हालै सम्पन्न नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा फिल्म निर्माता वाङ चेङले चीनस्थित सिजाङ (तिब्बत)को उच्च भूभागको मौलिक आवाज बोकेको फिल्म ‘होम अवे, होम क्लोज’ प्रदर्शन गरे। करोडौँ दर्शक संख्या रहेको चीनको प्रभावशाली ‘चाइना मुभी च्यानल’को समेत प्रतिनिधित्व गर्दै काठमाडौँ आएका चेङसँग हिमालय क्षेत्रका कथावाचन, दुई देशका चलचित्र उद्योगबीच सहकार्यका सम्भावना लगायत विषयमा नेपालखबरका लागि अनिल यादवले कुराकानी गरेका छन् :
तपाईंको फिल्म ‘होम अवे, होम क्लोज’ले सिजाङको एउटा छुट्टै दृष्टिकोण प्रस्तुत गर्छ। यस कथाको मुख्य प्रेरणा के थियो र नेपाली दर्शकले यसबाट के सन्देश वा अनुभूति लैजाऊन् भन्ने तपाईं चाहनुहुन्छ?
नेपाल र सिजाङबीच गहिरो सांस्कृतिक सम्बन्ध छ। एउटा आधुनिक सहरको सामान्य युवकको दृष्टिकोणबाट यो फिल्मले सिजाङका उच्च पहाडी भेगका मानिसहरूको जीवनसँग संवाद गर्ने प्रयास गरेको छ। हामी फरक ठाउँमा बस्छौँ, हाम्रा विश्वास, संस्कृति र जीवनशैली फरक हुन सक्छन्, तर हामीले सधैँ एकअर्कालाई सम्मान गर्नुपर्छ, एकअर्कालाई देख्नुपर्छ र बुझ्नुपर्छ भन्ने सन्देश दिनु नै हाम्रो उद्देश्य हो। हामी एउटै ग्रह साझा गर्छौैँ र एकअर्काबाट शक्ति प्राप्त गर्छौँ। साथै, मलाई के लाग्छ भने संस्कृतिहरूको अन्तरक्रिया र आदानप्रदानले यसलाई लोप बनाउँदैन बरु झन् नयाँ जीवन्तता र प्राण भर्ने काम गर्छ।
नेपाल र सिजाङको भौगोलिक, आध्यात्मिक र सांस्कृतिक जरा एउटै छ। काठमाडौँ आएदेखि तपाईंले यहाँका मानिस वा वातावरण र तपाईंको फिल्ममा चित्रण गरिएको परिवेशबीच के–कस्ता समानताहरू पाउनुभयो?
मलाई विश्वास छ कि नेपाल आउने पर्यटक र फिल्म ‘होम अवे, होम क्लोज’ हेर्ने दर्शक दुवैले एक प्रकारको आध्यात्मिक शान्ति महसुस गर्नेछन्। यसले मेरो यो विश्वासलाई अझ बलियो बनाएको छ कि– हामी एउटै पहाड, एउटै चन्द्रमा र एउटै ग्रह साझा गर्छौँ, त्यसैले आपसी सम्मान, समावेशिता र शान्ति तथा विकासको खोजी नै हाम्रो शाश्वत उद्देश्य र चाहना हो।
संसारको छानो मानिने उच्च हिमाली क्षेत्रमा छायांकन गर्नु शारीरिक र प्राविधिक रूपमा चुनौतीपूर्ण हुन्छ। निर्माणका क्रममा तपाईंले भोग्नुभएको त्यस्तो कुनै ठूलो चुनौती छ? छ भने त्यसले तपाईंलाई एक फिल्मकर्मीका रूपमा कसरी प्रभावित पार्यो?
