बिहीबार देशभर प्रतिनिधि सभा सदस्यको लागि चुनाव भइरहेको छ। कलाकारहरूले समेत यसपटकको चुनावमा उत्साहपूर्वक मतदान गरिरहेका छन्। जुन तस्बिर उनीहरुले सामाजिक सञ्जालमा साझा गरेका छन्।
नेतृ समेत रहेकी अभिनेत्री रेखा थापाले काठमाडौं क्षेत्र नंं. ४ बाट मतदान गरेकी छन्। मतदानपछि उनले सामाजिक सञ्जालमा तस्बिर सेयर गर्दै लेखेकी छन्, ‘मिलेर र मिलाएर देश बनाउन शुभकामना सबै दललाई।’
त्यसैगरी, वरिष्ठ अभिनेता हरिवंश आचार्यले काठमाडौँको बुढानीलकण्ठबाट मतदान गरेका छन्। उनले तस्बिर सेयर गर्दैं प्रधानमन्त्री सुशीला कार्कीलाई धन्यवाद दिँदै लेखेका छन्, ‘मैले मेरो लोकतान्त्रिक अधिकारको प्रयोग गरी मतदान गरेँ। आशा गर्छु यो निर्वाचनमार्फत देशले खोजेको असल र सक्षम नेतृत्व पाउनेछ। साथै जटिल परिस्थितिबाट देशलाई निर्वाचन गराई निकासको बाटोमा पुर्याइदिनु भएकोमा प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारलाई बधाई तथा धन्यवाद।’
त्यस्तै, अभिनेता विजय बरालले गृहजिल्ला सर्लाही पुगेर मतदान गरेका छन्। आफूले अधिकार मात्र नभई, जिम्मेवारी पनि पूरा गरेको बताउँदै आफ्नो सानो मतले ठूलो परिवर्तन ल्याउने उनको विश्वास छ।
गायक, अभिनेता तथा रास्वपाबाट समानुपातिक उम्मेदवार बनेका प्रकाश सपुतले पनि मतदान गरेका छन्। गृहजिल्ला बाग्लुङ पुगेर मतदान गरेका उनले तस्विर राख्दै स्टाट्स सेयर गरेका छन्। ‘स्थिरता, शान्ति र समृद्धिको आशासहित मत राखियो। अधिकार र जिम्मेवारी पूरा गरियो।’
गायिका रचना रिमालले झापा पुगेर भोट हालेकी छिन्। उनले मतदान गरेको तस्बिर सामाजिक सञ्जालमा सेयर गरेकी छिन्।
हास्यकलाकार मनोज गजुरेलले भक्तपुरको सूर्यविनायक–२ बालकोटस्थित बालविनायक स्कुल केन्द्रबाट मतदान गरेसँगै तस्बिर सामाजिक सञ्जालमा साझा गरेका छन्।
अभिनेत्री सुरक्षा पन्तले रुपन्देही जिज्लाको बुटवल पुगेर मतदान गरेकी छन्। सञ्जालमा तस्बिर राख्दै उनले लेखेकी छिन्, ‘सम्पूर्ण नेपालको शान्ति, सुरक्षा र कसैले पनि आँखा लगाउन नसक्ने बेजोड एकताको धरातलमा रही भावी पुस्ताले बारम्बार मागिरहेको अदम्य प्रगतिको कामना गर्दै बहुमूल्य मत पठाइयो। हामी सबैको मत समय-सार्थक रहोस्।’
अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले गृहथलो मोरङ पुगेर मतदान गरेकी छन्। मोरङ–६ को आदर्श बालिका मावि केन्द्रबाट मतदान गरेपछि दीपाश्रीले तस्बिर र भिडिओ समेत सामाजिक सञ्जालमा साझा गरेकी छन्।
त्यसैगरी, केकी अधिकारी, निर्मल शर्मा, सन्तोष सेन लगायतका कलाकारहरुले पनि मतदान गरेको तस्बिर सामाजिक सञ्जालमा राखिरहेका छन्।
Shares

प्रतिक्रिया