चर्चित टिकटकर कुलब्वाय उर्फ पारस बम ठकुरीले ‘होस्टेल-३’ बाट सिने क्षेत्रमा डेब्यु गरे। जुन फिल्म बक्सअफिसमा राम्रै चल्यो।
अब तिनै कुलब्वाय आगामी फिल्म ‘बेहुली’ मा देखिँदै छन्। यसैबीच, यतिखेर पारसलाई ‘प्रेमगीत-४’ बाट अफर आएको खबर चर्चामा छ।
सोमबार फिल्म ‘बेहुली’ को पोस्टरसहित रिलिज मिति सार्वजनिक गरिएको थियो। जहाँ उनलाई ‘प्रेमगीत-४’ को अफरबारे प्रश्न सोधिएको थियो।
जसको जवाफ दिँदै उनले आफूलाई अहिलेसम्म कुनै अफर नआएको स्पष्ट पारे। ‘त्यस्तो कुराकानी चाँहि भएको छैन। तर, अवश्य सन्तोष सेनजस्ता दिग्गज निर्देशकहरूसँग काम गर्न मन हुन्छ। उहाँले त्यस्तै एउटा रोमाञ्चक र मिठो कहानी ल्याएर आउनुभयो। र, म त्यो पात्रमा फिट हुन्छु भने अवश्य गर्छु। किन नगर्नु! उहाँसँग काम गर्ने इच्छा चाँहि छ,’ उनले भने।
यद्यपि, ‘होस्टेल-३’ पछि आफूलाई थुप्रै फिल्मबाट अफर आएको उनले खुलाए। तर, कथा मन परेको र पात्रमा फिट भएको खण्डमा मात्र साइन गर्ने उनको भनाइ छ।
पारससहित दिव्या रायमाझीको मुख्य भूमिका रहेको ‘बेहुली’ आगामी भदौ २६ गतेबाट रिलिज हुँदै छ।
Shares

प्रतिक्रिया