वैशाख २५ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘मालती मंगले’ को निर्माण पक्षले नयाँ सांगीतिक कोसेली ल्याएको छ। हलहरूमा दर्शकको राम्रो साथ पाएसँगै फिल्ममा समावेश ‘चुड्का भजन’ बोलको गीत युट्युमा पनि सार्वजनिक गरेको हो।
पुरुषोत्तम ढुंगेलको शब्द रचना रहेको ‘चुड्का भजन’मा किरण भुसाल लगायतको स्वर सुन्न सकिन्छ। किरण भुसालकै संगीत निर्देशन रहेको यस गीतमा परम्परागत चुड्का लयको आकर्षक प्रयोग गरिएको छ।
गीतको तालबाजा (पर्कसन) मा किरण भुसाल र रायपुर समुदायले साथ दिएका छन् भने मादल, मुजुरा र खैँजडीमा सन्देश पौडेल छन्। गोविन्द पीके आँशु, अच्युत कडेल, सञ्जय (सपुत मोक्तान), राहुल मोक्तान, दिनेश लामा, ह्वाञ्ची लामा र मोहनको अतिरिक्त स्वर रहेको भजनलाई रिदम कँडेलले मिक्सिङ तथा मास्टरिङ गरेका छन्।
दर्शकको उत्साह र प्रत्यक्ष प्रतिक्रिया बुझ्न शनिबार राजधानीका विभिन्न हलमा पुगेका निर्माता रामकृष्ण ढकालसहित कलाकारहरू वर्षा राउत, विजय बराल र मेक्सम गौडेललाई दर्शकले स्वागत गरेका थिए। रानी फिल्म्सको ब्यानरमा युनि इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको यस चलचित्रलाई प्रकु पाण्डेयले निर्देशन गरेका हुन्।
निर्देशक पाण्डेय स्वयंको कथा रहेको चलचित्रको पटकथा तथा संवाद संयोग गुरागाईँले तयार पारेका हुन्। फिल्ममा विजय, वर्षा र मेक्समका साथमा प्रकाश घिमिरे, सरिता गिरी, नरिन थापा, मान्सु सापकोटा, सुस्मा निरौला र सुनिल तामाङको सशक्त अभिनय रहेको छ।
सागर ज्ञवाली कार्यकारी निर्माता रहेको यस चलचित्रमा बाबु सुवेदी, रबिन श्रेष्ठ, वेदना कर्माचार्य, पद्मावती गुरुङ, स्वीकृति बस्नेत र मिलन बजगाईँ सह-निर्माताका रूपमा रहेका छन्।
Shares

प्रतिक्रिया