गण्डकी


१०औँ पोखरा स्पोर्टस् अवार्ड: लाइफ टाइम एचिभमेण्ट अवार्ड टीकाबहादुरलाई

१०औँ पोखरा स्पोर्टस् अवार्ड: लाइफ टाइम एचिभमेण्ट अवार्ड टीकाबहादुरलाई

नेपालखबर
बैशाख ३१, २०८३ बिहिबार २१:२७, पोखरा

‘दशौँ पोखरा स्पोर्टस् अवार्ड २०८२’ अन्तर्गत टाइफ एचिभ्मेन्ट अवार्डबबाट एथ्लेटिक्सका खेलाडी टीकाबहादुर बोगटी सम्मानित भएका छन्। 

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा बिहीबार पोखरामा भएको कार्यक्रममा बोगटीलाई उक्त अवार्डबाट सम्मान गरिएको हो। 

वि.सं. २०१९ सालमा गोरखाको ताप्ले गाउँमा जन्मिएका बोगटीले एथ्लेटिक्सको माध्यमबाट राष्ट्रलाई दिएको योगदानस्वरुप सो सम्मान दिइएको हो।  

गोरखाका भिराला पाखाहरूमा दौडिँदै हुर्किएका उनले २०३७ सालमा नेपाली सेनामा भर्ना भएपछि खेल जीवनलाई व्यावसायिक रूपमा अगाडि बढाएका थिए। २०४४ सालदेखि अन्तर्राष्ट्रिय ट्रयाकमा पाइला राखेका बोगटीले राष्ट्रियस्तरका थुप्रै प्रतियोगिताहरूमा स्वर्ण पदक जितेर आफूलाई अब्बल सावित गरे।

बोगटीको खेल जीवनको सबैभन्दा ठूलो उपलब्धि सन् १९८८ को सियोल ओलम्पिक र १९९६ को एटलान्टा ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्नु हो। विश्वका हस्ती धावकहरूसँगै ओलम्पिकको ट्रयाकमा दौडिएर उनले नेपालको चन्द्र–सूर्य अंकित झण्डालाई विश्वमाझ चिनाएका थिए। उनले सन् १९९४ मा भएको १२ औँ एसियाली खेलकुदमा समेत सहभागिता जनाएका थिए।

दक्षिण एसियाली खेलकुद (साग) मा उनको प्रदर्शन निकै लोभलाग्दो रह्यो। चौथो देखि सातौँ सागसम्म लगातार सहभागी भएका उनले १९९१ मा श्रीलंका र १९९३ मा बंगलादेशमा काश्य पदक जितेका थिए भने १९९५ मा भारतको मद्रासमा भएको सागमा स्वर्ण पदक चुम्न सफल भए।

अन्तर्राष्ट्रिय म्याराथनमा नेपालको प्रतिनिधित्व गर्दै सिंगापुर र अस्ट्रेलिया जस्ता देश पुगेका बोगटीले सन् १९८९ मा जर्मनीबाट तीन हप्ताको कोचिङ कोर्स समेत पूरा गरेका थिए। खेलका क्रममा उनले अनेकौँ उतारचढाव र अभावहरू भोगे। आमाको निधन हुँदाको मर्माहत पीडामा समेत उनले खेललाई निरन्तरता दिएको स्मरण गरे। खेल जीवनमा प्राप्त सफलताकै कारण उनलाई तत्कालीन सरकारले ’गोरखा दक्षिणबाहु’ बाट समेत विभूषित गरेको थियो। 

हाल ६४ वर्षको उमेरमा पुगेका बोगटी अझै पनि उत्तिकै ऊर्जावान् छन्। खेलबाट सक्रिय विश्राम लिएपछि उनी अहिले गोरखाको आफ्नै माटोमा कृषि कर्ममा रमाइरहेका छन्। 

नारायणी वर्ष महिला खेलाडी 
एथ्लेटिक्सकी नारायणी भण्डारीले वर्ष उत्कृष्ट महिला खेलाडीको अवार्ड हात पारिन्। वर्ष उत्कृष्ट महिला खेलाडीको अवार्डसँगै भण्डारीले हिरोहोन्डाको जुम स्कुटर प्राप्त गरेकी छिन्। उक्त विधाको मनोनयनमा भण्डारीसँगै जुडोकी मनिषा तामाङ र आर्चरीकी मोनिका रानामगर रहेकी थिइन्।