उच्च हिमाली क्षेत्रमा छायांकन गर्दा हामीले शारीरिक सीमा र प्राविधिक चुनौती दुवैको सामना गर्नुपर्छ। स्टुडियो वा सहरी परिवेशमा प्रयोग गरिने सामान्य तरिकाहरू यहाँ सजिलै लागू गर्न सकिँदैन। हाम्रा लागि हामीले स्थानीय परिस्थिति अनुसारको र प्रकृतिसँग मेल खाने दृष्टिकोण अपनायौँ– यो आफैँमा सिजाङको संस्कृति अनुभव गर्ने र अन्वेषण गर्ने एउटा यात्रा बन्यो।
छायांकनका क्रममा कठिनाइहरू भए पनि यहाँका मानिसहरूको निश्चलताले हाम्रो संकल्पलाई अझ बलियो बनायो र टोलीका प्रत्येक सदस्यलाई फिल्मकर्मीहरू हुनुको वास्तविक उद्देश्य पुनः पत्ता लगाउन मद्दत गर्यो। त्यो उद्देश्य भनेको जुनसुकै श्रव्यदृश्य माध्यम प्रयोग गरेर भए पनि धेरैभन्दा धेरै मानिसहरूको सेवा गर्नु हो, चाहे ती दुर्गम उच्च पहाडमा किन नबसून् र सिनेमालाई एक विश्वव्यापी माध्यमको रूपमा प्रयोग गर्दै हरेक आवाजलाई जोड्नु र हरेक साँचो मुस्कानलाई प्रस्तुत गर्नु हो।
विश्वभरि नै आदिवासी र हिमाली कथाहरूमा चासो बढ्दो छ। चीन र नेपालका फिल्मकर्मीहरूले अन्तर्राष्ट्रिय मञ्चमा हिमाली कथावाचनलाई प्रवद्र्धन गर्न कसरी सँगै काम गर्न सक्छन् भन्ने लाग्छ?
मलाई लाग्छ कि हिमालका कथाहरू त्यहीँ बस्ने मानिसहरूबाट सुरु हुनुपर्छ, न कि पश्चिमाहरूको कल्पना वा आदिवासी जीवनलाई ‘अनौठो’ देखाउने प्रवृत्तिबाट। यदि हिमाली कथावाचनले अन्तर्राष्ट्रिय फिल्म बजार र सांस्कृतिक क्षेत्रमा आफ्नो छुट्टै प्रतिस्पर्धात्मक क्षमता र जीवन्तता कायम गर्ने हो भने यो एउटा आधारभूत सिद्धान्त हुनुपर्छ। हामीले हिमाली संस्कृतिलाई सतही बनाउने, बनावटी बनाउने वा काल्पनिक बनाउनु हुँदैन, न त यसलाई पश्चिमा सञ्चारमाध्यमको प्रभावमा निर्देशित हुन वा मिचिन दिनु नै हुन्छ।
चीनको फिल्म उद्योगको जग मजबुत छ र यहाँ विशाल बजार छ। साथै, हामीसँग सम्मान, समानता, खुलापन र समावेशितालाई महत्व दिने सांस्कृतिक र कलात्मक वातावरण छ। हामीले लामो समयदेखि सबै सौन्दर्यहरू सँगै रहने र संसार सद्भावमा रहने दृष्टिकोणको वकालत गर्दै आएका छौँ।
