पाकिस्तानी गुप्तचर एजेन्सीहरूसँग सम्पर्क गरेको र भारतको संवेदनशील जानकारी दिएको आरोपमा पक्राउ गरिएकी ट्राभल भ्लगर तथा युट्युबर ज्योति मल्होत्रा युट्युबर ज्योति मल्होत्रालाई पाँच दिन हिरासतमा राख्न प्रहरीलाई अदालतले अनुमति दिएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार शनिबार उनलाई न्यायिक मजिस्ट्रेटको अदालतमा पेस गरेको प्रहरीले अनुसन्धानका लागि ५ दिनको म्याद पाएको हो।
अब मल्होत्रालाई मे २२ मा फेरि अदालतमा पेस गरिनेछ।
सुरक्षा एजेन्सीहरूले ज्योति मल्होत्राका ल्यापटप र मोबाइलबाट महत्त्वपूर्ण सूचना सुराग फेला पारिएको दाबी गरेका छन्।
छापा मार्ने क्रममा प्रहरीले ज्योतिका ल्यापटप र मोबाइल जफत गरेको हो।
प्रारम्भिक अनुसन्धानले यी उपकरणबाट ज्योतिले पाकिस्तानलाई गोप्य जानकारी पठाइरहेको संकेत पाइएको दाबी सुरक्षा एजेन्सीले गरेको छ। यद्यपि यसको फोरेन्सिक अनुसन्धान जारी छ।
ज्योतिविरुद्ध भारतीय दण्ड संहिता (आईपीसी) को धारा १५२ र आधिकारिक गोप्य ऐन, १९२३ को धारा ३, ४ र ५ अन्तर्गत मुद्दा दर्ता गरिएको छ। उनको लिखित स्वीकारोक्ति पनि रेकर्ड गरिएको छ।
अनुसन्धान अब हिसारको आर्थिक अपराध शाखालाई हस्तान्तरण गरिएको छ।
यसैबीच दिल्लीस्थित अधिवक्ता अनिल कुमार सिंह श्रीनेतले अपराध प्रमाणित भए ज्योतिलाई ३ वर्षदेखि आजीवन कारावाससम्मको सजाय हुन सक्ने बताएका छन्।

ज्योतिको युट्युब च्यानलमा ३.७९ लाखभन्दा बढी सब्सक्राइबर छन् र इन्स्टाग्राममा उनका १.४० लाख फलोअर्स छन्। फेसबुकमा उनका ३.२२ लाख फलोअर्स छन्।
ज्योति मल्होत्रा आफ्नो च्यानलमा देशभित्र र विदेशमा गरेका यात्राका भिडिओ अपलोड गर्छिन्। हालसम्म उनको च्यानलमा ४०० भन्दा बढी भिडिओ अपलोड भइसकेका छन्।
उनले आफ्नो च्यानलमा देशका विभिन्न राज्यमा गरेका यात्रादेखि विदेश यात्रासम्मका धेरै भिडिओ पोस्ट गरेकी छन्।
आफ्ना भिडिओ ज्योतिले घुमेका ठाउँबारे दर्शकलाई विविध जानकारी दिन्छिन्।
उनले इन्डोनेसिया, पाकिस्तान, संयुक्त अरब इमिरेट्स, थाइल्यान्ड, भुटान, नेपाल र चीन भ्रमण गरिसकेकी छन्, जसका भिडिओ उनको च्यानलमा उपलब्ध छन्।

Shares

प्रतिक्रिया