संगीतकार अर्जुन पोखरेलले फिल्म निर्माणमा हात हालेका छन्। आज बिहीबार ललितपुरस्थित कार्यविनायक मन्दिरमा पूजा गर्दै उनको डेब्यु लगानी रहेको ‘बेहुली’ शुभ मुहूर्त गरिएको छ।
यस चलचित्रको मुहूर्तसँगै छायाङ्कन र प्रदर्शन मिति पनि घोषणा गरिएको छ। निर्माता अर्जुन पोखरेलका अनुसार यसै साताबाट छायांकन हुनेछ। यो चलचित्र आगामी वर्षको हरितालिका तीजको अवसर पार्दै भदौ १२ गतेबाट रिलिज हुनेछ।
लामो समयदेखि नेपाली सुगम संगीत तथा चलचित्रका दर्जनौँ हिट गीत दिएर दर्शक तथा श्रोताको मन जित्दै आएका चर्चित सङ्गीतकार अर्जुन पोखरेल ‘बेहुली’ मार्फत निर्माणमा होमिएका हुन्। चलचित्रको सङ्गीत निर्देशन समेत आफैले सम्हालेका पोखरेलको यो नयाँ फिल्मी यात्रालाई निकै चासोका साथ हेरिएको छ।
प्रताप राणाको निर्माण रहेको यस चलचित्रको निर्देशन सशान कँडेलले गर्दैछन् भने कथा माधव शर्माले लेखेका हुन्। निर्देशक कँडेल र लेखक शर्मा दुवै चलचित्र‘होस्टेल ३’ का निर्देशक तथा लेखक हुन्।
यस फिल्ममा ‘होस्टेल ३’ बाट डेब्यु गरेका पारस बम ठकुरी (कुलब्वाय) मुख्य भूमिकामा देखिनेछन्। उनकी जोडीको रुपमा अभिनेत्री दिव्या रायमाझी देखिनेछिन्। सुशान्त कार्की, पदम तामाङ, सन्तोष बानिया, सरिता गिरी, लोकेन्द्र लेखक, सबिन कट्टेल र समायरा थापा मगर लगायतको पनि अभिनय रहनेछ।
कार्यकारी निर्माता सुमन थिङ तामाङ र सह-निर्माताहरू दुर्गा खरेल र रमेश सिलवाल रहेको ुबेहुलीुमा शङ्कर कोइराला क्रिएटिभ प्रोड्युसरको रूपमा छन्। नरेन्द्र मैनालीको छायाङ्कन रहने चलचित्रलाई विकास दाहालले सम्पादन गर्नेछन्।
Shares

प्रतिक्रिया