‘बिगुल’ फिल्म आगामी फागुन १ गतेबाट देशब्यापी प्रदर्शनमा आउने भएको छ। निर्माण पक्षले काठमाडौँमा पत्रकार सम्मेलन आयोजना गरि यससम्बन्धी जानकारी दिएको हो।
यस फिल्मलाई नेपाल जेसिसले भरपुर सघाउने भएको छ। पत्रकार सम्मेलनमा ‘बिगुल’ निर्माता दिनेश कोइराला र नेपाल जेसिसका राष्ट्रिय अध्यक्ष जीवन कार्कीबीच यस सम्बन्धी एक सम्झौतामा हस्ताक्षरसमेत भएको छ।
‘बिगुल’ का कथाकारसमेत रहेका कोइराला नेपाल जेसिसका पूर्व अध्यक्ष समेत हुन्। उनले आफूले देश र जनताको पक्षमा सन्देशका साथमा मनोरञ्नात्मक फिल्म निर्माण गरेको बताउदै सबै पक्षको सहयोगको अपेक्षा ब्यक्त गरे।
निर्देशक कोइरालाले ‘बिगुल’ भुइँमान्छेको कथा भएको बताए। यसको कथा बर्तमान राजनीति परिदृश्यसँग निकै मिल्दो भएकाले हरेक नागरिकले हेर्नुपर्ने उनको भनाई थियो।

‘फिल्ममा भरपुर मनोरञ्जनका साथै आमनेपालीलाई देश र माटोप्रति अझ बढी प्रेम जगाउने सन्देश समाहित भएको छ,’ उनले भने।
बरिष्ट अभिनेता नीर शाहले ‘बिगुल’ जस्तो वर्तमानको वास्तवीक कथामा बिरलै फिल्म बन्ने गरेको दाबी गरे।
अभिनेत्री बेनीशा हमालले ‘बिगुल’ मा आफू निकै चुनौतीपूर्ण भूमिकामा रहेको बताइन्। अभिनेता नरेन खड्काले ‘बिगुल’ मा आफू युवा शक्तिको रुपमा प्रस्तुत भएको खुलाए। उनले ‘बिगुल’ मा अभिनय गर्नुअघि आफूले केही युवा नेताहरुको जीवनशैली, तौरतरिका गहन रुपले अबलोकन गरेको दाबी गरे।
निर्माता कोइरालाले ‘बिगुल’ मा नेपाली समाजका दबिएका आवाज, अन्याय सहेर बाँचिरहेका भुइँमान्छे, भविष्यको चिन्तामा छटपटाइरहेका युवा पुस्ता र संघर्षशील महिलाहरूको चेतनालाई प्रतिनिधित्व गर्ने कथा प्रस्तुत गरिएको बताए।
म्याग्नेलिया ग्रुपको ब्यानरमा कल्पना पौडेल प्रस्तुतकर्ता रहेको फिल्ममा बेनीशा हमाल, नरेन खड्का, नीर शाह, रमेश बुढाथोकी, हेमन्त बुढाथोकी, सरोज खनाल, बिनोद न्यौपाने, रबिन्द्र खड्का, शिसिर बाङ्देल, गीता अधिकारी, जेएन घिमिरे, मानुसी शर्मा, नव अभिनेत्री मीरा पण्डितलगायतका कलाकारको अभिनय छ।
प्रदिप भारद्वाज र मौनता श्रेष्ठको पटकथा र सम्बाद रहेको फिल्म शिव ढकालले खिचेका हुन्। फिल्मका गीतमा अर्जुन पोखरेल, बिश्वप्रकाश शर्मा, मनोज चौलागाईको संगीत अनि कमल राई र कविराज गहतराजको कोरियोग्राफी छ।
महेश कोइराला र सूर्यकान्त कोइराला सहनिर्माता रहेको फिल्म तारा थापा किम्भेले सम्पादन गरेका हुन् भने एनबी महर्जनको द्वन्द्व निर्देशन छ। फिल्म राजधानीभित्र काफिया फिल्म्स् र मोफसलमा ब्याङ्केट्स इन्टरटेन्मेन्टले बितरण गर्दैछ।
Shares

प्रतिक्रिया