लक्ष्मण रिजाल निर्देशित फिल्म ‘काजी’को पहिलो गीत ‘वारि बर पारि पीपलु’ सार्वजनिक भएको छ। बिहीबार निर्माण टिमले राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै गीत सार्वजनिक गरेको हो।
कालीप्रसाद बास्कोटाको शब्द तथा संगीत रहेको गीतमा गंगा सोनाम र करण परियारको स्वर सुन्न सकिन्छ। उनीहरू दुवै जना नेपाल आइडलका विजेता हुन्। गंगाले यही सिनेमाबाट नेपाली सिनेमाको पार्श्व गायनमा डेब्यु गरेकी छन्।
गीतको भिडिओमा अभिनेता विपीन कार्की र अभिनेत्री केकी अधिकारी नवविवाहित जोडीको भूमिकामा देखिएका छन्। सिनेमाकै कथा भाव अनुसार नै गीतको भिडिओ तयार गरिएको छ। गीतमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ।
रिजाल एन्ड रिजाल प्रोडक्सनको प्रस्तुति रहेको सिनेमाका प्रस्तुतकर्ता रामप्रसाद रिजाल हुन्। फिल्ममा केकी र विपीनसहित गरिमा शर्मा, हेमन्त बुढाथोकी, प्रकाश घिमिरे, विशाल पहारी, हिउँवाला गौतम, अनुराग कुँवर, सन्दीप बाबु लोहानी, विनोद न्यौपाने, रश्मि भट्ट, प्रीतिका शर्मा, प्रशंसा सुवेदी, नवराज गिरी र बाल कलाकार दीक्षिता अर्याल, आरव बराल, सुपला सापकोटाको अभिनय छ।
निर्माण टिमका अनुसार सिनेमा भावनात्मक तथा सामाजिक कथामा आधारित छ, जसले मानवीय सम्बन्ध, माया, पीडा र जिम्मेवारीका विभिन्न पाटालाई उजागर गर्ने प्रयास गरको छ।
प्रदीप भारद्वाजको कथा लेखन रहेको सिनेमालाई चिन्तन राजभण्डारीले छायांकन गरेका हुन्। असिम काफ्ले कार्यकारी निर्माता रहेको सिनेमाका निर्मातामा रामप्रसाद रिजाल, नेहान रिजाल र विकासराज जोशी छन्। फिल्म आगामी जेठ ८ गते देशभर प्रदर्शन हुनेछ।
Shares

प्रतिक्रिया