गण्डकी


गण्डकीको सत्ताले ‘टुलुटुलु हेरिरहेको’ २ सांसद भएको राप्रपा

गण्डकीको सत्ताले ‘टुलुटुलु हेरिरहेको’ २ सांसद भएको राप्रपा

नेपालखबर
साउन १०, २०८३ आइतबार १७:३९, काठमाडौँ

२०८२ सालको असारतिर सामाजिक सञ्जालमा एउटा अडियो संवाद छ्यापछ्याप्ती भयो।

पोखरा–१६ मा लिची बगैँचाको रूपमा चर्चित १३५ रोपनी जग्गा हत्याउनका लागि बिचौलिया सुजन लामा र तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताबीच भएको अडियो संवादमा भनिएको थियो, ‘पोखराको जग्गाले हामीलाई टुलुटुलु हेरिरहेको छ, मन्त्रीज्यू! हामी यहाँ हेरेर यसरी बसेर हुन्छ?’

सो जग्गा प्रकरणमामा दोषी ठहर भएर केही समय जेल बसेका तत्कालीन मन्त्री गुप्ता सर्वोच्च अदालतको आदेशसँगै साधारण तारेखमा रिहा भएका छन्।

मुद्दाको न्यायिक निरुपण भइसकेको छैन तर तत्कालीन मन्त्री गुप्ता र बिचौलिया भनिएका सुजन लामाबीचको त्यो अडियो संवाद यतिबेला पोखरामा अर्को प्रसंगमा प्रयोग भएको छ।

त्यो प्रसंग हो– एमाले र नेपाली कम्युनिष्ट पार्टीबीच प्रदेशमा सत्ता साझेदारीको सहमति र गण्डकी प्रदेशमा सत्ता नेतृत्व उलटफेर गर्न सक्ने राष्ट्रिय प्रजातन्त्र पार्टीको शक्ति।

६० सदस्यीय गण्डकी प्रदेशसभाका मनाङ ‘ख’ बाट संसदमा आएका राजीव गुरुङ उर्फ दीपक मनाङेको पद गुमेको छ।

यहाँ कांग्रेससँग २८, एमालेसँग २२, नेपाली कम्युनिस्ट पार्टीसँग सभामुखसहित ८, राप्रपासँग २ र डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँशक्ति) का एक सांसद छन्।

बहुमतको लागि ५९ सदस्यीय संसदमा ३० जना चाहिन्छ। अहिले यहाँ नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे नेतृत्वमा एमालेसहितको सरकार छ।

राप्रपा र नेसपाले यसअघि सुरेन्द्र पाण्डेलाई गरेको समर्थन कायमै छ। शनिबार एमाले र नेकपाबीच नयाँ सहमति भएपछि चाहिँ एमाले–नेकपा सरकार निर्माणको चर्चा चलेको छ। तर, अंक गणित चाहिँ उनीहरूको पक्षमा छैन। त्यही ५ प्रदेशमा भागबण्डा गरेका यी दुई दलले गण्डकी र मधेशमा अन्य दलसँग ‘ छलफल गर्ने’ सहमति गरेका छन्।

राप्रपाको समर्थनबिना एमाले–नेकपा सरकार निर्माण ‘दिल्ली दूर’को कथाजस्तै देखिन्छ। त्यसैले यहाँको सत्ताले टुलुटुलु राप्रपालाई हेरिरहेको छ।

सत्ताको चाबी बोकेको राप्रपा भने अहिलेसम्म मौनजस्तै देखिन्छ। यद्यपि यतिबेला दलका नेता पञ्चराम गुरुङको मोबाइलको घण्टी बजेकोबज्यै छ भने भेटघाट पनि बाक्लिएको छ।

सत्ताले टुलुटुलु तपाईंलाई हेर्‍यो नि भन्ने जिज्ञासामा यसअघि मन्त्री बनिसकेका राप्रपा संसदीय दलका नेता पञ्चराम गुरुङ मज्जाले हाँसे। उनले भने, ‘यहाँ असल नियतले देश र जनताका निम्ति कसैले काम गरेको देखिएन। हामी त स्वाभाविक रूपले संघीय संरचनाको विरुद्धमा छौँ तर अस्थिरता नचाहेकाले र संसदको अंक गणितअनुसार कसैलाई समर्थन गरिरहेका छौँ।सत्ताको लोभलाचमा फस्नेवाला छैनौँ।’

स्रोतका अनुसार वर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तत्काल एमालेका मन्त्रीहरू नहटाउने आश्वासन दिएका छन्। उता राप्रपा र नेसपाका सांसद फणिन्द्र देवकोटासँग पनि उनको सुमुधर सम्बन्ध कायमै छ।

उनीहरूलाई मात्र नभएर निवर्तमान बनेका दीपक मनाङेले मागेका योजनाहरूमा पनि मुख्यमन्त्रीले बजेट विनियोजन गरिदिएका छन्।

सुविधाको हकमा पनि राप्रपालाई खुसीनै पारिएको छ। एमाले र नेकपा मिले पनि कांग्रेसको केन्द्रीय नेतृत्वले विपक्षमा बस्ने निर्णय नगरेसम्म अंक गणित आफ्नो पक्षमा रहेकाले उनी ढुक्क देखिन्छन्।

गत वैशाख २ गते संसदीय दलको नेता फेर्ने पार्टीकै सांसदको रणनीति असफल बनाउँदै मन्त्रिपरिषद् पुनर्गठन गरेका उनी सकेसम्म पूरै कार्यकाल बिताउने ध्याउन्नमै देखिन्छन्।

आइतबार पार्टी मुख्यालय सानेपामा नेपाली कांग्रेसका सभापति गगन थापाले सातै प्रदेशका सभापति, संसदीय दलका नेता र मुख्यमन्त्रीसँग परामर्शको क्रममा उठेको विषयले पनि मुख्यमन्त्री पाण्डेलाई बलियो तुल्याएको छ।

बैठकमा प्रदेश सरकारको वर्तमान अवस्था, संघीयता र लोकतान्त्रिक व्यवस्थाको संरक्षण तथा प्रदेश संरचनामा सहभागी दलहरूसँग आवश्यकताअनुसार सहकार्य गर्ने विषयमा छलफल भएको र संख्या पुग्ने ठाउँमा सरकारमै बस्न सक्ने आशय आएकाले पनि मुख्यमन्त्री पाण्डे बलियो बनेका हुन्।

उता सत्ताको नेतृत्वमा जान हतार गरेको नेकपाले राप्रपालाई दुईवटा शक्तिशाली मन्त्रालय प्रस्ताव गरेको छ।

राप्रपा सहमत भए माओवादीका पृष्ठभूमिका पुराना नेता हरिबहादुर चुमानले मुख्यमन्त्रीको अवसर पाउने र यसअघि मन्त्री नबनेका सांसदहरू पनि मन्त्री हुने भएकाले उसले राप्रपासँगको संवाद घनिभूत पारेको हो।

गाँठो अंक गणितमै छ। राप्रपा सहमत नहुँदा सत्ता टाढा रहेको बुझेका नेकपाका नेताहरूबीच अन्तिम अवस्था आए मुख्यमन्त्री राप्रपालाई दिनुपर्ने मत पनि बनेको छ।

मुख्यमन्त्रीको प्रस्ताव आउँदा के गर्ने भन्नेबारे राप्रपाले निर्णय गरिसकेको छैन।

नेता पञ्चराम गुरुङ यस्तो प्रस्ताव आइनसकेको बताउँछन् र आइहाले के गर्ने भन्नेबारे अहिले नै नसोचेको पनि उनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad