ad ad

गण्डकी


पोखरा बाढी अपडेट :  हेम्जाका ३ सय घर डुबानमा, क्षतिको विवरण सङ्कलन हुँदै

पोखरा बाढी अपडेट :  हेम्जाका ३ सय घर डुबानमा, क्षतिको विवरण सङ्कलन हुँदै

रासस
असार ११, २०७९ शनिबार १५:५१, पाेखरा

गएरातिदेखि परेको अविरल वर्षाका कारण पोखरा महानगरपालिका–२५ हेम्जाका ३ सय भन्दा बढी घर डुबानमा परेका छन्।

वर्षापछि हेम्जाको सुइखेतस्थित चौरासी नहर फुटेर पानी बस्तीमा पस्दा सुन्दरीचोक र म्याग्दी चोकका घर डुबानमा परेको सोही वडाका वडाध्यक्ष मोतिराज तिमिल्सिनाले बताए।

यसैगरी पहिराले स्थानीय लक्ष्मी विक र रविना परियारको घर पूर्ण रुपमा क्षति गरेको र थप १५ घर उच्च जोखिममा रहेको बताइन्छ। डुबान र पहिराेकाे कारण ५ सय हाराहारीमा मानिस विस्थापित भएको तिमिल्सिनाले बताए।

बस्तीमा बाढी पस्न थालेपछि राति नै स्थानीय सुरक्षित स्थानतर्फ लागेकाले मानवीय क्षति हुन पाएको थिएन।

उनले भने, 'भारी वर्षापछि नहर फुटेर बस्तीमा पस्दा र खहरे खोला उर्लिएर आउँदा घर डुबानमा परेका छन्। पहिराले दुई घर र कृषि र पशुपक्षीतर्फ धेरै क्षति पुर्‍याए पनि मानवीय क्षति भएको छैन।'

घर डुबानमा परेपछि स्थानीयलाई सुरक्षित स्थानमा लगिएको थियो। उनीहरु अहिले विद्यालय, मन्दिर तथा आफन्तकाेमा आश्रय लिएका छन्।जिल्ला प्रहरी कार्यालयका कास्कीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले क्षतिको विवरण सङ्कलन भइरहेकाले यकिन विवरण आउन बाँकी रहेको बताए।

यसैगरी अविरल वर्षाका कारण पोखरा–१६ अर्मलास्थित स्यालघारीमा रामबहादुर मगरको घर, पहिराेमा बगेर पूर्ण क्षति भएको छ।

अर्को एक घर पहिराेमा झुन्डिएका अवस्थामा रहेको र सो क्षेत्रका ११ घर उच्च जोखिमका कारण अन्यत्र स्थानान्तरण गर्नुपर्ने अवस्था रहेको सोही वडाका वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले जानकारी दिए।

पहिराेबाट विस्थापितका लागि आमासमूह र सहकारी भवनको प्रयोग गरिएको उनले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .