गण्डकी


हिमालपारि पुगेन जेनजीको हुरी, मनाङ र मुस्ताङ शान्त

हिमालपारि पुगेन जेनजीको हुरी, मनाङ र मुस्ताङ शान्त

मुस्ताङ क्षेत्र। तस्बिरः ट्रिप एडभाइजर


वाशुदेव मिश्र
भदौ २६, २०८२ बिहिबार १५:५०, पोखरा

जेनजीको आन्दोलनले गण्डकीको सदरमुकाम पोखरा नराम्रोसँग प्रभावित भयो। मुख्यमन्त्री कार्यालयदेखि पोखरा महानगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय सबै जलेर खरानी बने। वडा कार्यालय र अन्य सरकारी कार्यालय पनि बाँकी रहेनन्। 

आंशिक जलेका कार्यालयबाट पनि सेवा प्रवाह तत्काल सम्भव देखिएको छैन। पोखरा महानगरपालिकाले त बिहीबार हस्तलिखित सूचना जारी गर्दै तत्काल सेवा प्रवाह गर्न नसकिने जानकारी गराएको छ। जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयले बुधबारदेखि आफ्नो काम गर्न थालेका छन् तर निषेधाज्ञा जारी गर्न पनि हातले नै लेख्ने बाध्यता छ। 

आन्दोलनको क्रममा गण्डकीका ११ मध्ये ९ वटा जिल्लामा सानोतिनो क्षति हुँदा हिमाल पारिका जिल्ला मनाङ र मुस्ताङमा भने आन्दोलनको हुरी पुगेन। मनाङका सहायक जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार यतिबेला मनाङका नागरिकहरु खेती थन्क्याउन व्यस्त छन्। 

पर्यटकीय मौषम सुरु हुँदैछ। थोराङ पास गर्ने, तिलिचो जाने र मनाङकै सौन्दर्य तथा संस्कृतिमा रमाउनका निम्ति छिटफुट पर्यटक पनि आएकै छन्। तर, ५ हजार ६ सय ५८ जनसंख्या रहेको मनाङले जेनजीको आन्दोलनको क्रममा कुनै क्षति ब्यहोरेन।

‘भदौ २४ गते आन्दोलनको क्रममा दिवंगत भएकाहरुको चीरशान्तिको लागि बत्ती बाल्ने काम भयो, त्यस्तै सयजना जति सामेल थिए होलान्, सहायक जिल्ला अधिकारी पौडेलले भने,’ मनाङ समग्रमा शान्त रह्यो।’

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङका प्रमुख ढकबहादुर गुरुङका अनुसार मनाङमा भदौ २३ गतेसम्म ३ सय ८१ जना पर्यटक भित्रिएका थिए। तीमध्ये केही अन्नपूर्णको फेरो लगाउन थोराङतिर अगाडि बढेका छन्। केही मनाङमै छन्। ‘यहाँ सवै शान्त छ, पर्यटक आउने सिजन भर्खरै सुरु भएको हो। आन्दोलन चाहिँ यता देखिएन,’ उनले भने। 
 
उता, मुस्ताङलाई पनि जेनजी आन्दोलनले छोएन। मुस्ताङका सहायक जिल्ला अधिकारी नन्दराम परियारका अनुसार भदौ २३ गते मुस्ताङ सदरमुकाम जोमसोमसमेत रहेको घरपझोङ गाउँपालिकाको वडा नम्बर ३, स्याङमा केही युवाहरुले आन्दोलनको तयारी गरे पनि त्यस्तो अप्रिय घटना घटेन।

‘आन्दोलनको क्रममा उहाँहरु वडा कार्यालय पस्नुभएछ, त्यहाँ रहेका फोटा (राष्ट्रपति,प्रधानमन्त्री) को निकालेर जानु भएछ,’ सहायक जिल्ला अधिकारी परियारले भने, ‘टुरिस्टहरु आउन सुरु गरेका थिए। भारतीय पर्यटक आएका थिए। उनीहरु फर्के। थोरै आउँदैछन्। हाम्रोमा समस्या छैन।’ 

२०७८ सालको जनगणना अनुसार स्ताङको जनसंख्या १४ हजार ४ सय ५२ रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad