छायांकनमा निस्कन लागेको फिल्म ‘जिरो डिग्री’को व्यङ्ग्यात्मक गीत सार्वजनिक गरेको छ। सार्वजनिक ‘अरे हो नेता जी’ बोलको गीतमार्फत समसामयिक राजनीति र नेताहरूप्रति तिखो व्यङ्ग्य प्रहार गरिएको छ।
सार्वजनिक गीतमा अभिनेता विजय बराल र गायक अङ्कित बाबु अधिकारीको स्वर रहेको छ। गीतमा सङ्गीत पनि अङ्कित बाबु अधिकारीकै रहेको छ भने शब्द युवराज काफ्लेले लेखेका हुन्।
गीतको भिडिओमा अभिनेता विजय बराललाई प्रस्तुत गरिएको छ। गीतमा आम नागरिकले विकास निर्माणबारे प्रश्न गर्दा नेताले दिने टालटुले जवाफ र ‘यही हो विकास’ भन्दै देखाउने प्रवृत्तिलाई व्यङ्ग्यात्मक शैलीमा चित्रण गरिएको छ।
मेघौली फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको ‘जिरो डिग्री’को कथावस्तु निकै मौलिक रहेको छ। सडक सञ्जालले नछोएको एक दुर्गम गाउँमा आमाबुवाको निधनपछि विदेशमा रहेका सन्तान आइपुगुन्जेल शव सुरक्षित राख्न ‘डीप फ्रिज’ बोकेर गाउँ भित्र्याएपछि उत्पन्न हुने उथलपुथलपूर्ण घटनाहरू र ‘डार्क कमेडी’मा फिल्ममा आधारित छ।
निर्देशकका अनुसार यो फिल्म फ्रिज गाउँ पुर्याउने कथामा मात्र सीमित नभई समाजका गहिरा यथार्थहरू उजागर गर्ने प्रयास हो।
फिल्मको निर्देशन एवं पटकथा तथा संवाद आकास बराल र साजन काफ्लेले गर्दै छन्। यस फिल्मका कथाकार राजन भुसालले अभिनय समेत गर्दै छन्। फिल्मका कार्यकारी निर्माता मोती कार्की रहेका छन्।
Shares

प्रतिक्रिया