जापानले दक्षिणी टापु क्युसुमा लामो दूरीमा प्रहार गर्नसक्ने क्षेप्यास्त्र तैनाथ गर्ने योजना बनाएको छ। सो क्षेप्यास्त्रले १ हजार किमिसम्म प्रहार गर्न सक्ने बताइएको छ।
यसको अर्थ सो क्षेप्यास्त्रले उत्तर कोरिया र चीनसम्म पनि निसाना लगाउन सक्छ। आउँदो वर्ष दुई सैन्य अखडामा ती क्षेप्यास्त्र तैनाथ गरिने छ।
यसले रणनीतिक रूपले महत्त्वपूर्ण ओकिनावा टापु शृंखलाको प्रतिरक्षा बलियो बनाउनुका साथै आफूमाथि आक्रमण भएको खण्डमा प्रत्याक्रमणको क्षमता पनि बढाउने सरकारी स्रोतलाई उधृत गर्दै क्योदो समाचार एजेन्सीले बताएको छ।
तर, चीन क्रुद्ध हुने भन्दै ताइवानबाट ११० किमि टाढा रहेको ओकिनावामा भने सो क्षेप्यास्त्र नराखिने बताइएको छ। यद्यपि, छोटो दूरीका कयौँ क्षेप्यास्त्र ओकिनावामा राखिएको छ।
६ मार्चमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानसँगको सुरक्षा सन्धि एकतर्फी भएको बताएका थिए।
‘जापानसँग हाम्रो राम्रो सम्बन्ध छ। तर, जापानसँग हाम्रो सम्झौता रोचक छ। हामीले उनीहरूको रक्षा गर्नुपर्छ तर उनीहरूले हाम्रो गर्नु पर्दैन,’ उनले भनेका थिए, ‘हामीबाट उनीहरूले टन्न आर्थिक फाइदा लिन्छन्। यस्तो सम्झौता कसले गर्छ?’
अमेरिका र जापानबीच १९५१ मा सो सन्धि भएको थियो। जतिबेला जापान अमेरिकी सैनिकहरूको कब्जामा थियो।
दोस्रो विश्वयुद्धपछि जापानले शान्तिवादी नीति अख्तियार गरेको थियो। तर, पछिल्लो समय जापानले प्रतिरक्षा क्षेत्रमा खर्च बढाउँदै लगेको छ। हतियारमा पनि उसले भारी लगानी गर्न थालेको छ। एजेन्सी
Shares

प्रतिक्रिया