गएको जेठमा १५ औं राष्ट्रपति रनिङ शिल्डमा कीर्तिमानसहित उत्कृष्ट प्रदर्शन गरेकी नारायणी भण्डारी आफैँलाई पनि कति इभेन्ट खेलेर कति वटा पदक हात पारेँ भन्ने हेक्का छैन। छोरेपाटन माध्यमिक विद्यालयकी यी छात्रा नारायणीले यतिखेर १२ को परीक्षा दिएकी छन्। 

प्रदीप बने वर्ष खेलाडी 
लनटेनिसका प्रदीप खड्काले वर्ष उत्कृष्ट पुरुष खेलाडीको अवार्ड हात पारेका छन्।  अवार्डसँगै खड्काले हिरोहोन्डाको जुम स्कुटर प्राप्त गरेका छन्। उक्त विधाको मनोनयनमा खड्कासँगै जुडोका विज्ञान टी खत्री र भलिबलका सञ्जुविक्रम शाह रहेका थिए। 

२०५४ सालमा पोखरामा जन्मिएका प्रदीप, नेपालको टेनिस जगतमा एक सफल र टप ‍र्‍याङ्किङ खेलाडीको रूपमा परिचित छन्। २०६५ सालदेखि व्यावसायिक खेल खेल्न सुरु गरेका उनको करियरको ग्राफ उकालो लागिरहेको छ। 

अन्तर्राष्ट्रिय मञ्चमा पनि उनको प्रदर्शन उत्कृष्ट छ। २०२२ को हाङझाउ एशियन गेम्समा उनले इतिहास नै रचेका थिए। २०८२ साल प्रदीपका लागि उपलब्धिहरूको एउटा सुनौलो वर्ष सावित भयो। तेस्रो सिओएस खुला टेनिस प्रतियोगितामा प्रदीपले पुरुष सिंगल र डबल दुवैमा ‘स्वर्ण पदक’ चुम्दै आफ्नो वर्चस्व कायम गरे। 

यस्तै २२ औं माछापुच्छ्रे बैंक खुला टेनिसमा उनले पुरुष डबलमा स्वर्ण र सिंगलमा रजत पदक जितेर आफ्नो लयलाई कायम राखे। प्रदीपले १३ औं दक्षिण एशियाली खेलकुदमा नेपालका लागि कास्य पदक र राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरका प्रतिष्ठित च्याम्पियनसिपमा दर्जनौ पदक हात परिसकेका छन्। 

दृष्टिविहीन सुस्मालाई स्पेसल अवार्ड 
दृष्टिविहीन क्रिकेट खेलाडी सुस्मा तामाङले पोखरा स्पोर्टस् अवार्डअन्तर्गत स्पेसल अवार्ड प्राप्त गरेकी छन्। आँखामा बाहिरी उज्यालो नभए पनि दृढ आत्मबल र कडा परिश्रमका माध्यमबाट नेपाली क्रिकेटलाई विश्वस्तरमा चिनाउन सफल सुस्मा गरेको हो। 

लमजुङको बेसीसहर–४ मा जन्मेकी  तामाङले १२ वर्षको कलिलो उमेरदेखि नै क्रिकेटको ब्याट र बल समाउन सुरु गरेकी थिइन्।

जनप्रकाश माध्यमिक विद्यालयको होस्टलमा बसेर विद्यालय तहको शिक्षा पूरा गर्दा सुरु भएको उनको क्रिकेट यात्रा पृथ्वीनारायण क्याम्पसमा स्नातक पढ्दासम्म आइपुग्दा जिल्ला र प्रदेश हुँदै राष्ट्रियस्तरसम्म पुगेको थियो। क्रिक्रेटमै जीवन समर्पण गरेकी सुस्माले सन् २०२५ को दृष्टिविहीन क्रिकेट विश्वकपमा जादूयी प्रदर्शन गरिन्। 

भारतको दिल्लीबाट सुरु भइ श्रीलंकाको कोलम्बोमा पुगेर टुङ्गिएको उक्त यात्रामा नेपालले फाइनलसम्मको यात्रा तय गरी उपविजेताको बनेको थियो।

‘बी वान’ क्याटगोरीमा रहेकी सुस्मा तामाङले सो प्रतियोगितामा ‘प्लेयर अफ द सिरिज’ को उपाधि हात पारेकी थिइन्। सम्म्मानसँगै उनलाई नगद ३५ हजार रुपैयाँ पनि प्रदान गरियो। 

स्पोर्टस् साइन्स पढेका सिद्धान्त उत्कृष्ट प्रशिक्षक 

स्पोर्टस् अवार्डअन्तर्गतको उत्कृष्ट प्रशिक्षक विधामा एथ्लेटिक्सका सिद्धान्त अधिकारीले बाजी मारे। सो दौडमा टेनिसका कुमार अधिकारी र तेक्वान्दोका रेखमाया गुरुङ रहेका थिए। अधिकारीलाई नगद ३५ हजार साथमा अवार्ड र प्रमाणपत्र प्राप्त गरे।  

३६ वर्षीय सिद्धान्त अधिकारीले खेलाडी र प्रशिक्षक दुवै भूमिकामा आफूलाई अब्बल सावित गरेका छन्। पाँचौँ र छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जितेर आफ्नो खेल जीवनको बलियो जग बसालेका थिए। 

नेपालमा सफलता पाएपछि अध्ययन र खेललाई निरन्तरता दिन उनी भारत गएर ‘आर्मी स्पोट्र्स इन्स्टिच्युट’ (एएसआई) बाट ‘स्पोट्र्स साइन्स’ मा डिप्लोमा गरे। 

एएसआईमा झण्डै एक वर्ष मध्य तथा लामो दूरीको प्रशिक्षकका रूपमा अनुभव बटुलेपछि उनी सन् २०१९ को अन्त्यतिर नेपाल फर्किए। सन् २०२१ तिर सुनिल राजवंशीसँग मिलेर ‘हिमालयन एलिट्स रन’ प्रोजेक्ट सुरु गरे। सो संस्थाले निःशुल्क प्रशिक्षणका साथै रनिङ जुत्तालगायतका खेल सामग्री उपलब्ध गराउँछ।  

कास्की जिल्ला एथलेटिक्स संघको सचिव रहेको उनको अवधारणा र संयोजनमा पोखरा ओपन एथलेटिक्स मिट र ‘पोखरा १० के’ जस्ता प्रतियोगिताहरु सञ्चालन भइरहेका छन्। 

दर्लामीलाई पिपल्स च्वाइस अवार्ड
भलिबलका राजन दर्लामीले पिपल्स च्वाइस अवार्ड प्राप्त गरे। पिपल्स च्वाइस अवार्डको विधामा दर्लामीसँगै फुटबलका दीप कार्की, एथ्लेटिक्सकी नारायणी भण्डारी, आइटिएफ तेक्वान्दोकी सुस्मिता थापा र क्रिकेटका विपित खत्री मनोनयनमा परेका थिए। दर्शकको भोटका आधारमा सबैभन्दा बढी मत प्राप्त गर्ने दर्लामीलाई सो अवार्ड प्रदान गरिएको हो। 

पिपल्स च्वाइस अवार्ड जितेका भलिबल खेलाडी राजन दर्लामीले अवार्डसँगै हिरोहोन्डाको जुम स्कुटर प्राप्त गरेका छन्। 

स्याङ्जाको चापाकोट ५, सेखामका यी लिबेरो १३ वर्षदेखि निरन्तर भलिबल कोर्टमा छन्। हालै छैटौं संस्करणको टाइगर कप भबिबल प्रतियोगिता र नवलपुरमा भएको दोस्रो संस्करणको जिएम कपमा टिमलाई उपाधि दिलाउन महत्वपूर्ण योगदान दिएका थिए। 
उनले हालै सम्पन्न पिएम कप एनभिए भलिबल लिगमा बेस्ट डिफेन्डरको उपाधि जितेका थिए। 

