नेपथ्यले शनिबार साँझ बुटवलमा दर्शकको भव्य उपस्थितिमा सानदार प्रस्तुति दिएको छ। देशव्यापी यात्रामा रहेको नेपथ्यको यो दोस्रो कन्सर्ट हो।
बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आयोजित कन्सर्टमा मुख्य गायक अमृत गुरुङले गीत मात्र पस्केनन्, आसन्न निर्वाचनमा सहभागिताका लागि अपिल गरे। नेपाली क्रिकेट टोलीको विश्वकप यात्रालाई शुभकामना दिए । प्रस्तुतिको सुरुदेखि अन्तिमसम्मै तालमा ताल मिलाएर अमृतलाई दर्शकले साथ दिए ।
दर्शकदीर्घामा अनेक भाव भङ्गिमा, जातीय पहिचान र आधुनिक पहिरनका रङ्गीविरङ्गी दृश्य देखिन्थ्यो । तिनैमध्ये ह्विचेयर गुडाउँदै आफ्ना निम्ति सुरक्षित स्थान खोजिरहेका दर्शक वसन्त न्यौपाने पनि भेटिए । उनलाई स्वयंसेवकहरूले तत्कालै उपयुक्त ठाउँमा लगेर राखिदिए ।
‘गीतले गर्दा मात्रै होइन, व्यवस्थापनसम्मका यस्ता अनेक प्रबन्धले नेपथ्य विशेष लाग्छ,’ २२ वर्षे वसन्त भनिरहेका थिए ।
पाल्पाबाट बसाइँ सरेर तिलोत्तमा शिवचोक आएका वसन्त चार वर्षअघि पनि नेपथ्यको बुटवल कन्सर्टमा उपस्थित थिए । त्यतिखेर उनको अवस्था सामान्य थियो ।
‘हो रामा रामा’ गीतबाट सुरु भएको कन्सर्टमा तीव्र गतिका गीतहरू एकपछि अर्को गरी प्रस्तुत हुँदै थिए । त्यसै क्रममा अमृतले कर्णालीको सन्दर्भ निकाले ।
‘उहिलेको वैभवशाली कर्णालीमा पछि के बिग्रियो बिग्रियो, त्यो सिङ्गो भेग समय क्रममा पछाडि छुटेजस्तो भयो,’ उनले भने, ‘अब राष्ट्र निर्माणको मूल प्रवाहमा मिलाएर उसको त्यो वैभव फर्काउनु छ है’
त्यसपछि उतैबाट सङ्कलन गरिएको लोकभाका ‘टप्पा’ मा आधारित गीत ‘कर्नालीका छाइला’ प्रस्तुत गरे।
शनिबारको कन्सर्टका लागि मञ्चमा अमृतलाई सदाझैँ ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुबिन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए ।
बुटवलपछि नेपथ्य टोली आइतबार सबेरै नारायणगढ प्रस्थान गरिसकेको छ। त्यहाँस्थित ‘क्याम्पा चौर’ मा माघ २७ को बेलुकी ब्यान्ड प्रस्तुत हुनेछ। यो फराकिलो मैदानमा नेपथ्यले लगभग चार वर्षअघि पनि प्रस्तुति दिएको थियो।
नारायणगढको प्रस्तुतिपछि यो शृङ्खलाको अन्तिम कन्सर्टका लागि नेपथ्य बन्दीपुरतर्फ प्रस्थान गर्नेछ। त्यहाँस्थित टुँडिखेलमा फागुन २ अर्थात् ‘भ्यालेन्टाइन्स डे’ को साँझ नेपाली लोकरक गुन्जिनेछ ।
Shares

प्रतिक्रिया