काठमाडौँको पुरानो तथा ऐतिहासिक सिनेमा हलमध्ये एक जय नेपाल सिनेमा हल फेरि सञ्चालनमा ल्याउन तयारी सुरु भएको छ।
लामो समय बन्द रहेको हलले सोमबार चलचित्र विकास बोर्डबाट सञ्चालनका लागि आवश्यक अनुमतिपत्र पाएको छ। मंगलबार चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले सञ्चालकमध्येका एक गोपालकाजी कायस्थलाई सञ्चालन अनुमतिपत्र प्रदान गरेका छन्।
२०२७ सालदेखि सञ्चालन हुँदै आएको जय नेपाल सिनेमा हल काठमाडौँको सिनेमा संस्कृति र दर्शक स्मृतिसँग गहिरो रूपमा जोडिएको छ। दरबारमार्ग क्षेत्रसँग जोडिएको हलले दशकौँसम्म नेपाली, हिन्दी तथा अंग्रेजी चलचित्र प्रदर्शन गर्दै राजधानीको चलचित्र प्रदर्शन इतिहासमा पहिचान बनाएको थियो।
कोभिड-१९ महामारीका कारण २०७८ असोज ४ गतेदेखि हल बन्द रहेको छ। चलचित्र विकास बोर्डले प्रचलित मापदण्ड र प्रक्रियाअनुसार चलचित्रघर सञ्चालन अनुमतिपत्र प्रदान गर्दै आएको छ।
Shares

प्रतिक्रिया