मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’ को कलाकारिताको ग्राफ जति उकालो छ, त्यति नै रोचक पनि। १५/१६ वर्षअघिको कुरा हो, मरिचमानले ‘मेरी बास्सै’ मा स्पट ब्वयको रुपमा काम सुरू गरेका थिए। ‘मेरी बास्सै’ त्यतिबेला निकै चलेको सिरियल थियो। २ वर्षमा उनी स्पट ब्वयबाट साउन्डम्यानसम्म बने।
मरिचमानलाई कलाकारिताप्रति सानैदेखि लगाव थियो। राजेश हमाल, भुवन केसी जस्ता कलाकारका फिल्म हेरेर हुर्केका उनलाई अभिनयको सोख पनि थियो।
‘मेरी बास्सै’ सुटिङ ताका एकदिन मरिचामानलाई केदार घिमिरे ‘माग्ने बुढा’ले अभिनयको अफर गरे। उनको पात्रको नाम थियो, ‘बल्छी धुर्वे’। अनि माछा मार्ने उनको दैनिकी। मरिचमानले माछा मार्ने समुदायको पात्रबाट निकै चर्चा पाए। यतिसम्म कि ‘बल्छी धुर्वे’ पात्र नै उनको चिनारी बन्न पुग्यो।
‘मेरी बास्सै’मा उनी अभिनयमा मात्रै सीमित भएनन्। कहिले लेखनमा सक्रिय भए त कहिले सहायक निर्देशक भएर काम गरे। यी अनुभवपछि सिरियलप्रति झनझन् मोह बढ्दै गयो। र, राजु मास्टरसँग मिलेर ‘जुठे’ र ‘हल्का रमाइलो’ बनाए। जुन सिरियलहरु दर्शकहरुको रोजाइमा पर्न सफल भए। यी दुवै सिरियलहरुले युट्युबमा राम्रो भ्युज समेत पाएका थिए।
तिनै मरिचमान अब सिरियलको दुनियाँभन्दा पर ठूलो पर्दामा आएका छन्। स्पट ब्वय हुँदै कलाकारितामा प्रवेश गरेका उनी फिल्म ‘गोबर गणेश’ मार्फत निर्देशक र हिरो बनेका छन्। जुन फिल्म माघ १ गतेबाट देशभर प्रदर्शन हुँदैछ।
‘सिरियलमा काम गर्ने प्रायजसोको अन्तिम इच्छा भनेको ठूलो सिनेमा नै हुन्छ। म पनि हरेकचोटि सिनेमा हेर्न जाँदा एउटा सिनेमा बनाउनुपर्छ भन्ने सोच्थेँ। ठूलो पर्दामा कलाकारहरुलाई देख्दा मेरो ठाउँ यही हो, मैले गर्नुपर्छ भन्ने लाग्थ्यो। त्यसैअनुसार मैले सिनेमा बनाउने अठोट गरेँ। त्यसैको प्रतिफल हो: गोबर गणेश,’ श्रेष्ठले नेपालखबरसँ भने।
मरिचमानका अनुसार ‘गोबर गणेश’ पढाइमा कमजोर एक युवकको कथा हो। जीवनमा पढाइको मात्र सबथोक होइन भन्ने सन्देश फिल्मले दिन्छ। साथै फिल्मभित्र सन्तानका लागि आमाले गर्ने त्यागलाई समेत समेटिएको उनको भनाइ छ।
‘कहिलेकाहीँ सफल हुनलाई अंकले म्याटर गर्दैन। आफूसँग भएको सीपलाई राम्रोसँग प्रयोग गरियो भने राम्रो हुन्छ भन्ने कुरा फिल्मले देखाउँछ,’ उनले भने, ‘यो आमाछोराको कथा पनि हो। आफ्नो छोराको लागि आमाले कत्तिसम्म त्याग गर्न सक्छिन् भन्ने कुरा फिल्ममा छ।’
यस फिल्मको निर्देशनदेखि लेखक र निर्माता समेत मरिचमान नै हुन्। अझ फिल्मको मुख्य भूमिकामा समेत उनी स्वयं नै देखिएका छन्।
फिल्ममा उनी आफैँ किन मुख्य पात्र बने त?
