‘दिनभरिको थकान तर हिम्मत अझै थाकेको छैन।’
शनिबार बेलुका रिमा विश्वकर्माले तस्बिरसहित यस्तो स्टाटस लेखिन्। उनको यो स्टाटस चुनावलक्षित थियो। किनकि राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक उम्मेदवार बनेकी उनी यतिबेला चुनावी प्रचारप्रसारको निकै चटारो छ।
चर्चित होस्ट तथा अभिनेत्री रिमाले कुलमान घिसिङको उज्यालो नेपाल पार्टीको केन्द्रीय सदस्य हुँदै राजनीति सुरू गरिन्। लगत्तै उनेपा र बालेन शाह रास्वपासँग गएर मिसिए। तर, केहीदिनमै उनीहरूको एकता भाँडियो। कुलमान रास्वपाबाट बाहिरिए।
एकतापछि आफूलाई अपमानित गरिएको दाबी गर्दै उनी उज्यालो नेपाल पार्टीमै फर्किए। कुलमान तर्फबाट समानुपातिक बन्दसूचीमा सिफारिस भएकी रिमा भने उज्यालो नेपाल पार्टीमा फर्किनन्। उनले रास्वपा नै रोजिन्।
त्यसयता रास्वपाले सेलेब्रिटी अनुहार रिमालाई प्रचारप्रसारको लागि अगाडि सारेको छ। महिनौँदेखि रिमा रास्वपाको हरेक चुनावी कार्यक्रममा पुगिरहेकी छिन्। बालेन शाह र रवि लामिछाने पुग्ने कार्यक्रम समेत रिमाले नै होस्ट गरिरहेकी छिन्।
सामाजिक सञ्जालमा पनि रिमाको खटाइ व्यापक देखिन्छ। उनले फेसबुकमा आफू नेपालभरि पुगेका तस्बिर÷भिडिओहरू धमाधम अपलोड गरिरहेकी छिन्। तस्बिरसँगै स्टाटस राखेर रिमा सबैतिरको भोट तान्न खोजिरहेकी छिन्।
केही दिनअघि रिमा सुदूरपश्चिम पुगेकी थिइन्। फागुन ६ गते कैलालीको धनगढीमा भएको परिवर्तन उद्घोष सभाको सञ्चालन पनि रिमाले नै गरेकी थिइन्। उनले त्यहाँको तस्बिर राख्दै बालेनको भाषणको चर्चित अंश ‘झिक्कै झिक्कै माया तमलाई’ लेख्न भ्याइन्। अहिले फेसबुकमा उनको दैनिक रूपमा पोस्ट आइरहेको छ। त्यस्तै, शुक्रबार एउटा बालकको तस्बिर राख्दै उनले लेखिन् ः ‘अब यो पुस्ताको लागि डर होइन अवसरको राजनीति।’ अझ भ्यालेन्टाइन डेमा त ‘माया देश र जनताको’ भनेर लेखिन्।
रिमा मात्रै होइन, रास्वपाबाटै समानुपातिक उम्मेदवार बनेका गायक तथा अभिनेता प्रकाश सपुतको पनि सक्रियता कम छैन। किनकि समानुपातिक दलित पुरुष कोटाको नम्बर २ मा रहेका उनी मेलामहोत्सवका कार्यक्रम छोडेर पूर्णतया चुनावमा खटिरहेका छन्। साथै फेसबुकमा पनि उनको रास्वपालक्षित स्टाटस र पोस्टहरू निकै देख्न सकिन्छ। अझ रोचक के छ भने उनले कतिपय तस्बिरमा त पृष्ठभूमिमा घण्टी रहेको फोटोहरू अपलोड गरेका छन्। जसले थाहा हुन्छ, उनी जसरी पनि मतदाताको ध्यान घण्टीतिरै तान्न चाहन्छन्।
प्रकाश नेपालीमाझ निकै चिनिएका गायक तथा अभिनेता हुन्। राजनीतिक चेत समेट्दै सिर्जना निकाल्ने उनले ‘परदेशी २’, ‘पूर्णबहादुरको सारंगी’, ‘बसन्त’, ‘हरिबहादुरको जुत्ता’ लगायतका चर्चित फिल्म समेत खेलिसकेका छन्। जसकारण गीतसंगीत मात्र नभई सिनेक्षेत्रमा उनका फ्यान छन्।
त्यसैले यसको भरपूर फाइदा रास्वपा उठाउन चाहन्छ। प्रकाशलाई प्रचारप्रसारमा खटाएर रास्वपा आफ्नो भोट बढाउन लागिरहेको छ। उम्मेदवार बनेदेखि नै प्रकाशले फेसबुकमा घण्टीकेन्द्रित स्टाटस र पोस्ट गरिरहेका छन्।
गत माघमा आफ्नो गृहजिल्ला बागलुङ पुगेका प्रकाशले एउटा फोटो राख्दै लेखे, ‘राजनीतिक अस्थिरताको अन्त्य भएर, स्थिर सरकार बनोस् भन्ने सपना र लक्ष्य त पुरानै हो तर यो यात्रा भने नयाँ–नयाँ। गृहजिल्ला बागलुङ क्षेत्र नं १ पञ्चकोटमा रहेको ५ हजार ५ सय ५५ किलोको घण्टी।’
त्यस्तै, उनले आफ्ना हरेक स्टाटसमा सांकेतिक रूपमा घण्टीकेन्द्रित कुराहरू जोडिरहेका हुन्छन्।
निर्वाचन नजिकिएसँगै युट्युबमा राजनीतिक विषयवस्तुमा बनेका ‘दिमाग खराब’, ‘सेन्टी भाइरस’ र ‘झरीपछिको इन्द्रेणी’ सार्वजनिक भइसकेका छन्। यी तीनै वटा फिल्ममा राजनीतिक मुद्दा र पुराना पार्टीप्रतिको वितृष्णा भेटिन्छ। यी फिल्महरू आफ्नो टाइमलाइनमा सेयर गर्दै प्रकाशले मतदातालाई घण्टीमा छाप लगाउने प्रोत्साहन गरिरहेका छन्।
त्यसैगरी, प्रकाशले चुनावकै मुखमा ‘भोट फेरौँ’ बोलको गीत ल्याएका छन्। प्रकाशकै शब्द, संगीत र स्वर रहेको गीतको बोलले भन्छ:
फेरिए नि व्यवस्था, फेरिएन अवस्था
चुनाव जिती जानेहरू वचनैमा नबस्दा
जति पटक जितिगए त्यति गल्ती गरे
जनताको नाम पारेर आफैँ खल्ती भरे
अब फेरि आऊलान्, हात जोडेरै माग्लान्
मिठा गफ लाऊलान्, नबजाउनु ताली
हेरौँ यसपालि, भोट फेरौँ यसपालि
Shares

प्रतिक्रिया