काठमाडौँको सत्ता, शक्ति र पदको रस्साकस्सीभन्दा निकै टाढा, जहाँ एउटा जीवन बचाउन सिटामोलको खोजीमा घन्टौँ हिँड्नुपर्छ, डा. गोविन्द केसी त्यहीँ पुगे। चिकित्सा शिक्षाको थिति बदल्न २० पटक अनशन बसेका उनै डाक्टर केसीद्वारा लिखित पुस्तक ‘एक सामान्य नागरिक तथा सामान्य डाक्टरले देखेको नेपाल’ शनिबार सार्वजनिक गरिएको छ।
देशका दूरदूरका गाउँमा सेवा दिने क्रममा आफ्नै लेन्सबाट खिचेका फोटो र त्यसभित्र लुकेका मर्मस्पर्शी कथाको दस्तावेज हो, 'मैले देखेको नेपाल।' पुस्तकमा उनले आफूलाई ‘एक साधारण नागरिक तथा सामान्य डाक्टर’ का रूपमा प्रस्तुत गर्दै विकट गाउँका बिरामीको नाडी छाम्दा र खच्चडसँग उकालो चढ्दा महसुस गरेको नेपालको वास्तविक ऐना उतारेका छन्।
पटक पटकको उनको सत्याग्रहले दुर्गममा मेडिकल कलेज पुग्ने बाटो त खुल्यो, तर राज्यको उदासीनताले बिरामीको सास्ती अझै मेटिएको छैन। ‘मैले देखेको नेपाल’ले त्यही अपुरो परिवर्तन र दूरदराजको बाँकी व्यथा बोलेका छन्।
Shares

प्रतिक्रिया