जवाफमा भन्छन्, ‘यो पात्रमा अरुलाई खेलाउँदा निकाल्नुपर्ने हुन्थ्यो। मैले चाँहि शत प्रतिशत दिन सक्छु भन्ने लाग्यो। कथाले भनेको कुरा मैले महसुस गरेर प्रस्तुत गर्न सक्छु भनेर लिड रोलमा देखिएको हुँ।’
हुन त यसअघि उनी ‘नाइँ नभन्नु ल ४’, ‘छक्का पञ्जा’ ‘छ माया छपक्कै’ लगायतका फिल्ममा सानो भूमिकामा देखिएका थिए। तर, केन्द्रीय भूमिकामा आफूलाई ठूलो स्क्रिनमा देख्दा निकै खुसी लागेको उनको अनुभव छ।
‘ठूलो स्क्रिनमा देखिँदा निकै अचम्म लाग्यो। टेलिभिजन र युट्युबमा त सिरियलमार्फत आइरहेको थिएँ। एकैचोटि आफूलाई ठूलो पर्दामा देख्दा निकै खुसी लाग्यो। ट्रेलर रिलिजको दिन निकै खुसी भएँ। ओहो! यस्तो देखियो है भन्ने लाग्दोरहेछ,’ उनले भने।
फिल्ममा मरिचमान अभिनेत्री वर्षा शिवाकोटीको अपोजिटमा देखिएका छन्। आफूलाई वर्षाले धेरै कुरा सिकाएको बताउँदै उनीसँगको सहकार्य निकै सहज लागेको उनले सुनाए।
कथा नै हिरो भएको बताउँदै फिल्ममा कोही पनि हिरो नभएको उनले प्रस्ट पारे। भन्छन्, ‘यसमा दर्शकहरुले हेर्दै आएको परम्परागत हिरो छैन। कथा र क्यारेक्टर नै फिल्मको हिरो हो।’
मरिचमान ‘मेरी बास्सै’प्रति निकै कृतज्ञ छन्। ‘मेरी बास्सै’ ले धेरै कलाकारलाई प्लाटफर्म दिएको बताउँदै उनले सिरियललाई जन्मघर ठान्ने बताए। जसकारण फिल्मतिर लागेपनि सिरियल निर्माणमा निरन्तरता दिने उनले बताए।
‘सिरियल मेरो धरातल र जन्मघर हो। सिनेमालाई निकै माया गरिदिनुभयो भने पनि सिरियल चाहिँ रोकिँदैन। अझै दु:ख गरेर ल्याउनेछु। हल्का रमाइलो र जुठेलाई निरन्तरता दिन्छु,’ उनले भने।
माघ १ गतेबाट ‘गोबर गणेश’ सहित ‘मिरमिरे’ र ‘भाइरल गोर्खे’ पनि एकसाथ रिलिज हुँदैछन्। ‘मिरमिरे’मा दयाहाङ राई, प्रकाश सपुतसहित सिर्जना निङ्लेखुको मुख्य भूमिका छ भने ‘भाइरल गोर्खे’मा सौगात मल्ल र सृष्टि श्रेष्ठ प्रमुख भूमिकामा छन्। जसकारण केही दबाब महसुस गरिरहेका छन् मरिचमान।
‘प्रेसर फिल त हुन्छ। म एउटा सामान्य मान्छे। सँगै नेपालका स्टार दया, प्रकाश, सौगात दाइहरुको ठूलो सिनेमा आउँदैछ। मलाई कहीँ न कहीँ त प्रेसर भइरहेको छ,’ उनी भन्छन्, ‘तैपनि मलाई दर्शकले नेपाली सिनेमा हेरिदिनु हुन्छ जस्तो लाग्छ। तीनवटै सिनेमा हेरिदिनुहोला भनेर आग्रह गर्न चाहन्छु। यो एउटा सुरुवात हो। माया गर्नुभयो भने अर्को सिनेमा पनि ल्याउँछु।’
Shares

प्रतिक्रिया