शुक्रबार दुई नेपाली फिल्मसहित एक विदेशी फिल्म हलमा लाग्दै छन्। नेपाली फिल्म ‘कुमारी’ र ‘रमिताको पिरती’ तथा हलिउडको हरर फिल्म ‘द स्ट्रेन्जर्स: च्याप्टर-३’ रिलिज हुनेछन्।
यसैबीच, यी तीनै फिल्मको शो बाँडफाँड गरिएको छ। जसमध्ये दिनेश राउत निर्देशित ‘कुमारी’ ले धेरै शो पाएको छ। यस फिल्मलाई नेपालभरिका हलले १५२ शो उपलब्ध गराएका छन्।
व्यापक चर्चा रहेको यस फिल्ममा आकृति राजभण्डारी र अभिषेक खड्काले डेब्यु गर्दै छन्। निर्देशक राउतले जेनजी पुस्ताका दुई कलाकारलाई फिल्ममा ल्याएका हुन्। फिल्मका सबै गीतमा युवापुस्ताका चर्चित गायक केहरसिंह लिम्बूको गायन रहेको छ। युनिभर्सल सर्टिफिकेट पाएको यस फिल्मको रनटाइम १२७ मिनेट रहेको छ।
त्यस्तै, आना शर्माको मुख्य भूमिका रहेको फिल्म ‘रमिताको पिरती’ ले देशभर ९३ शो पाएको छ। सुदीप्ता निर्देशित यस रोमान्टिक ड्रामाले लगातार ब्रेकअप भोगिरहेकी युवतीकै दृष्टिकोणबाट कथा भन्ने प्रयास गर्छ।
यसमा आनासहित गायक समीर श्रेष्ठ, धीरज मगर र विनय श्रेष्ठको अभिनय छ। पीजी सर्टिफिकेट पाएको यस फिल्मको रनटाइम ११५ मिनेट रहेको छ। आना शर्मा र सन्तोष लम्साल कार्यकारी निर्माता रहेको फिल्मको कथा पनि सुदीप्ताको नै रहेको छ।
हलिउडको हरर फिल्म ‘द स्ट्रेन्जर्स: च्याप्टर-३’ पनि भोलिबाट रिलिज हुँदै छ। एडल्ट सर्टिफिकेट पाएको यस हरर फिल्मले कुल ३९ शो पाएको छ। यस फिल्मलाई १६ वर्ष माथिका दर्शकले मात्र हेर्न पाउनेछन्।
Shares

प्रतिक्रिया