अभिनेत्री निशा अधिकारी गतिशिल लोकतान्त्रिक पार्टीबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेकी छिन्। काठमाडौँ क्षेत्र नम्बर ५ बाट उनी पहिलोपटक चुनावी मैदानमा उत्रेकी हुन्।
अहिले चुनावी प्रचारप्रसारमा व्यस्त निशाले आफ्नो घोषणापत्र सार्वजनिक गरेकी छिन्। उनले फेसबुकमार्फत आफ्नो घोषणापत्रबारे जानकारी दिएकी हुन्। ‘सगरमाथादेखि सदनसम्म’ उनको नारा छ।
‘यस घोषणापत्रमा मैले सडक र पूर्वाधारदेखि जनस्वास्थ्य, रोजगारी, उद्यमशीलता, खेलकुद, संस्कृति, ज्येष्ठ नागरिकको सम्मान र महिलाको अर्थपूर्ण सहभागितासम्मका विषयहरूलाई नीतिगत दृष्टिले राखेकी छु,’ घोषणापत्र सार्वजनिक गर्दै उनले लेखेकी छिन्, ‘यो घोषणापत्र पूर्ण हुन सक्छ भन्ने दाबी म गर्दिनँ। तर यो इमानदार छ। यो गम्भीर छ। र यो तपाईंहरूसँग संवाद सुरु गर्ने आधार हो।’
उनले आफ्नो उम्मेदवारी किन? भनेर समेत प्रष्ट पारेकी छिन्। जेनजी समूहको विद्रोहले समाज र राजनीतिमा उथलपुथल नै ल्याएको बताउँदै राजनीतिक मैदानमा आएको उनको भनाइ छ।
सञ्चार माध्यम, टेलिभिजन कलाकारिता र चलचित्र क्षेत्रमा सक्रिय निशासँग २० वर्ष अनुभव छ। २० वटा चलचित्रमा काम गरिसकेकी उनी सगरमाथा आरोहण गर्ने पहिलो अभिनेत्री समेत हुन्। बालुवाटारमै हुर्किएकी निशाले पद्मकन्या क्याम्पसबाट राजनीतिशास्त्रमा स्नातक र स्नाकोत्तर गरिसकेकी छिन्। उनले हाल त्रिभुवन विश्व विद्धालयबाट द्वन्द्ध, शान्ति तथा विकास विषयमा एमफिल गरिरहेकी छिन्।
उनको सार्वजनिक चुनावी घोषणापत्रमा एजेन्टासहित समस्या र समाधान समेत उल्लेख गरिएको छ। उनले मुख्यतया ५ वटा एजेन्टा अघि सारेकी छिन्। यस्तो छ उनको घोषणापत्रमा समेटिएका मुख्य एजेन्टाहरू:
एजेन्टा-१. दिगो रोजगारी, उद्धमशीलता र सहज व्यावसायिक वातावरण
एजेन्टा-२.महिलाको अर्थपूर्ण सहभागिता र स्वास्थ्य अधिकार
एजेन्टा-३.सुरक्षित पूर्वाधार, स्वस्थ वातावरण र दिगो सहरी जीवन
एजेन्टा-४. खेलकुद, कला र सिर्जनशिल अर्थतन्त्र
एजेन्टा-५. ज्येष्ठ नागरिकहरुको स्वाभिमान, सम्मान र सुरक्षित जीवन
Shares

प्रतिक्रिया