बुधबार साँझ पोखराको मुख्य बजार क्षेत्र पृथ्वीचोकको शिवालयचोकमा भएको हत्यामा आफ्नै भाञ्जा संलग्न रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
४२ वर्षीय माइजु सिर्जना पौडेल केसीमाथि खुँडा प्रहार गरी हत्या गर्ने नाताले भाञ्जा पर्ने सन्तोष भन्ने २७ वर्षीय शिशिर केसीलाई प्रहरीले पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ।
उनको स्थायी घर चाहिँ पर्वतको कुश्मा नगरपालिका ११, सिल्मी हो। उनी पोखराको वडा नम्बर ६ मै भाडामा बस्थे। लागुऔषधका प्रयोगकर्ता उनी २०८० सालतिर लागुऔषध मुद्दामै पक्राउ परेका थिए भने त्यसपछि पनि पटक–पटक चोरी तथा डाँका मुद्दामा समातिएका थिए ।

शिशिरलाई पोखरा १७, रातोपैह्रो बस्ने ३२ वर्षीय कुशल परियारले हत्याको समयमा साथ दिएको प्रहरीको भनाइ छ। कुशलले स्कुटर चलाएका थिए भने पछाडि बसेका शिशिरले अँध्यारो बाटोमा खुँडाले सिर्जनामाथि प्रहार गरेका थिए।
कुशल पनि लागुऔषधको दुर्व्यसनी भएको प्रहरी अनुसन्धानबाट खुलेको छ। घटनापछि उनीहरूले खुँडा पोखरा १६ को जंगलमा लगेर फालेका थिए भने स्कुटर पोखराको राष्ट्रबैंकचोकतिर राखेका थिए। शिशिर चाहिँ सोही साँझ पोखराबाट बस चढेर बुटवल पुगेका थिए ।
‘उसले (अभियुक्त) पोखराबाट सार्वजनिक बस चढेर नै उता गएको भन्ने बयान दिएको छ। लागुऔषध प्रयोगकर्ता भएकाले उसको उतातिर पनि साथी भएको र लुक्ने उद्देश्य भएको सुरुको अनुसन्धानमा देखिएको छ। हामीले उसलाई रुपन्देही जिल्ला बुटबल नगरपालिका वडा नम्बर २ मनकामना टोलमा लुकेर बसेको अवस्थामा भैरहवा प्रहरीसँगको समन्वयमा पक्राउ गरेका हौँ भने कुशल चाहिँ यहीँ पक्राउ परेको हो,’एसपी कार्कीले पत्रकार सम्मेलनमा भने,‘घटनाको प्रारम्भिक अनुसन्धानबाट सम्पत्ति विवाद नै देखिन्छ। अरु कुरा अझै अनुसन्धानमा खुल्ला।’

अभियुक्त शिशिर र कृष्णको कारागारमा रहेका लागुऔषध दुर्व्यसनीबीचको सम्बन्ध तथा मिलेमतोबारे प्रहरीले थप अनुसन्धान गर्दैछ।
घटनापछि जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी नवीन कार्कीसहित वडा प्रहरी कार्यालय बैदामका डीएसपी नवराज भट्टराई नेतृत्वको टोली अनुसन्धानमा खटिएको थियो। प्रहरीले सुरुमै हत्यामा परिवारको संलग्नता हुनसक्ने लख काटेसँगै सो परिवारमा अंशमुद्दा रहेको थाहा पायो।
२ वर्षअघि पति कृष्णको निधन भएपछि जेठीतर्फका सन्तान र सिर्जनाबीच अंशबारे विवाद बढेको थियो। त्यही विवादका बीच सिर्जनाले कास्की जिल्ला अदालतमा अंशमुद्दा दायर गरेकी थिइन्। मुद्दा अहिले पनि विचारधीन छ। सिर्जना चाहिँ पोखराको पथ्थीचोकमा जुत्ता पसल चलाउँथिन्।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी नवीन कार्कीका अनुसार मामाघरमा रहेको पारिवारिक बेमेल र सम्पत्तिको लोभमा शिशिरले माइजुको विभत्स हत्या गरेको स्वीकार गरे पनि घटनाको बिस्तृत अनुसन्धान बाँकी छ।

घटना विवरण अनुसार पोखरा ५,मालेपाटन (जिरोकिलोमिटर) मा खसी काट्ने तथा रेष्टुराँ व्यवसाय गर्दै आएका ‘खसीकृष्णे’ भन्ने कृष्ण केसीले करिब ५ वर्षअघि तनहुँकी सिर्जना पौडेलसँग दोस्रो विहे गरेका थिए। खसीको मासुको लागि चर्चित ‘खसीकृष्णे’का जेठीतर्फ २ छोरी र एक छोरा थिए।
जेठी श्रीमतीले विषसेवन गरी आत्महत्या गरेपछि कृष्णले दोस्रो घरजम गरेका थिए। पोखराको लेकसाइडको सेदी भन्ने ठाउँ र मालेपाटनमै घर जोडेका कृष्णको जेठीपट्टिका परिवार मालेपाटनमा बस्थे भने कान्छी सिर्जना सेदीमा बस्थिन।

विहेपछि सिर्जनातर्फ पनि एक छोरीको जन्म भयो। २ वर्षअघि कृष्णको निधन भएपछि चाहिँ उनीहरूबीच सम्पत्ति बाँडफाँडको मुद्दाले विवाद जन्मायो। अहिलेको घटना पारिवारिक बेमेलबाटै उत्पन्न भएको प्रहरीको निश्कर्ष रहेको छ।
घटनामा संलग्नलाई पक्राउ गरेपछि त्यहाँ सिर्जनाका माइतीपट्टिका आफन्तहरुको बाक्लो भीड थियो। सोही उपक्रममा भेटिएका
सिर्जनाका माइतीपट्टिका एक आफन्तले भने, ‘अंश मुद्दा थियो, अघिल्लो श्रीमतीतिरकाहरूले पटक–पटक धम्की दिँदै आएका थिए। उनीहरूले आमाछोरी दुवैको हत्या गर्ने योजना बुनेको हुनुपर्छ तर भाग्यले भाञ्जी बाँचिन्।’
Shares

प्रतिक्रिया