हामी चीन र नेपालका फिल्मकर्मीहरूलाई बलियो सांस्कृतिक आत्मविश्वास र विशिष्ट कलात्मक सौन्दर्य बोकेका कार्यहरूमा सहकार्य गर्न हार्दिक स्वागत गर्दछौँ। हामी दुई देशका युवा फिल्मकर्मीबीचको अन्तर्क्रियालाई गहिरो बनाउँदै नजिकको आदानप्रदान संयन्त्र स्थापना गर्न पनि प्रोत्साहित गर्छौँ। चिनियाँ अन्तर्राष्ट्रिय फिल्म महोत्सवहरूमा नेपाली फिल्महरूकोे सक्रिय सहभागितालाई हामी सधैँ स्वागत गर्छौँ।
गत नोभेम्बरमा मात्रै हामीले नेपालमा पहिलो ‘हिमालयन रिम फिल्म प्रदर्शनी’ आयोजना गरेका थियौँ, जसमा ‘द लिजेन्ड अफ हेइ–२’, ‘न्यु गड्सः याङ जियान’, ‘ह्वाइट स्नेकः अफ्लोट’, ‘द स्पिरिट अफ द माउन्टेन’, ‘स्नो लियोपर्ड्स’ र ‘फ्रेन्ड्स’ जस्ता चिनियाँ फिल्महरू प्रदर्शन गरिएका थिए। विभिन्न विधा र विषयका यी फिल्महरूले चीनको उत्कृष्ट परम्परागत संस्कृतिको आकर्षण र राम्रो जीवनप्रतिको समकालीन चिनियाँहरूको प्रतिबद्धता झल्काउँछन्। यी फिल्महरूले नेपाली दर्शकको माया पाएका छन्।
अहिले छ महिनापछि म पुनः ‘निफ’ का लागि नेपाल आएको छु। मलाई आशा छ कि यस कार्यक्रममार्फत नेपाली साथीहरूले चीनलाई अझ राम्ररी बुझ्न र महसुस गर्न सक्नेछन्। म यो पनि चाहन्छु कि हामीले चीन र नेपालका फिल्मकर्मी र विश्वविद्यालयहरूबीच एउटा यस्तो च्यानल बनाउन सकौँ जसले सहकार्यको इच्छाशक्तिलाई बलियो बनाओस् र दुई देशका जनताबीचको लामो समयदेखिको मित्रतालाई निरन्तरता दियोस्।

चीन र नेपालको फिल्म उद्योगबीचको कलात्मक आदानप्रदान र मित्रता बलियो बनाउन अन्तर्राष्ट्रिय फिल्म महोत्सवहरूको भूमिकालाई कसरी हेर्नुहुन्छ?
एउटा पुरानो चिनियाँ उखान छ, सय पटक सुन्नुभन्दा एक पटक देख्नु उत्तम हुन्छ। नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवले हामीलाई सिनेमाको माध्यमबाट साँच्चै एकअर्कालाई नियाल्ने माध्यम बनाइदिएको छ– यो निकै मूल्यवान र अर्थपूर्ण अवसर हो। म निफलाई हृदयदेखि धन्यवाद दिन्छु र यस्ता सांस्कृतिक आदानप्रदानका गतिविधिहरू निरन्तर भइरहून् भन्ने कामना गर्छु। यसले हामीलाई अझ नजिक ल्याउनेछ र दुवै देशका उत्कृष्ट फिल्महरूलाई जनताको मनको आवाज व्यक्त गर्न मद्दत गर्नेछ।
नेपालको सुन्दरता र आतिथ्य अनुभव गरिसकेपछि के तपाईं भविष्यमा चिनियाँ र नेपाली कलाकार वा प्राविधिकहरू समेटिएको कुनै सह–उत्पादनको सम्भावना देख्नुहुन्छ?
म चाइना मुभी च्यानलबाट आएको हुँ। चीनमा दैनिक ९० करोडसम्म दर्शकले यो च्यानल हेर्न सक्छन्। यो निकै ठूलो प्रभाव र पहुँच भएको प्लाटफर्म हो। मलाई विश्वास छ कि उत्कृष्ट नेपाली फिल्महरूलाई यो प्लाटफर्ममा लैजानु चिनियाँ दर्शक र नेपालको सांस्कृतिक उद्योग दुवैका लागि फाइदाजनक हुनेछ।
यस भिजनलाई साकार पार्न धेरै अनुकूल परिस्थितिहरू छन्। चीन र नेपाल ‘बेल्ट एन्ड रोड’ निर्माणका साझेदार हुन्। जनस्तरको आदानप्रदान यो सहयोगको मुख्य हिस्सा हो। फिल्महरू सांस्कृतिक आदानप्रदानका सबैभन्दा जीवन्त माध्यम हुन्।
यसअघि केही सफल उदाहरणहरू पनि छन्। चिनियाँ फिल्म ‘अप इन द विन्ड’ नेपालमा खिचिएको थियो र रिलिज भएपछि यसले ठूलो संख्यामा चिनियाँ पर्यटकहरूलाई नेपाल भ्रमण गर्न आकर्षित गर्यो। यसले मानिसहरूबीचको आपसी समझदारी र आर्थिक विकासमा फिल्मको शक्ति कति हुन्छ भन्ने प्रमाणित गर्छ।
चाइना मुभी च्यानलले हरेक वर्ष सांघाई अन्तर्राष्ट्रिय फिल्म महोत्सव, सिल्क रोड अन्तर्राष्ट्रिय फिल्म महोत्सव, हेनान आइल्यान्ड अन्तर्राष्ट्रिय फिल्म महोत्सव र एससीओ फिल्म महोत्सव जस्ता धेरै कार्यक्रमहरू आयोजना गर्छ। चिनियाँ दर्शकहरूले दक्षिण एसियाली फिल्महरूमा चासो दिन थालिसकेका छन् जसले नेपाली सिनेमाको प्रचारका लागि र चिनियाँ दर्शकको विविध संस्कृतिप्रतिको रुचि जगाउन मद्दत पुग्नेछ।
परम्परागत माध्यमहरूबाहेक, चीनका स्ट्रिमिङ प्लाटफर्महरू जस्तै आईक्यूआई , टेन्सेन्ट भिडिओ र बिलिबिलीले पनि विदेशी सामग्रीहरू सक्रिय रूपमा भित्र्याइरहेका छन्। यसले नेपाली फिल्महरूलाई वितरणका लागि थप विविध र लचिलो अवसर प्रदान गर्छ।
त्यसोभए नेपाली फिल्मलाई चिनियाँ पर्दामा ल्याउन के गर्न आवश्यक छ?
नेपाली फिल्मलाई चिनियाँ पर्दामा ल्याउन म केही सुझावहरू दिन चाहन्छु। पहिलो, आधिकारिक सहकार्यलाई बलियो बनाउनु पर्छ। दुवै देशका फिल्म संघहरू र प्रसारण संस्थाहरूले समझदारी पत्रमा हस्ताक्षर गर्ने, नियमित आदानप्रदान संयन्त्र बनाउने र एकअर्कालाई उत्कृष्ट फिल्महरू सिफारिस गर्नुपर्छ।
दोस्रो, सह–उत्पादनलाई प्रोत्साहित गर्नुपर्छ। चीन–नेपाल संयुक्त फिल्म परियोजनाहरूले दुवै संस्कृतिका तत्वहरूलाई जोड्नेछ, जसले दुवै देशका दर्शकहरूलाई छिटो आकर्षित गर्नेछ। ऐतिहासिक मित्रता, संयुक्त हिमाल आरोहण वा लोककथाहरू यसका विषय हुन सक्छन्।
तेस्रो, अनुवाद र सबटाइटलिङ महत्वपूर्ण छ। भाषाको बाधा हटाउन उच्च गुणस्तरको चिनियाँ सबटाइटलिङ आवश्यक छ। संवादको सांस्कृतिक र भावनात्मक गहिराइलाई सही रूपमा व्यक्त गर्न व्यावसायिक अनुवादक टोली चाहिन्छ।
अन्त्यमा, सावधानीपूर्वक फिल्मकोे छनोट। सुरुवाती चरणमा बलियो दृश्य क्षमता भएका, जस्तै भव्य हिमाली परिदृश्य, उच्च भावनात्मक सम्बन्ध भएका (परिवार, प्रेम र मित्रता)र स्पष्ट एवं रोचक कथावाचन भएका फिल्महरू छनोट गर्नु प्रभावकारी हुन्छ। म हृदयदेखि नै चाहन्छु कि छिट्टै नेपाली फिल्महरूले चिनियाँ दर्शकहरूमाझ आफ्नो ठाउँ बनाऊन्।

प्रतिक्रिया