गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कोरोना भाइरस सामना गर्न नेपाल सरकारलाई १ करोड रुपैयाँ बराबरका स्वास्थ्य सामग्री उपलब्ध गराउने भएको छ।
एनआरएनए अध्यक्ष कुमार पन्तका अनुसार स्वास्थ्य सामग्रीमा मुख्यतः स्वास्थ्यकर्मीले लगाउने सुरक्षा उपकरण तथा टेस्ट किट रहनेछन्। एक साताभित्र सामग्री दिइने उनले जनाए। यसअघि एनआरएनएले सरकारलाई १ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको थियो।
‘सरकारसँग सल्लाह गरेरै यो निर्णय भएको हो। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको आग्रमा कोरोनासँग जुध्न घोषणा गरेको १ करोड रुपैयाँबाट स्वास्थ्य सामग्री प्रदान गर्न लागिएको हो’, अध्यक्षले पन्तले नेपालखबरसँग भने।
एनआरएनले स्वास्थ्यकर्मीले लगाउने विशेष सुरक्षा उपकरण र परीक्षण किट चीनस्थित नेपाली दूतावसलाई उपलब्ध गराउनेछ। त्यहाँबाट सामग्री नेपाल ल्याइनेछ।
एनआरएनए महासचिव डा.हेमराज शर्माका अनुसार सो सामग्री खरिद गर्न एक कार्यदल गठन गरिएको छ। बुधवार बिहान बसेको संघको पदाधिकारी बैठकले एनआरएनए चीनका प्रतिनिधी सहितको एक कार्यदल गठन गरेको हो।
संघले कोषाध्यक्ष महेशकुमार श्रेष्ठको संयोजकत्वमा कोरोना पीडित राहत कोष संकलन समिति, उपाध्यक्ष बद्री केसीको संयोजकत्वमा भौतिक सामग्री सहयोग संकलन उपसमिति गठन गरेको थियो।
संघका उपाध्यक्ष डा. बद्री केसीकाअनुसार चीनबाट ती सामग्री नेपाल सरकारले एक साता भित्र संकलन गरेर नेपाल भित्र्याउने तयारी गरिएको छ। गैरआवासीय नेपाली संघले विश्वभर रहेका आफ्ना शाखामार्फत कोरोना पीडित नेपालीको तथ्यांक संकलन गरिरहेको छ।

प्रतिक्रिया