निभा उदीयमान खेलाडी 

ब्याटमिन्टनकी निभा राई वर्ष उत्कृष्ट उदीयमान खेलाडी घोषित भएकी छन्। अवार्डसँगै राईलाई नगद ३५ हजार साथमा अवार्ड र प्रमाणपत्र प्रदान गरियो।

१० वर्षको सानो उमेरदेखि नै ब्याडमिन्टनको र्‍याकेट समात्न थालेकी निभा हाल कुँडहरस्थित मैत्रीय पाठशालामा कक्षा १० मा पढ्छिन्। कोरोनाकालमा पिताले ब्याण्डमिण्टन खेलेको देखेर र्‍याकेट समातेकी निभाको प्रतिभा निर्खा प्रशिक्षक पुनम गुरुङले सघाइन्। 

प्रशिक्षण लिएको ९/१० महिना मै उनले अन्डर–११ राष्ट्रिय च्याम्पियनसिपबाट आफ्नो विजयी यात्रा सुरु गरिन्। त्यसयता उनले अन्डर–१३ र अन्डर–१४ मा पनि च्याम्पियनको उपाधि हात पारिन्। हाल उनी अन्डर–१५ को नेपाल च्याम्पियन हुन्। अन्डर–१९ उमेर समूहमा पनि उनी देशकै उत्कृष्ट पाँचभित्र पर्छिन्। 

यो विधामा राईसँगै एथ्लेटिक्सकी अनुस्का अधिकारी र तेक्वान्दोकका सचिन सुनार छानिएका थिए। 

क्रिकेट संघ उत्कृष्ट 
कास्की जिल्ला क्रिकेट संघ उत्कृष्ट खेल संस्थामा दर्ज भएको छ। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले १० औं पोखरा स्पोर्टस् अवार्ड कार्यक्रमअन्तर्गत क्रिक्रेट संघलाई उत्कृष्टको अवार्ड प्रदान गरेको हो।

संजयकान्त सिग्देल नेतृत्वमा रहेको क्रिक्रेट संघ नियमित खेल गतिविधि संचालन गर्ने संघ हो। विद्यालय स्तरमै प्रशिक्षणसँगै नयाँ खेलाडी उत्पादन, नियमित प्रतियोगिता संचालन तथा खेलाडी पलायन रोक्न पारिश्रमिकको समेत व्यवस्थाको सुरुवातले क्रिकेट संघलाई अरु खेल संस्थाभन्दा अब्बल बनाएको हो। क्रिक्रेट संघले बेलायतको पुरानो क्लब मेल्बोर्न क्रिकेट क्लबसँग सहकार्यको हातसमेत बढाएको छ। 

क्लबलाई सम्मान गर्ने क्रममा ३५ हजार नगद पनि प्रदान गरिएको छ। २०५४ साल माघमा डा. वीरेन्द्रसिंह गुरुङको नेतृत्वमा कास्की जिल्ला क्रिकेट संघको विधिवत गठन भएको हो। 

संघले १३ औँ दक्षिण एसियाली खेलकुदमा महिला क्रिकेट, नेपाल–मलेसिया फ्रेन्डशिप सिरिज र पोखरा प्रिमियर लिग जस्ता गौरवशाली प्रतियोगिताहरूको सफल आयोजना पनि गरिसकेको छ। 

दीननाथलाई उत्कृष्ट खेल पत्रकार अवार्ड
खेल पत्रकार अवार्ड चाहिँ दीननाथ बराललाई प्रदान गरियो। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा बिहीबार पोखरामा भएको कार्यक्रममा उत्कृष्ट खेल पत्रकार बराललाई नगद ३५ हजार रुपैयाँसहित दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको हो।

मञ्चको प्रतिभा छनोट समितिको सिफारिसका आधारमा २४ वर्षदेखि निरन्तर पत्रकारितामा सक्रिय बराललाई उक्त पुरस्कार प्रदान गरिएको मञ्चका अध्यक्ष एमबी आस्था मगरले बताए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad