कला


लोप हुने अवस्थामा पुग्यो माघीमा नाचिने थारू समुदायको ‘ढुम्री’ नाच

लोप हुने अवस्थामा पुग्यो माघीमा नाचिने थारू समुदायको ‘ढुम्री’ नाच

नेपालखबर
पुस २७, २०८२ आइतबार ९:१९, दाङ

थारू समुदायले माघीको अघिल्लो दिन अर्थात् पुसको अन्तिम दिन रातभर ढुम्री नाच्ने चलन थियो । गाउँका थारू समुदायका अगुवा वा महतवाको घरमा जम्मा हुने र रातभर ढुम्री गीत गाउने र नाच्ने चलन थियो । गीत गाउने, नाच्ने र रातभर आगो ताप्ने चलन थियो ।

‘यो हाम्रो संस्कार हो’ , थारू अगुवा आशाराम चौधरीले भने, ‘रातभर नाचगान गर्ने र बिहान त्यही ढुम्री गीत गाउँदै नदी तथा खोलामा गएर नुहाउने गरिन्थ्यो। नुहाइसकेपछि महतवाले सबैलाई टीका लगाइदिने र पुनः महतवाकै घरमा पुग्ने चलन थियो।’ 

महतवाका घरमा पुगेपछि सबै आआफ्नो घरमा जाने चलन भए पनि पछिल्लो समय यो चलन हराउँदै गएको थारू अगुवा चौधरीले बताए । ‘पुर्खाहरूले यस्तो चलन अपनाउनु हुन्थ्यो’ , उनले भने, ‘तर अहिले नयाँ पुस्ताले यो कुरा चटक्कै छोड्नुभएको छ।’ 

यस्तो चलन हराउँदै गएको २०–२५ वर्ष भइसकेको तुलसीपुर–१८ का फुलाराम चौधरीले बताए। ‘पहिलेपहिले उहाँहरूले यसरी ढुम्री नाच नाच्नुहुन्थ्यो । तर अहिले नाच्न छोडियो’ , उनले भने।

नयाँ पुस्तालाई यो नाचका बारेमा जानकारी नहुँदा पनि समस्या हुने गरेको नमूना भुह्यारथान तुलसीपुरका अध्यक्ष रामशरण चौधरीले बताए । उनका अनुसार यो नाचले थारू समुदायको एकताको भावना जागृत गर्ने भन्दै यसलाई संरक्षण गर्न लागिएको छ।

‘हाम्रो संस्कार, संस्कृति नभई थारू समुदायलाई एक भएको सन्देश दिने कुरा पनि हो, तर यो लोप हुने अवस्थामा छ, यसलाई संरक्षण गर्नुपर्छ, भनेर हामी लागिपरेका छौँ‘ , उनले भने। 

यो नाच लोप भएपछि प्रत्येक वर्ष कार्यक्रम गरी नाच संरक्षणमा लागेको उनले बताए। यसले नयाँ पुस्तामा नाचका बारेमा जानकारी हुने उनको भनाइ छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad