकी छिन्, ‘अहिलेलाई सरी दाइ, पछि सँगसँगै बसौँला।’
Shares

प्रतिक्रिया