मुस्ताङमा आज (बुधबार) बिहानैदेखि भएको भारी हिमपातका कारण चराङ-लोमान्थाङ सडकमा सवारी आवागमनमा समस्या उत्पन्न भएको छ।
चराङ-लोमान्थाङ खण्डको नेपाली सेनाको ब्यारेक रहेको थुर्लुङफाँटदेखि लोमान्थाङसम्मको पाँच किलोमिटर सडकमा हिमपातका कारण सवारी आवागमनमा कठिनाइ भएको प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले जानकारी दिए।
‘चराङ-लोमान्थाङ सडकमा उक्त सडकमा आठ इन्चसम्म हिउँ जमेकाले आवागमन असहज भएको छ’, प्रहरी नायब उपरीक्षक लामाले भने।
मङ्गलबार लोमान्थाङ-२ न्हेचुङस्थित सशस्त्र प्रहरी बोर्डर आउटपोस्ट बिओपीका सुरक्षाकर्मीहरुले छोसेर-कोरला सडकमा जमेको हिउँ पन्छाएका थिए।
यसैगरी हिमपातका कारण असहज बनेको कागबेनी-मुक्तिनाथ सडक हाल खुलेको उनले बताए।
मङ्गलबार दिनभर परेको हिमपातका कारण उपल्लो मुस्ताङदेखि तल्लो मुस्ताङसम्मका डाँडाकाँडा हिउँले सेताम्मे छन्।
मङ्गलबार उपल्लो मुस्ताङको घमीदेखि कोरलासम्म र मुक्तिनाथ क्षेत्रमा भारी हिमपात भएको थियो।
भारी हिमपातका कारण स्थानीय जनजीवन प्रभावित भएको छ। रासस
Shares

प्रतिक्रिया